मतदाता शिक्षाका लागि तयारी हुँदै

सुर्खेत, २४ चैत । (साबिस)
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले निर्वाचनमा खटिने जनशक्ति निर्माणको काम अघि बढाएको छ ।
जिल्ला निर्वाचन अधिकारी सुनिता थापाका अनुसार आज (शुक्रवार) देखि मतदाता शिक्षा स्वयम्सेवकका लागि दुई दिने तालिम सञ्चालन हुँदैछ । मतदाताहरूलाई यो निर्वाचनको महŒव, मतदान प्रक्रिया लगायतका बारेमा जानकारी दिनका लागि स्वयम्सेवक परिचालन गरिदैंछ । त्यसैगरी केन्द्रबाट आउने निर्वाचन सामग्रीहरू जिल्लाका सबै मतदान केन्द्रस्थलसम्म पुर्‍याउनका लागि योजना बनाइरहेको समेत थापाले बताइन् । यस्तै दुई हजार सात सय ७९ जना कर्मचारीलाई निर्वाचनमा खटाउने तयारी कार्यालयले गरिरहेको छ ।
यो निर्वाचनमा सुर्खेतबाट एक लाख ८४ हजार तीन सय ९८ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार केन्द्रबाट जिल्लाको अन्तिम मतदाता नामावली प्रमाणित भइ आइसकेको छ । सुर्खेतमा पाँच नगरपालिका र चार गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । जसमध्ये सबैभन्दा बढी मतदाता वीरेन्द्रनगर नगरपालिकामा रहेका छन् । वीरेन्द्रनगरमा ५० हजार सात सय ४० मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लामा एक सय ३७ मतदान केन्द्र तोकिएको छ ।
सुर्खेतका नौ स्थानीय तहबाट नगरपालिकाबाट प्रमुख र उप–प्रमुख, गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १८ जना निर्वाचित हुनेछन् । यस्तै हरेक वडाबाट एक जना वडा अध्यक्ष र चार जना सदस्य गरी पाँच जना निर्वाचित हुनेछन् । सुर्खेतका ९९ वटा वडामा कूल चार सय ९५ तथा नगरपालिका र गाउँपालिकाबाट १८ गरी कूल पाँच सय १३ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।

प्रकाशित मितिः   २५ चैत्र २०७३, शुक्रबार १५:४१