स्याकको वार्षिकोत्सवसहित स्थापना दिवस

सुर्खेत: समाज जागरण केन्द्र (स्याक) नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । मंगलवार वीरेन्द्रनगरमा २९औँ साधारणसभासहित ३०औँ स्थापना दिवस मनाइएको हो । स्थापना दिवसकै अवसरमा रक्तदानसहित विविध गतिविधि समेत गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्रीमन्त्री यामलाल कँडेलले संविधानमा सुनिश्चित गरिएका अधिकार नागरिकलाई प्रत्याभूति गराउन सरकार तथा गैरसरकारी संस्थाहरू मिलेर काम गर्नुपर्ने बताएका छन् । सरकार र गैरसरकारी निकायबीच बलियो सहकार्य आवश्यक पर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्णालीमा सामाजिक रूपान्तरणका लागि स्याक नेपाललगायतका नागरिक संस्थाहरूले महŒवपूर्ण योगदान पु¥याएको पनि उल्लेख गरे । ‘एक्लै हिँड्न खोजे कोही पनि गन्तव्यमा पुग्दैन’ उनले भने, ‘गैरसरकारी संस्थाहरूले पनि सरकारसँग हातेमालो गर्दै अघि बढ्नु जरुरी छ ।’

कर्णाली प्रदेश प्राकृतिक स्रोत र साधनका रूपले धनि रहेकाले यसको विवेकपूर्ण प्रयोग गर्नसके नागरिकको आर्थिक तथा सामाजिक अवस्थालाई सजिलै परिवर्तन गर्न सकिने भन्दै विकास साझेदारहरूलाई त्यस दिशातर्फ अगाडि बढ्नसमेत कँडेलले आग्रह गरे ।

कार्यक्रममा स्याक नेपालका संरक्षक डा. सुरेश तिवारीले समाजमा व्याप्त हिंसा, दुव्र्यवहार, विभेदलगायत हानिकारक अभ्यासहरूलाई न्यूनीकरणका लागि स्याकको स्थापना भएको र आफ्नो क्षेत्र तथा उद्देश्यलाई अझ फराकिलो बनाउँदै अघि बढेको बताए । उनले नागरिकको अवस्था परिवर्तनका लागि सामाजिक रूपान्तरण महŒवपूर्ण हुने भन्दै आगामी दिनमा स्याक आफ्नो अभियानमा निरन्तर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेस’ भन्ने मूल नाराका साथ वि.सं २०५२ सालमा स्याक नेपालको स्थापना भएको हो । महिला, बालबालिका र किशोर–किशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्न योगदान गर्ने संस्थाको परिकल्पना रहेको छ । संस्थाले लिएका लक्ष्य, उद्देश्य एवम् परिकल्पना पूरा गर्न स्याक नेपाल निरन्तर लागिरहने संस्थाका अध्यक्ष मिना तिवारी शर्माले बताइन् ।

संस्थाले हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई एवम् स्वच्छता, सुरक्षित मातृत्व, एचआइभी एड्स, खाद्य सुरक्षा, संस्थागत विकास, महिला अधिकार, बालअधिकार, सिमान्त वर्गको अधिकार, विपद् व्यवस्थापन, मानवअधिकार, कोभिड–१९ प्रतिकार्य, भूकम्प प्रतिकार्य, संस्थागत विकास, जलवायु परिवर्तन, आयआर्जन तथा जीविकोपार्जन, मानवीय सहायता, किशोर–किशोरी प्रजनन् स्वास्थ्यलगायतका क्षेत्रमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाका महासचिव गंगा गुरुङ्गले संस्थाले राखेको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य पूरा गर्नका लागि विभिन्न साझेदार संस्थाको सहयोगमा हालसम्म नेपालका विभिन्न १८ जिल्लामा काम गरिसकेको र अहिले कर्णालीका दशवटै जिल्लाका ३० वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।

प्रकाशित मितिः   ३० श्रावण २०८१, बुधबार १०:२२