पहिरोको जोखिममा भूकम्प प्रभावित बस्ती
सुर्खेत: आइतवार राति जाजरकोटको नलगाड नगरपालिकामा पहिरो गयो । पहिरोले वडा नं. २ को माझगाउँका लालबहादुर परियारको अस्थायी टहरा पुरियो । अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । ज्यान जानेहरूमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार र दुई वर्षीय शिभम परियार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । उनीहरू गत वर्ष गएको भूकम्पका कारण विस्थापित भएर अस्थायी टहरामा बस्दै आएका थिए ।
लालबहादुरको परिवारमा भएको यो घटनासँगै अस्थायी टहरामा बसिरहेका भूकम्पपीडितहरू त्रसित बनेका छन् । अधिकांश भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छन् । शनिवारदेखिको निरन्तर वर्षाको कारण भूकम्प प्रभावितका टहरा पहिरोको जोखिममा परेका हुन् । नलगाड नगरपालिकाका केही वडा सबैभन्दा बढी पहिरोको जोखिमा रहेको नगरप्रमुख डम्मरबहादुर रावतले बताए ।
उनका अनुसार पालिकाका १ देखि १३ वटै वडा जोखिममा रहेका छन् । सबैभन्दा बढी १, २, ३, ४ र ५ रहेको उनले जानकारी दिए । आइतवार मात्र वडा नं. २ मा मानवीय क्षति हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको र अन्य अस्थायी टहरासमेत पहिरोको जोखिममा रहेको उनको भनाइ छ । जोखिममा रहेका बस्ती तत्काल सार्न सक्ने अवस्था नरहेको भन्दै उनले प्रदेश र संघ सरकारले विशेष ध्यान दिनुपर्ने जनाए । उनले भने, ‘पालिका नै पहिरोको जोखिममा छ, सावधानीका उपाय अवलम्बन गर्न सकिएको छैन, साधन र स्रोतकै अभाव छ ।’ गत वर्षको कार्तिक १७ गतेको भूकम्पका कारण घर क्षति भएपछि यहाँका नागरिक अस्थायी आवासका लागि बनाएका टहरामा बस्दै आएका छन् । तिनै टहराहरू पहिरोको जोखिममा परेपछि मानवीय तथा अन्य क्षतिको त्रास बढेको हो ।
विपद्का घटनामा वृद्धि
जेठ २८ गतेदेखि सुरु भएको यो वर्षको मनसुनमा कर्णालीमा तीन सय ७४ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५८ जना घाइते भएका छन् । एक सय ६९ परिवारका नौ सय १४ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विस्थापितपछि एक सय ५४ घरधुरीका आठ सय ३८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण पनि गरिएको छ । विपद्का कारण दुई सय ५६ पशुचौपाया मरेका छन् भने ५३ घाइते र ७५ चौपाया बेपत्ता रहेका छन् ।
यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको छ । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ ।
विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।
यसो त कर्णाली भूकम्पबाट पनि उत्तिकै जोखिममा छ । कर्णालीमा आर्थिक वर्ष २०८०/०८१ मा ठूलो विपद् आइपर्यो । धेरैले ज्यान गुमाए भने बाँचेकाहरू पनि पालमुनीको अस्थायी शिविरमा छन् । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ७२ घाइते भएका थिए ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार जाजरकोटमा एक सय एक र रूकुममा ५३ गरी एक सय ५४ जनाको मृत्यु भएको हो । घाइते हुनेहरूमा जाजरकोटका एक सय ५८, रूकुमपश्चिमका दुई सय दुई, दैलेखका तीन जना, सल्यानका दुई जना, कालीकोटका एक जना र जुम्लाका ६ जना गरी तीन सय ७२ घाइते भएका छन् ।
प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार ०५:०५

साझा बिसौनी ।