कानुन कार्यान्वयनमा जोड

सुर्खेत: बालअधिकार सुनिश्चत गर्न कानुन बनाएर मात्रै नहुनेमा सरोरकारवालाले सचेत गराएका छन् । कानुनको पालना र व्यावहारिक कार्यान्वयन आजको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बाल संरक्षण सुदृढीकरणका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले व्यवहार र सोचमा परिवर्तन नआएसम्म बालबालिकाको अधिकार सुनिश्चित गर्न कठिन हुने तर्क गरेका छन् । प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले बालबालिकाका लागि पर्याप्त कानुन निर्माणमा जोड दिए । उनले भौतिक पूर्वाधारमा पालिकाहरूले प्राथमिकता दिएपनि बालबालिकाको अधिकार सुनिश्चित गर्न कानुन निर्माणमा आलटाल गरिरहेको जनाए ।

यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बाल संरक्षणका क्षेत्रमा स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्ने बताए । स्थानीय सरकारले नै बालबालिकाका लागि कानुन निर्माण गर्न ढिलाइ गरिरहेको भन्दै उनले बालबालिकाको अधिकार सुनिश्चिततामा जोड दिनुपर्ने जनाए । महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयका उप–सचिव दिपक ढकालले बाल संरक्षणका लागि तीन तहका सरकारको समन्वय आवश्यक रहेको बताए । तीन तहका सरकारले तीनतर्फ फर्केर काम गर्दा प्रतिफल आउन नसकेको उनको भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले यो वर्षको नीति तथा कार्यक्रममा बालबालिकाका धेरै कार्यक्रम समेटिएको बताए । उनले भने, ‘प्रदेश सरकार बालमैत्री नीति तथा कार्यक्रम बनाउनपर्छ भन्ने पक्षमा छ, त्यसैका आधारमा बजेट विनियोजन भएको छ ।’

प्रकाशित मितिः   ३१ श्रावण २०८१, बिहीबार ०५:०२