पूर्णसाक्षर प्रदेश बन्दै कर्णाली

यो वर्षभित्रै घोषणा हुने, घोषणा हुन बाँकी २३ पालिकामा अभियान तीव्र

सुर्खेत: कर्णालीलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । पूर्ण साक्षर हुन बाँकी २३ स्थानीय तहलाई भदौ २३ गते एकैपटक पूर्ण साक्षर पालिका घोषणा गरिँदैछ । उक्त घोषणासँगै कर्णालीका सबै जिल्ला र पालिका पूर्णसाक्षर हुनेछन् ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर स्थानीय तहलाई साक्षर घोषणा गरिने जनाइएको छ । सरकारले साक्षर स्थानीय घोषणासम्बन्धी अवधारणापत्र तयार गरेको छ । स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी कर्णालीका साक्षर घोषणा हुन बाँकी २३ स्थानीय तहलाई यसै वर्ष घोषणा गर्नेगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयारी अघि बढाएको हो । साक्षर घोषणाको तयारीका लागि बजेट सम्बन्धित पालिकामा पठाइसकिएको केन्द्रका निर्देशक निलकण्ठ ढकालले बताए । उनका अनुसार नगरपालिकामा चार लाख र गाउँपालिकामा तीन लाखका दरले बजेट पठाइएको छ ।

गत वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा साक्षर पालिका घोषणा हुन सकेका थिएनन् । यो वर्ष चालु आर्थिक वर्षको सुरुमै स्थानीय तहमा बजेट पठाइएको उनले जानकारी दिए । कर्णालीका दशमध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षर जिल्ला घोषणा भइसकेका छन् । कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी जिल्ला हुन् । बाँकी रहेका जिल्लामा स्थानीय तहमार्फत् साक्षर अभियानको घोषणा गर्न लागिएको हो ।

 

स्थानीय सरकारको प्रतिबद्धता

साविक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २३ पालिका साक्षर घोषणा हुन बाँकी छन् । मुुगुुका चार, जुुम्लाका आठ, कालीकोटका ६, हुुम्लाको एक, डोल्पाका ४ गरी २३ पालिका साक्षर घोषणा भएका छैनन् । स्थानीय तहहरूले भने भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस पारेर पालिकालाई साक्षर घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

मुगुको सोरु गाउँपालिका ‘साक्षर अभियान’ घोषणाको अन्तिम तयारीमा छ । पालिकाले भदौ २३ गते साक्षर घोषणा गर्नेगरी तयारी भइरहेको जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद भट्टले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मुगुको छायाँनाथ रारा नगरपालिकाले असोजसम्म पालिकालाई साक्षर घोषणा गर्ने प्रतिवद्धता जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हस्तबहादुर भामले छिटोमा भदौ र ढिलोमा असोजसम्म साक्षर घोषणाको तयारी भइरहेको जानकारी दिए । यसैगरी खत्याड गाउँपालिका मुगुले पनि यसै वर्ष साक्षर घोषणा गरिने प्रतिवद्धता जनाएको छ । शिक्षा शाखा प्रमुख लोकेन्द्र बुढाका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ । तिला गाउँपालिका जुम्लाले भदौ २३ गते साक्षर घोषणाका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पातारासी गाउँपालिका जुम्लाले पनि यसै वर्ष पालिका साक्षर घोषणा गर्ने जनाएको छ । शुभकालिका गाउँपालिका कालीकोट र पलाता गाउँपालिका कालीकोटले समेत साक्षर घोषणाको तयारी तिव्र पारेका छन् । भदौमा नै साक्षर स्थानीय तह घोषणा गर्ने पालिकाहरूले प्रतिवद्धता जनाएका छन् । गत वर्ष नै पालिकाहरूले साक्षर घोषणाको तयारी गरेका थिए । तर, बजेट प्राप्त नहुँदा घोषणाको काम रोकिएको थियो । यो वर्ष चालु आर्थिक वर्षको सुरुमा नै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बजेट पालिकामा पठाएसँगै साक्षर घोषणाका गतिविधि अघि बढेका हुन् ।

 

प्रदेश सरकारको ४० लाख

प्रदेश सरकारले सुरुवाती वर्षदेखि नै साक्षर घोषणाका लागि बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन सकेको छैन । प्रत्येक वर्ष प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ । अघिल्ला वर्षहरूमा २५ लाखदेखि दुई करोडसम्म बजेट विनियोजन हुने गरेको थियो । कर्णाली साक्षर घोषणाका लागि चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ । यो वर्ष कर्णालीलाई साक्षर घोषणा गर्नेगरी तयारी थालिएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख जवाहरलाल हमालले बताए । उनले भने, ‘यो वर्ष मन्त्रालयले ४० लाख बजेट विनियोजन गरेको छ, पालिकाहरूले तयारी तीव्र पारेका छन्, यो वर्ष साक्षर कर्णाली घोषणाका लागि समेत काम भइरहेको छ ।’

 

‘यो वर्ष साक्षर कर्णाली घोषणा हुन्छ’

प्रदेशको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यही वर्षभित्र ‘साक्षर कर्णाली’ घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले साक्षर पालिका घोषणा गर्नमा बिलम्व गर्न नहुने बताएका हुन् । उनले भने, ‘प्रत्येक वर्ष कार्यक्रम राख्ने अन्त्यमा काम नहुने गरेको छ, यो वर्ष स्थानीय तह बढी जिम्मेवार भएर यो अभियानलाई सफल पार्न प¥यो ।’

तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षर घोषणा गरिने उनको भनाइ छ । स्थानीय तहले चाहेको खण्डमा दुई महिनामा नै साक्षर स्थानीय तह घोषणा गर्न सकिने अवस्था रहेको भन्दै पालिकालाई तयारीमा जुट्न मन्त्री भण्डारीले आग्रह गरेका छन् । मन्त्री भण्डारीले भने, ‘यहि वर्ष साक्षर प्रदेश घोषणा हुन्छ । त्यसको तयारीमा लाग्नुपर्ने हुन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालय तयारीमा जुटिसकेको छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप–महानिर्देशक महेन्द्र पराजुलीले यो वर्ष बाँकी रहेका पालिकालाई साक्षर घोषणा गर्नेगरी लागिपरेको बताए । साक्षर घोषणालाई कार्यक्रमका रूपमा नभइ अभियानका रूपमा लिनसमेत उनले स्थानीय तहलाई आग्रह गरेका छन् । उनका अनुसार संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षर गर्नेगरी कार्ययोजना निर्माण गरेको छ । कर्णालीका २३ वटा पालिका साक्षर घोषणा हुन बाँकी रहेकाले साक्षर घोषणाका लागि पालिका जुटिसकेको जानकारी दिए । गतवर्ष पालिकामा बजेट पठाउन ढिलाइ हुँदा समस्या भएको भन्दै उनले यो वर्ष साउन १ गते नै पालिकाहरूमा बजेट पठाइसकिएको जानकारी दिए ।

प्रकाशित मितिः   ३१ श्रावण २०८१, बिहीबार ०५:०५