स्याउको साम्राज्य !

जुम्ला जिल्लाको चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । जसले रोजगारीका साथसाथै कृषि पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्‍याएको छ ।

सुर्खेत: झट्ट हेर्दा आँखामै नअटाउने ठूलो बगैँचा । घना बगैँचामा लटरम्म फलेका एकैनासे स्याउ । अनि, त्यही बगँैचाभित्र कुनै मेला लागेजस्तै देखिनेगरी काम गरिरहेका स्याउ संकलकहरू । जुम्लाको गुठिचौर–५ जलजलास्थित स्याउ बगैँचाको दृश्य यतिबेला निकै मोहक देखिन्छ । ३८ हजार विरुवाको लोभलाग्दो स्याउ बगैँचामा पुग्दा जो–कोही मग्त्रमुग्ध हुन्छन् ।

खलंगा बजारबाट १५ मिनेटजति मोटेर यात्रा गरेपछि गुठिचौर गाउँपालिकाको जलजलामा रहेको विशाल स्याउ बगैँचामा पुगिन्छ । तलतिर जवाँ नदि किनारको फाँटमा लहलह मार्सी झुलिरहेका छन् । माथि स्याउ बगैँचा राताम्य छ । नेपालकै ठूलो दावी गरिएको यो बगैँचामा यतिबेला स्याउ संकलन सुरु भएको छ ।

इटालियन फुजी स्याउको बगैँचाले गाउँघरमै सैयौं जनालाई रोजगारी दिइरहेको छ । बगैँचामा २२ जना नियमित काम गर्ने कर्मचारी छन् । स्याउ संकलनको समयमा दुई सय जनासम्मले रोजगारी पाउँछन् । परिवारको रेखदेख गर्दै आफ्नै ठाउँमा रोजगारी पाउँदा खुसी लागेको स्थानीय सोमन सार्कीले बताए । ‘सँगैका साथीभाइ परिवार पाल्नका लागि कोही भारतमा छन्, कोही खाडि मुलुक पुगेका छन्, मैले गाउँघरमै बसेर परिवारलाई रेखदेख गर्दै काम गर्न पाएको छु, घरमा कोही बिरामी पर्दा, समस्या पर्दा आत्तिनुपर्ने स्थिति छैन’ उनले भने । सार्की स्याउ फर्मको सवारी चालक हुन् ।

स्याउ बगैँचाले रोजगारीसँगै कृषि पर्यटनलाई समेत जोडेको छ । फूल फुल्ने समय र स्याउ फलेका बेला बगैँचा अवलोकनका लागि पुग्नेहरूको घुँइचो नै लाग्दछ । बगैँचाभित्रको देब्रे कुनामा पर्यटकका लागि क्यान्टिन सञ्चालनमा ल्याइएको छ । विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणको शिलाशिलामा समेत यहाँ आउने गरेको क्यानिटन सञ्चालक लालबहादुर बोहोराले जानकारी दिए । ‘आगन्तुक पाहुना र कर्मचारीका लागि बगैँचा भित्रै क्यान्टिन सञ्चालनमा ल्याइएको छ’ उनले भने, ‘पर्यटकहरू पुगेर स्याउ खाने, लैजाने र भिडियो बनाउने, तस्विर खिच्ने गर्छन् । जो आउँछन् रमाइरमाइ फर्कन्छन् ।’

जुम्लामा अहिले स्याउको सिजन चलिरहेको छ । भदौ पहिलो साताबाट किसान स्याउ टिप्न व्यस्त छन् । ७० को दशकमा गाउँगाउँमा सानादेखि मझौला स्याउ बगैँचा मात्रै थिए, अहिले उच्च घनत्वका स्याउ बगैँचासमेत थपिएका छन् । जसले रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनमा नयाँ आयाम थपेका छन् । २०७७ साल बाट बगैंचा विस्तारको काम सुरु भएको थियो । हालसम्म आइपुग्दा झण्डै २५ करोड बराबरको लगानी भइसकेको व्यवस्थापक केसीबहादुर भण्डारीले बताए । ‘यो बहुआयमिक पेशा मानेका छौँ, यसले पर्यटनलाई पनि जोडिरहेको छ, मल आवश्यक पर्ने हुँदा गाई–भैंसीपालन पनि गर्न सकिन्छ, किरा नियन्त्रणका लागि बगैँचामा कुखुरा छोड्न सकिन्छ । साथै बगैँचामा कोशेबाली पनि लगाउन सकिन्छ’ उनले भने ।

जलजलाको स्याउ बगैँचामा फुजी, किङरङ र गोल्डेन जातका स्याउ छन् । स्याउ सुपरजोन जुम्लाका अनुसार केही वर्ष यता जुम्लामा आक्रामकरूपमा स्याउ बगैँचा विस्तार भइरहेका छन् । स्याउ सुपरजोन जुम्लाकको तथ्यांक अनुसार अहिले जिल्लाका चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । जसमा उच्च घनत्वका बिरुवाहरू पनि लगाउन थालिएको छ । यो वर्ष स्थानीय स्याउ प्रतिकिलो ५० र फुजी स्याउ प्रतिकिलो दुई सय ५० रूपैँयासम्म बिक्री भइरहेको छ ।

जुम्लामा २०७३ सालबाट स्याउ सुपरजोन स्थापना भएपछि यस कार्यालयले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेको छ । स्याउ सुपरजोनले किसानलाई स्याउ बगैँचा बिस्तारका लागि बिरुवा तथा कृषि सामग्रीमा अनुदान साथै क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती विस्तारमा थप टेवा पुगेको छ । कृषकहरू पनि स्याउ खेतीतर्फ आकर्षित भइरहेका छन् ।

प्रकाशित मितिः   ८ भाद्र २०८१, शनिबार ११:४६