कोटीहोममा १० लाख संकलन
सुर्खेत, २३ चैत । (साबिस)
चैत १६ गतेदेखि देउतीबज्यै मन्दिर परिसरमा सञ्चालन भएको कोटीहोममा बुधवारसम्म १० लाख बढी नगद संकलन भएको छ । बुधवार मात्रै तीन लाख नगद संकलन भएको छ ।
देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भइरहेको कोटीहोममा बुधवार भुपेन्द्रनाथ योगीले एक लाख ११ हजार एक सय ५१ रूपैयाँ दान दिएका छन् । त्यसवापत योगीलाई प्रमुख अतिथिसहितको सम्मान गरिएको प्रचार संयोजक सुदीप पुरीले जानकारी दिए । देउतीबज्यै मन्दिरको समृद्धि र विस्तारका लागि सञ्चालन गरिएको कोटीहोम भक्तजनहरूको सहभागिता बढिरहेको छ । कोटीहोममा भूमिपूजा, पितृ उद्धार, ज्ञानमय सप्ताह, संगीतमय प्रवचन, भजनकिर्तन, राष्ट्र शान्तिका लागि पूजन भइरहेको छ ।
देउतीबज्यै मन्दिर परिसरमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको हुँदा कोटीहोम अवधिभर सहभागी भइ गच्छे अनुसारको दान दिइ मन्दिरलाई प्रदेशस्तरीय धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न पुरीले आव्हान गरेका छन् । कोटीहोममा पाँच लाखभन्दा बढी दान गर्ने दातालाई सम्मानसहित देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको पदेन सदस्यमा चयन गरिने, ११ लाख बढी दान गर्नेलाई तोकेको व्यक्तिको नामको अर्धकदको सालिक निर्माण गरिने, २१ लाख बढी दान गर्नेलाई पूर्ण कदको सालिक निर्माण गरिने, ३१ लाख बढी दान गर्नेलाई व्यक्तिले चाहे अनुसार धर्मशालाको नामाकरण गरिने र समितिको पदेन सदस्यमा चयन गरिने र ५१ लाख दान गर्नेलाई माथिका सम्मानसहित शिरोमणि पद प्रदान गर्नुका साथै आजीवन समितिको पदेन सदस्यमा चयन गरिने प्रचार संयोजक पुरीले जनाए ।
साझा बिसौनी संवाददाता ।