दैलेखमा डीएसपीविरुद्ध महिला प्रहरीको उजुरी

सुर्खेत, २४ चैत ।
सार्वजनिक स्थलमा दुव्र्यवहार गरेको भन्दै दैलेखमा एक महिला प्रहरीले आफ्नै हाकिमविरुद्ध उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रेखा कुँवरले डीएसपी केदार रजौरेविरुद्ध उजुरी दिएकी हुन् । आफूमाथि दुव्र्यवहार गर्ने डीएसपी रजौरेलाई कारबाहीको माग गर्दै उनले अञ्चल प्रहरी कार्यालय भेरी, बाँकेमा उजुरी दिएकी छन् ।
ड्यूटीमा रहेको बेलामा गत आइतवार आफूमाथि दुव्र्यवहार भएको आरोप रेखाले लगाएकी छन् । म्यादी प्रहरी भर्ना गर्ने क्रममा स्थानीय टुँडिखेल चौरमा डीएसपी रजौरेले आफूमाथि दुव्र्यवहार गरेको भन्दै उनले कारबाहीको माग गर्दै अञ्चल प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उजुरीमा रेखाले आफूलाई विना गल्ती डीएसपी रजौरेले चुल्ठो समातेर कुटपिट गरेको उल्लेख गरेकी छन् । विना कारण आफूमाथि सार्वजनिक स्थलमा सयौं सर्वसाधारणको अगाडि दुव्र्यवहार गर्ने डीएसपीमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ ।
इलाका प्रहरी कार्यालय नौमूलेमा दरबन्दी भए पनि उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । म्यादी प्रहरी भर्नाको क्रममा निकै भीडभाड भएको र भीड नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आफूमाथि डीएसपीले दुव्र्यवहार गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरी पत्रमा लेखिएको छ, ‘मैले विनाकारण दुव्र्यवहार भोग्नु परेको छ, मेरो चुल्ठो समातेर घुच्चुकमा हान्नुभयो । सार्वजनिक स्थलमा भएको यो कार्यले मेरो अपमान भएको छ, त्यसकारण तत्काल डीएसपी रजौरेमाथि कारबाही गरीपाऊँ ।’ तीन हजार सर्वसाधारणको अगाडि आफूमाथि अपमान हुने गरी हातपात भएको भन्दै उनले कारबाहीको माग गरेकी हुन् । उनले भनेकी छन्, ‘कर्तव्य पालना गर्दा कुनै गल्ती भए, कार्यालयमा बोलाएर सजाय दिनुपथ्र्यो । तर सार्वजनिक बेइज्जत हुने गरी मलाई कुटियो, यो पदको दुरूपयोग नै हो । ’
आफू महिला भएकै कारण हेपेर डीएसपीले दुव्र्यवहार गरेको र पदको समेत दुरूपयोग गरी भ्रष्टाचार गरेकाले रजौरेमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ । आफ्नै हाकिमविरुद्ध कारबाहीको माग गरेर उजुरी दिएपछि उनीमाथि थप धम्की दिनेक्रम बढेको उनका सहकर्मीले बताएका छन् । संगठनको आन्तरिक विषयलाई बाहिर ल्याएको भन्दै माथिल्लो निकायले उनलाई थप मानसिक तनाब दिइरहेको अन्य सहकर्मी महिला प्रहरीले बताए । आफूहरू डीएसपीको व्यवहारबाट हैरान भएको भन्दै उनीहरूले यो घटनामा दोषीलाई बचाउन संगठनको माथिल्लो निकायले नै प्रयास गरिरहेको गुनासो गरे । साथै उजुरीमा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । पदीय आचरण विपरित दुव्र्यवहार गर्ने डीएसपीलाई सजाय हुनुपर्ने उनीहरूको माग छ ।
रेखाले मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रलाई समेत उजुरी बोधार्थ पठाएकी छन् । आरोप लागेका डीएसपी रजौरले भने यो अनावश्यक हल्ला मात्र भएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले कसैलाई दुव्र्यवहार गरेको छैन, मलाई यो बारेमा केही जानकारी पनि छैन । उजुरी म कहाँ आउनुप¥यो नि ? अनावश्यक आरोप लगाउन मिल्दैन ।’ यता अञ्चल प्रहरी कार्यालय भेरीले घटनाको तत्काल छानविन हुने जनाएको छ । कार्यालयका एसएसपी महेशविक्रम शाहले भने, ‘हामीकहाँ उजुरी आएको छ, यो घटनाको तत्काल छानविन हुन्छ । छानविन समिति गठन हुँदैछ, दोषी देखिएमा सजाय हुनेछ ।’ बिहीवार मात्र उजुरी दर्ता भएको भन्दै उनले अन्यायमा परेका जोसुकैको आवाज सुन्न आफूहरू तयार रहेको बताए । उनले थपे, ‘कसैले पनि पदको दुरूपयोग गर्नु हुँदैन, संगठनभित्र अन्यायमा परेकाहरूलाई हामी न्याय दिन प्रतिबद्ध छौं ।’