पूर्वाधार निर्माणमा ढिलाइ नगर्न निर्देशन
सुर्खेत: सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पूर्वाधार निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतमा रहेका निर्माणाधिन पूर्वाधारका काम तोकिएकै समयमा सम्पन्न गर्न उनले निर्देशन दिएका हुन् ।
निर्माण व्यवसायीसँग बुधवार मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले नागरिकका सहजताका लागि थालिएका पूर्वाधार निर्माणका संरचना निर्माण कम्पनीको लापरबाहीले अलपत्र पर्ने गरेकोप्रति असन्तुष्टि जनाए । अहिले मन्त्रालयअन्तर्गत विभिन्न जिल्लाका १४ वटा योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएका छन् । यस्ता योजनाका लागि मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने, तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने उनको निर्देशन थियो । मन्त्री भण्डारीले प्रदेशभित्रको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुनेगरी काम गर्न निर्माण व्यवसायीहरूलाई सुझाव दिएका छन् ।
प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार ०५:०१
साझा बिसौनी ।