कथा

घर

 

‘हेर त यो चाहि भान्साकोठा, यो गेस्टरुम, यो चाहि अर्को रुम अनि यो चाहि वाथरुम, सुन्यौँ ? मलाई त त्यो भ¥याङमुनी बाथरुम राखेको कत्ति मनै पर्दैन यार । त्यहि भएर अलग्गै बनाएको । भ¥याङ मुनी त बरु जुत्तासुत्ता राख्ने र्याकस्याक बनाउनु पर्ला हैन ?’

हामी गाउँदेखि अलि तलको भेरी बगरमा थियौँ । नजिकै भेरी नदी आफ्नै गतिमा बगिरहेको थियो । केही ससाना बोट बुट्यान र झाडीहरू ‘दुबो उम्रेको चौर’ परसम्म बालुवै बालुवाको बगर ठाउँ एकान्त र रमणीय नै थियो। हाम्रो कहिलेकहिँ भेट हुने थलो त्यहि थियो ।

हाम्रो मन साटिएको करिव दुई तिन वर्षभन्दा बढी भइ सकेको थियो र हाम्रो बारेमा धेरैले थाहा पनि पाइसकेका थिए । शुभ चिन्तकहरुले पिरती धेरै लम्बाउनु ठिक हुँदैन । अब एकअर्का विना बाच्न नसक्ने भइसक्यौँ । किन ढिला गर्ने खुरुक्क घरबार गरे भइगो त भन्ने सल्लाह दिन थालेका थिए । हामी भने घर पहिला बनाउने कि घरबार पहिला गर्ने भन्ने कुरामा बिबादित थियौँ म भन्थेँ अब घरबार सुरु गरी हालौँ । घर त पछि बनाउनुनै छ । बनाउँला । उ भन्थी ‘हैन पहिला तिमी आफ्नो घर बनाउ अनि मात्र बीहेको कुरो गर। मलाइ भिœयाउने घर लरतरो यो पुरानो शैलीको घर हैन। पीलरवाला हुनु पर्छ बुझ्यौ ? यो गाउँमा पहिलो हुनु पर्छ त्यो घर ।’

मेरो घरै नभएको पनि कहाँ हो र ? तर उसले मेरो रातोमाटोले लिपेको छाने घरलाई घर नै ठानेकी थिइन ।

हुन पनि हाम्रो गाउँमा अहिले सम्म सबै घरहरू पुरानै शैलीका ढुङ्गामाटोले बनेका रातो माटोले पोतेका खर वा पथ्थरले छाएका यस्तै परम्परागत ढंगका घर मात्र छन् । आजभोलि भने कतैकतै टिनका छाना भने टल्कन थालेका छन् तर पिलरवाला घर त छदै छैनन् । गाउका स्वास्थ्य चौकी ‘विद्यालय भवन’ वडा कार्यालय आदी मात्रै सिमेन्टवाला घर छन् बाँकि सबै पुरानै शैलीका ।

मैले चीसो बालुवाको थुप्रो लगाउदै बनाएको घरका कोठाहरु उसलाइ देखाउदै थिएँ । उ भने मेरो कुरा नसुने झैँ कुनै गित गुनगुनाउँदै बालुवामा के के चित्र कोर्दैथिइ । उसको ध्यान आफूतिर खिच्न अलि ठूलो स्वरमा मैले भने ।’

‘अनि यो चाहि मास्टर बेडरुम, हामीले हनिमुन मनाउने कोठा ।’

मेरो पछिल्लो वाक्यले सायद उसलाई काउकुती लगाएको हुनु पर्छ ‘छी कस्तो मात्तेको मान्छे !’ उ श्रृङ्गारिक पारामा चिच्याउँदै मलाई झम्टन आइपुगी र मेरा जुल्फीवाला कपाल समातेर भुत्ल्याए झैँ गरी र पिठ्युँमा मायालु दुई तीन मुक्का पनि बर्साइ । उसको पिटाइ र कपाल लुछाइ छल्ने बहानामा मैले पनि पुरुष हुनुको पहिचान देखाएँ । मेरा हातहरू कता कता दौड्न पुगे । सो संघर्षमा मैले मेहनत गरेर बनाएको बालुवाको घर सबै भताभुङ्ग हुन पुग्यो ।

‘ला ! यो केटीले मेरो घर भत्काइदिइ यार’ म बोल्दैन तिमीसँग । म साच्चिकै रिसाएँ ।

नजिकै निलो भेरी नदी आफ्नै गतिमा बगीरहेको थियो । म जुरुक्क उठेर एक सुरमा फटाफट भेरी नदीतिर लम्किएँ । के पो हुने हो भने झैँ सायद मलाई समातेर रोक्न उ पनि कृष्ण कृष्ण भन्दै मेरो पछि दौडिदै आइ । म उसलाई भेट्न नदिन बेसरी दौड्न थालेँ । यस क्रममा हामी बगिरहेको भेरी नदीको एकदमै नजिकै पुगीसकेका थियौँ । बेसरी दौड्ने क्रममा उ केमा हो कुन्नि लटपटिएर उछट्टिन पुगी । उछट्टिदा मलाईसमेत हुत्याएर दुवै जना भेरी नदीमा झ्वाम्मै पर्यौं । गहिरो भेरी नदीले हामी दुवैलाई सर्लक्कै निल्यो ।

कहाली लाग्दो चिच्याहटसँगै म झस्याङ्ग ब्युँझन पुगेँ । ओहो ! कस्तो सपना देखिएछ । हत्तेरिका !
‘हेलो ! ओ हेलो ! कृष्ण हैन र ? हेलो कृष्ण ।’

कोहि मान्छे मेरो घर अगाडिको गोरटोको छेउमा उभिएर सायद मलाई नै बोलाइ रहेको थियो । भर्खरै मात्र फिल्डबाट आएर थकाइ मार्न अटालीमा बसेको थिएँ भुसुक्कै निदाइएछ । निदाएर पनि सपना पो देखिएछ । छ्या सपना पनि कस्तो ? जस्लाई मरेर पनि सम्झन नपरोस् भनेको उसैको पो सपना अझ ? हत्तेरिका ! यो सपना पनि रिवाइन्ड गरेर डिलिट गर्न मिल्ने सिस्टम हुनु पथ्र्यो ।

‘ए कृष्ण हैन र तिमी ?’

म झसँङ्गै भएँ । अघिदेखि मलाई बोलाउने त मेरो बाल सखा हिक्मत पो रहेछ । वर्षौपछि एक्कासी हिक्मत मेरो आगनको ढिकमा आएर यसरी बोलाउँदा सपनाबाट भर्खरै ब्युझिएको मलाई फेरि सपनामाथि अर्को सपनाजस्तो पो लागिरहेको थियो । म त ट्वाल्ल परेर उसलाई हेरेको हेर्यै भएँ ।

मैले चिनिन कि भनेर उसले थप चिनाउन खोज्यो ‘म हिक्मत के चिनेनौँ र ?’

मेरो बाल सखा हिक्मत एच ए भएको छ भन्ने त सुनेको हो तर भेट भने भएको थिएन । हाम्रै गाउँको स्वास्थ्य चौकीमा सरुवा भएर आएको रहेछ ।

उसको घर पल्लो गाउँमा भएपनि हामी पढ्ने स्कुल भने एउटै थियो र उसको र मेरो क्लास पनि एउटै थियो । एक क्लासदेखि दस क्लाससम्म हामी सँगसँगै पढेका एकदमै मिल्ने साथी थियौँ । दसको पढाइ पूरा हुँदा नहुँदै उनीहरू बसाइ सरेर बर्दियातिर गए । हाम्रो साथ छुट्यो । झण्डै दश वर्षपछि एकै पटक उससँग आजै भेट भएको हो ।

मैले उसलाई माथि बोलाएर बसाल्दा स्वागत गर्दा समेत उसले घरमा अरु कसैलाई नदेखेपछि पल्याक पुलुक कसैलाई खोजेजस्तो यता उता हेर्दै थियो । उसको आसय बुझेर मैले भने ‘यो घरमा म मात्रै छु एक्लै । बुवा त पहिलै हो बीतेको तिमीलाई थाहा छँदैछ । दुई वटी बहिनीहरू थिए । बीहे भएर आफ्ना आफ्ना घर गइगए । एउटा दाजु हो । उहाँहरूको परिवार पनि छुटापाटा भएको पहिलै हो । उहाँहरू तल बजारतिरै बस्नुहुन्छ । उतै व्यापार बिजनेस छ उहाँको । आमा बितेको त ठ्याक्कै अहिले दुई वर्ष भइसक्यो ।’ यति भनेर म टक्क रोकिएँ ।

‘अनि….?’ मेरो कुरा अपुरो भए झैँ उसले अरु पनि केहि सोध्न खोज्यो ।

केहि पनि नसुने झैँ म जुरुक्क उठेरभित्र गएँ र एक अंखोरा पानी सारेर घट्घटी आफूले खाएँ । अर्को एक अंखोरा पानी ल्याएर उसलाई दिएँ । मेरो गतिविधि एकोहोरो हेरिरहेको उसले पानीको अंखोरा हातमा समातेर टोलाई रह्यो ।

हामी नौ क्लासमा पढ्दा आठ कक्षामा पढ्दै गरेकी राधालाई हामी दुवैले असाध्यै मन पराउथ्यौँ । राधाले पनि सायद हामी दुवैलाई उत्तिकै मन पराउँथी । मभन्दा पनि हिक्मत नै राधाको लागि उपयुक्त हुने ठानेर मैले आफ्नो कलिलो मनलाई बलैले बाँधेर उनीहरूको हुलाकीको काम गरेको थिएँ र मेरै सहयोगमा उनीहरूको प्रेम झाँगिदै गएको थियो । एक्कासी हिक्मतहरू बसाइ सरेर बर्दिया तिर गए पछि उनीहरूको प्रेम अलपत्र पर्यो । खै किन हो दुवैले एक अर्कालाई बिर्सन खोजे ।

त्यसको केहि समयपछि राधा र म विस्तारै नजिकिँदै जानु अस्वाभिक थिएन । एक अर्काप्रतिको पुरानो आकर्षण छदै थियो । मेरो हुलाकीको कामले फेरि निरन्तरता पाउन थाल्यो पहिला हिक्मतको लागि अब भने आफ्नै लागि । हाम्रो समिपता विस्तारै पिरतीमा बदलीयो । पछि त्यहि राधा भन्ने केटीसँग मेरो बीहे भएको हो । आज दिउँसै देखेको सपनामा त्यहि पापिनीलाई देख्नु । सपनाबाट बिउँझदा ठ्याक्कै आँखा अगाडि अकस्मात उसको पूर्व प्रेमी हिक्मत प्रकट हुनु एउटा अनौठो संयोग हुन पुग्यो ।

‘पानी खाउ न । अहिले यो घरमा म एक्लै छु के ।’ मैले लामो उच्छ्वास लिँदै भने ।
उ केहि झस्के झैँ अंखोरातिर हेर्यो र निकै तिर्खाए झैँ घटघटी पानी खायो अनि अंखोरामा बाँकी रहेको पानी आडैमा बन्दा बन्दै अधुरै रहेको घरको पीलरमा छ्यापिदियो । अनि झ्याप्पै केहि सम्झे झैँ गरी सोध्योः ‘अँ साच्ची अघिदेखि मैले सोधम्ला भन्याथेँ । यी सबै राता माटाले पोतेका पुराना छाने घरको माझमा कुन चाहि लाहुरेले यो पिलरवाला घर ठड्याउन लाग्यो त हँ ? यो त ठ्याक्कै कागको बथानमा बकुल्लो जस्तो देखियो त ।’

मेरो मुखबाट जवाफ केहि आएन र फेरि उसैले ठट्यौली पारामा अर्को प्रश्न तेस्र्यायो । ‘घडेरी भरी त्यत्रो झार जंगलको झाडी नै उम्रीसकेछ । त्यो पिलरका सरियाहरू पनि सबै खीयाले खान लागिसकेछ । बनाउँदा बनाउँदै फेरि किन रोकिएछ त लाहुरे ? कि उतै लडाइँमा प¥यो र हँ ?’ उ एकाएक ठट्यौली मुडमा आएको थियो । लाहुरे लडाइमा त प¥यो कि परेन कुन्नि ! तर उसको कुराले मेरो मनमा कतै गोली भने लागेकै हो । मैले उसको जिज्ञासाको तत्काल कुनै जवाफ भेटिन र एकाएक प्रसङ्ग बदल्न पुगेँ; र सोधे, ‘हैन तिमी खाना साना खाएर आएको हो कि के हो ? मैले त सोध्दा पनि सोधिन भोक लाग्यो होला तिमीलाई म खाना बनाउछु है त ?’ उ केहि बोलेन र अगाडि अलपत्र ठडिइरहेका पिलरहरूलाई हेरिरह्यो ।

दिन ढल्कन लागि सकेको थियो मलाई पनि भोक लागेको पत्तै भएन । म खाना साना बनाउने सुरमा लागेँ । हिक्मत पनि मलाई खाना बनाउन सघाउन आयो । दश वर्ष छुटेर भेटेको दोस्ती हाम्रा कुरा कति थिए कति । गफगाफ गर्दै खाना बनायौँ । गफकै सिलसिलामा थाहा भयो उसको पनि बिहे भएछ । एउटा छोरा एउटा छोरी पनि ठूल्ठूलै भइ सकेछन् । उसकी जहानले उतै बर्दियाको एउटा स्कुलमा पढाउँदी रहिछन् । यता मेरो र राधाको बिहे भएको कुरा त पहिलै थाहा पाएकै रहेछ । केटाकेटी सुर्खेततिर होस्टेलमै बसेर पढ्दैछन् भन्ने कुरा पनि उसले थाहा पायो । राधाको बारेमा बाँकि कुरा मैले टपाल्दै गएँ । खानासाना खाएर भाँडासाँडा सफा गरी हातसात पुस्दै फेरि त्यहि अटालीमा बस्दै गफको सिलसिला चलिरह्यो ।

मैले भने, ‘यो बन्दाबन्दै रोकिएको पिलरवाला घर कोहि लाहुरेको नभएर मै चाउरेको हो । म भन्दै गएँ । बिहे हुनु अघि नै राधाले मसँग घरको सर्त तेस्र्याएकीले बिहेको लगतैदेखि घर बनाउने कुरो चलाए पनि ५–६ वर्ष पछि नै घरको साइत जुरेको हो । हाम्रो गाउँमा राधाले भने अनुसारको पिलर सिस्टमको घर कसैले बनाएकै छैन तिमीले देखि हाल्यौँ । बनाए पनि उतै बजार सदरमुकामतिर बनाए होलान् । यहाँ त उनै परम्परागत शैलीका घर नै छन् । त्यस्तो पिलरवाला घर बनाउने मिस्त्री हाम्रो गाउँमा पाइएनन् । बडो मुस्किलले पारी देउलीगाउँबाट पिलरवाला घर बनाउने मिस्त्री खोजेर ल्याइयो । मिस्त्री त उ छँदै थियो । पुरै घर बनाउने ठेक्का नै उसैले लियो । हामिले पैसा मात्र निकाले भयो अरु सबैकाम सामान जुटाउने, मान्छे जुटाउने सबै उसैले जिम्मा लिने भयो । मैले पनि खोजेको यस्तै मान्छे थियो । मलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । आवश्यक सामग्री एकदमै लागत मुल्यमा घरैसम्म ल्याइदिने चाँजोपाँजो सबै उसैले मिलायो ।’

निर्माणकार्य सुरु भयो । अरु लेवरहरू हाम्रै गाउँका थिए । उनीहरू आआफ्नै घरबाटै आउने जाने गर्थे तर त्यहि ठेकेदार भनौ कि मिस्त्री भनौ उसलाई चाहि तल्तिर कान्छोबुवाको घरमा बस्ने व्यवस्था मिलाइएको थियो । हुन त हाम्रो घरमा उ एक जनालाई बस्ने ठाउँ नभएको त हैन तर म प्रायः सधै घर बाहिरै भइरहने । घरमा राधा मात्रै एक्लै हुने हुँदा पराया पुरुषलाई घरमा राख्नु त्यति उपयुक्त मानिएन । राधाकै सल्लाह अनुसार उसलाई तल्तिर कान्छोबुवाको घरमा बस्ने व्यवस्था मिलाइयो । साझ बिहानको खाना दिउसको नास्ता भने उसले हाम्रै घरमा गर्ने गथ्र्यो ।

निर्माणकार्य द्रुततर गतिमा अघि बढ्दै गयो । निर्माणकार्यको निगरानी राख्ने जिम्मा सबै राधाकै थियो । उनकै चाहना अनुसारको घर बन्दै गरेकोले पनि निर्माणकार्यको निगरानीमा उ मभन्दा बढी कठोर थिइ । उसो त अरु आफन्तहरूको घर पनि एकदमै नजिकै भएकोले पुरानो घरको रेखदेख र निर्माणाधिन घरको निगरानीमा पनि छरछिमेकको राम्रै सहयोग भइरहन्थ्यो ।

घर निर्माण पूरा गर्न मलाई तिस लाखभन्दा बढी रकम लाग्ने देखियो । प्रोजेक्टको जागिर फिल्डतिरै बढी हिडिरहनु पर्ने । आफूलाई पैसाको भकारी नै फेला परे पनि कम हुन्छ कि झैँ लाग्ने बेला म जति पनि फिल्ड हिड्न तत्पर थिएँ किनकी त्यसरी फिल्ड हिँड्दा धन्न धन्न मासिक तलब नै जति अरु पैसा पनि आउँथ्यो । करिव दुई ढाई वर्ष यसरी दुःख गरे मलाई राधाको रहर अनुसारको घर तयार गर्न अरु कतै रिन खोज्न वा भएको पुख्र्यौली टुक्रो मुक्रो खोट्याउन पर्दैन्थ्यो ।

निर्माणकार्य धमाधम चलिरहेको थियो । तन अफिसको काममा भएपनि मन भने घरैतिर हुने नै भयो । मन घरतिर भएपनि मष्तिस्कले भने अफिसकै कामतिर लताथ्र्यो । म मुश्किलले महिना पन्ध्र दिनमा घर आउन पाउँथेँ । राधासँग मोबाइलमा कुराकानी बराबर भइ रहन्थ्यो । यस्तैमा एक दिन राधाले मोबाइलमा फोन गरेर सोधिन् ‘खै के कुरामा हो कान्छाबुवालाई चित्त बुझेन अरे । हाम्रो मिस्त्रीदाइलाई त्यहाँबाट डेरा सार के सार भनेर हैरान गर्नुभाछ नजिक अरु कसैको घरमा ठाउँ छैन के गर्ने होला ?’

फिल्डतिर काममा हिडिरहेको मान्छे मैले के भन्नु के नभन्नु ? जे भए पनि उसलाई बस्ने ठाउँको व्यवस्था त गर्दिनै प¥यो । मन नलागी नलागी मैले हाम्रै घरको तलतिरपट्टिको कोठा खाली गरेर त्यहिँ बस्ने व्यवस्था गराइदेउ न त भनेर फोन राखेँ । तर मनमा भने किन हो अलि अलि चिसो पस्यो ।

हिक्मत ज्ञानी विद्यार्थी झैँ थपक्क बसेर टाउको हल्लाइरह्यो म एकोहोरो भन्दै गएः घर आउँदा काम रफ्तारमै भइरहेएको देखियो । राधा पनि प्रफुल्ल नै देखिन्थी । एक्लै भएँ भनेर माइतीबाट एक जना भदैनी पर्ने नानीलाई ल्याएर राखेकी रैछ । मलाई खुसी लाग्यो । अब केही दिनमा डिपीसी भएर पिलरको काम सुरु हुने देखियो । कामको रफ्तार हेरर आफूलाई पनि सन्तुष्टी लाग्ने नै भयो । भोलिपल्ट बिहानै म काममा हिडीहालेँ ।

घरमा राधा मात्रै एक्लै थिइन् । उसलाई साथ सहयोग गर्ने भदैनी नानी पनि थिइन् । म पूर्ववत् आफ्नो नोकरीमा व्यस्त भएँ । यता घरको काम आफ्नै रफ्तारमा चलिरह्यो । पैसाको हिसाब किताब अरु सबै खटनपटन सबै राधाले नै गर्थी । सबै हर्ताकर्ता उ हुने नै भइ । म त बेला बेला आउने पाहुना जस्तो भैगएँ । कहिले दैनिक जसो कहिले एक दुइ दिन बिराएर मोबाइलमा कामको रिपोर्टिङ र अन्य खर्चपर्च लगायतका कुराकानीहरू नियमित जस्तो भइनै रहन्थ्यो । जे होस् कामको लागि ल्याइएको मिस्त्रि ठेकादार र काम गराउने मेरो प्रतिनिधि राधा दुवैको काम गराइले म पूर्ण रुपले सन्तुष्ट नै थिएँ । भोलिपल्ट पिलर ढलाइ हुँदैछ भन्ने खबर आएको दिन म अलि दुर्गम एरियामा एक हप्ताको लागि जानु पर्ने भयो । म गएँ । त्यस पछि करिव एक हप्ता उतै व्यस्त भइयो; फोन सम्पर्क पनि कतै भएन । एकहप्ता पछि म आफ्नो कार्यस्थलमा आइपुग्दा मेरो मोबाइलको व्याट्री सकिएको थियो । आउँदा आउदै एक जना स्टाफले भन्योः ‘सरको खुव खोजी भइराथ्यो घर तिरबाट हो कि क्याहो ?’

कसले रैछ त त्यसरी खोजेको ? राधालाई त अब एक हप्ता फोन सम्पर्क हुँदैन भनेर गएकै थिएँ । के भएछ त ? कसले गरेछ त ? मनमा अनेक कुरा खेलिरहे । मोबाइल अलिकति चार्ज हुने बित्तिकै राधाको नम्बरमा डायल गरेँ । लाग्दै लागेन; खाली कलइण्ड मात्रै भनिरह्यो । मन एक किसिमले ढक्क फुल्यो । के भएको रैछ त ? यस्तो त कहिल्यै हुँदैनथ्यो ? भदैनीको नम्बरमा गरौँ भनेको उसको नम्बर यादै भएन । कामको अवस्था के छत भनेर मिस्त्रीको नम्बरमा डायल गरेको उसको नम्बर पनि खाली स्वीचअफ छ मात्रै भन्यो फोन लाग्दै लागेन । के अचम्म भयो त यस्तो ? मनमा अनेक शंका उपशंका र छटपटीको पारो बढ्दै जान थाल्यो । अब कसलाई गरौँ त ? कान्छाबाको मोबाइलमा फोन गरेँ । कान्छबाकोमा ठ्याक्कै फोन लाग्यो । फोन उठाउने बित्तिकै धन्न धन्न गाली गरेकै शैलीमा कान्छाबा कड्किनु भयो । ‘हैन तँ कहाँ बेपत्ता हो के ? अत्तो पत्तो छैन । फोन गर्दा फोन पनि लाग्दै लाग्दैन ।’

म आत्तिदै सोधे । ‘म फोन नलाग्ने ठाउँमा थिएँ कान्छबा । के भयो भन्नुस् न ।’ एक्कासी सातो गए झैँ मेरो आवाज भास्सीएको थियो ।

‘अब फोनमा के कुरा गर्नु ? तँ तुरुन्तै घर आइज । अहिल्यै हिँडिहाल ।’ कान्छबाको आदेशले ठूलै घटना घटेको संकेत गथ्र्यो । मनमा एकखालको आधीबेहरी नै चल्न थाल्यो । अघि राधाको मोबाइलमा त्यत्रो कोशिष गर्दा लागेन । मिस्त्रि भन्नेको फोन पनि लाग्दै लागेन । मनमा अनेक खालका ज्वारभाटाहरू मडारिन थाले । मैले झोला टिपेँ र कसैलाई केहि नभनि सिधै घरतिर हान्निएँ । बाटाभरि पनि पटक पटक राधाको फोनमा कोशिष जारि राखेँ । अहँ फोन लाग्दै लागेन ।

भोलि पल्ट घर आइ पुग्दा । उ परैबाट पिलरहरू ठडिएको देख्दा एक किसिमको खुसीले मन प्रफुल्ल बनायो । तर त्यो खुसी पलभर पनि टिक्न पाएन । जब यहाँ घरमा आइपुगेँ घरमा ताला झुण्डाइएको थियो । मेरो लागि त्यो ठूलै रहस्यको ताला थियो । ताला लगाएर राधा कहाँ गैछ त ? माइती तिर केहि भवितव्य परेछ कि त ? म ढोकामा झुण्डाइएको ताला समातेर घोरिइ रहेको रहेछु; कान्छबुवाले पछाडिबाट ‘यी ला चाबी यहाँ छ’ भन्दा झसँग भएँ । मैले झिनो स्वरमा सोधेँ ‘राधाले त्यहाँ चाबी छोडेर गएकी थिइ कान्छबा ?’

‘अँ छोड्छे तेरी राधाले चाबी यहाँ ? यो ताला त मैले लगाइदिएको हुँ । अब के के छोडी के के लगेर गइ भित्र खोलेर हेर् त्यहि देखिन्छ ।’ कान्छबुवाको कुराको आसय र मेरो मनको आशंकाले एउटै ट्रयाक समात्यो । मेरा खुट्टाहरू गले । जमिन भासिए झैँ भयो म थचक्क जमिनमा थचारिन पुगेँ ।

कान्छबा बोल्दै जानुभो । ‘तेरो मिस्त्रीको चालामाला गतिलो छैन भनेर मैले मेरो घरबाट निकालेको हुँ’ तिमीहरूले झन घरमै ल्याएर हुल्यौ । अन्त कहाँ राख्ने ? राख्ने ठाउँ पनि थिएन । अब के गर्छस् कृष्णे ? जसको रहर पूरा गर्न गाउँमै नभएको पिलरवाला घर बनाउन त्यत्रो दुःख कष्ट गरिस् उहि घरिनाले घरै छोडेर हिडी । घर बनाउन भनेर कहाँ कहाँबाट खोजेर ल्याएको मिस्त्रीले तेरो घरबारै उजाडेर हिड्यो । कान्छबा बोल्दै हुनुहुन्थ्यो मलाई भाउन्न भयो उहाँको बाँकि कुरा मैले सुनेर पनि सुनिन् ।

मैले मेरो मन त राधालाई सुम्पिएकै थिएँ । धन पनि त सबै उसैको जिम्मा थियो । नगद सुन चाँदी सबै । मेरो श्रीसम्पत्ति जे थियो सबै उसैको नाममा थियो । आँखिर के कुराको कमी ममा थियो जो त्यो मिस्त्रीबाट उसले प्राप्त गरी र वर्षौंको त्यो मायाप्रेम तोडेर आफ्ना प्राणभन्दा प्यारा छोराछोरी छोडेर मेरो घरबार लथालिङ्ग पारेर त्यो जोइ छोराछोरी भएको मिस्त्रीसँग हिडी ? यो प्रश्नले मेरो मथिङ्गल चक्करायो; मलाई यो पुरै व्रह्माण्ड फनफनी घुमे जस्तो लाग्यो ।

मैले लामो सास तानेँ र मेरो कथा व्यथा सुनिरहेको मेरो बालसखा हिक्मतलाई हेरि रहेँ । मेरो गला अबरुध्द भइसकेको थियो मेरो गालामा बग्दै गरेको आँसुका धारालाई आफ्नो रुमालले पुस्दै हिक्मतले मेरो ढाडमा थप्थपायो । र भन्यो ‘भो रहन्देउ यहाँ भन्दा अगाडि अब केहि सुन्नु छैन ।’ मैले हिक्मतलाई हेरिरहेँ उसले मलाई हेरिरह्यो । सामनेमा ठडिएका राधाका घरका अधुरा पिलरहरूले हामीदुइलाई हेरिरहेका थिए ।

 

-गणेशभक्त गौतम

प्रकाशित मितिः   ८ भाद्र २०८१, शनिबार ११:२८