‘गुटगत राजनीति अन्त्य गरौं’

नेपाली कांग्रेस १३ औं महाधिवेशनको सङ्घारमा छ । यतिबेला गाउँ तथा नगर अधिवेशनहरू चलिरहेका छन् । त्यसपछि क्षेत्रीय र जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेपछि राष्ट्रिय अधिवेशन हुनेछ । तर गाउँ तथा वडा तहदेखि नै कांग्रेसभित्र देखिएको गुटगत अभ्यासले कार्यकर्तामाझ निराशा छाएको पाइन्छ । नेताहरू आ–आफ्नो स्वार्थ अनुसार गुटगत राजनीतिमा लागेको आरोप कार्यकर्ताहरूले नै लगाउने गरेका छन् । फरक–फरक प्यानल बनाएर निर्वाचनमा जानुलाई लोकतान्त्रिक विधि भनिए पनि त्यसभित्रका गुटगत स्वार्थले पार्टीलाई नै नोक्सान पु¥याउने उनीहरू बताउँछन् । तर सुर्खेतका गाउँ तथा नगरपालिकाभित्रका वडा अधिवेशनमा नै प्यानल बनाएर निर्वाचन भइरहेको छ । यसै सन्दर्भमा हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरमा भेटिएका केही स्थानीयवासीलाई नेपाली कांग्रेस सुर्खेतमा देखिएको गुटगत राजनीतिलाई तपाईं के भन्नुहुन्छ ? भनी सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तै ः
चन्द्रकान्त काफ्ले 
वीरेन्द्रनगर–६ सुर्खेत
नेपाली कांग्रेस दुईतर्फ भएर लाग्नुको उद्देश्य भनेको प्रजातान्त्रिक अभ्यास हो । हुन त एक पार्टीभित्र दुई व्यक्तिबीचको प्यानल बनाएर हिँड्नु राम्रो त होइन । यसमा एकले अर्काेको प्रतिस्पर्धी भएर लाग्नुभन्दा पनि सबै मिलेर अगाडि बढ्दा राम्रो हुन्छ । पार्टी एउटै हो व्यक्तिबीचमा फरक प्यानल बनाउनुभन्दा पनि यो एउटा प्रजातान्त्रिक अभ्यासकै रूपमा लिन सकिन्छ । नेतृत्व चयनका लागि विभिन्न समूह भएर चुनाव चितेपनि बन्ने त पार्टी नै हो नि । त्यसैले यसलाई जनताले अन्य भ्रम भन्दा पनि यो एउटा पार्टीको प्रजातान्त्रिक अभ्यासका रूपमा बुझिदिनु हुन पनि आग्रह गर्दछु ।
सीता बाठा 
रामघाट–१ 
यसरी एउटा पार्टीभित्र पनि व्यक्तिबीचको प्यानल बनाएर लाग्नु भनेको राम्रो होइन । चुनावी प्रक्रियामा पनि संस्थापन पक्ष र देउवा पक्षयी नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षका सभापति र प्रतिनिधि छनौटमा सक्रिय भएर लागेको समाचारहरू बाहिर आएको छ । यसले गर्दा नेपाली कांग्रेस एक आपसमा फुट्न खोजेको जस्तो भान बाहिरी जनतालाई आभास पनि भएको छ । आखिरमा जो जसले चुनावमा जिते पनि काम भनेको नेपाली जनताकै हो गर्ने । यसमा किन हामी आफै लुछाचुँडी गर्छौ । जसले जिते पनि एउटै पार्टीभित्रको व्यक्ति त माथि जाने हो यसमा किन रिसारिस गर्नु ? यसरी एउटै पार्टीभित्र पनि एकआपसमा तछाड मछाड गर्ने हो भने बीचमा तेस्रो पार्टीले फाइदा लिनसक्छ यसतर्फ सबैको ध्यान जान जरुरी छ । सबै मिलेर लानसके राम्रो हुन्छ ।
गीता लामिछाने 
लेखगाउँ–२ 
नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ । सबैभन्दा पहिला त यो अधिवेशन राम्रोसँग सम्पन्न होस् भन्न चाहन्छु । मेरो विचारमा जुन थानी र खड्काको छुट्टाछुट्टै गुट भनौं वा प्यानल भनौं यसरी फरक–फरक तरिकाबाट चुनावी प्रक्रियामा नलागेको भए राम्रो हुन्थ्यो । आज व्यक्तिगत रूपमा आफ्नो फाइदाको लागि यसरी छुटिएर लाग्दा भोलि विपरित पार्टीले यसको फाइदा उठाउने मौका पाउने र जनताले पार्टीप्रति गरेको विश्वास पनि टुट्न सक्ने भएकाले छुटिएर होइन एकजुट भएर अगाडि बढ्न सके राम्रो हुन्थ्यो । फुटेर होइन जुटेर र मिलेर अगाडि बढ्न सके सबैलाई फाइदा नै हुन्छ ।
विष्णु खत्री 
दशरथपुर–५
नेपाली कांग्रेसले राष्ट्रिय अधिवेशन नजिकिदैं गर्दा गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनका लागि कार्यकर्ताहरूलाई गुट बनाएर चुनाव गर्नु राम्रो होइन । यसरी गुट बनाएर एउटै पार्टीभित्र पनि दुई गुट बनाउनु भनेको कांग्रेस कमजोर हुनु हो । गुट बनाउनु भन्दा एकआपसमा सहमति र सहकार्यका साथ अगाडि बढ्नु राम्रो हो । चुनावमा जसरी होमिए पनि आखिर सबै नेता तथा कार्यकर्ताको पार्टी कांग्रेस नै हुने हो । त्यसैले चुनावी प्रक्रियामा जाँदा यो वा त्यो गुट भनेर पछुताउनुपर्ने अवस्था छैन ।
हुकुमबहादुर विष्ट 
वीरेन्द्रनगर–१८
नेपाली कांग्रेसको राष्ट्रिय अधिवेशनको तयारी भइरहँदा सुर्खेत जिल्लामा भने यसरी पार्टीबीचमा दुई प्यानल बनाएर लाग्नु राम्रो होइन । यसरी थानी र खड्काबीचको फरक–फरक प्यानल बनाएको कुरा विभिन्न सञ्चार माध्यमहरूबाट बाहिर आएको छ । यसले तत्काल रूपमा असर नपरे पनि दीर्घकालीन रूपमा भने पक्कै असर पर्नसक्छ । यसरी गुटबन्दी रूपमा भन्दा पनि एकआपसमा समझदारी अनुसार चुनावी प्रक्रियामा लागेको भए राम्रो हुने थियो । दुई पक्ष बनाउनुभन्दा पनि एउटै पार्टी हो सबै एकजुट भएर लाग्न सक्नुपर्छ । यसरी एकजुट भएर लाग्न सकेको खण्डमा जनताको विश्वास पनि जित्न सकिन्छ । जनताको विश्वासले नै पार्टी अगाडि बढ्नसक्छ । त्यसैले नेपाली कांग्रेसलाई नेपाली जनताले धेरै पटक विश्वास गरेको पार्टी भएकाले अधिवेशनमा यसरी फुटेर होइन एकजुट भएर लाग्नुपर्छ । तब नेपाली जनताको मन जित्न सकिन्छ ।
मनिराम शर्मा 
वीरेन्द्रनगर–२१
एउटै पार्टीभित्र यसरी गुट बनाएर लाग्न त राम्रो होइन । तर, पनि यसरी दुई गुट बनाएर लाग्नुमा नि पार्टीको आफ्नै केही खास कुरा होला । हुन त पार्टी एउटै भएका कारण अलग अलग प्यानलका साथ चुनावी प्रक्रियामा लाग्न नहुने हो । यसले गर्दा बाहिर जनताको सामु नेपाली कांग्रेस पार्टीभित्रकै व्यक्तिहरूमा मिलाप छैन भन्ने कुराको भ्रम पनि फैलिन सक्छ । यसमा पार्टीभित्रका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टी र जनताका निम्ति सोच्न जरुरी छ ।
प्रेमबहादुर खड्का 
दैलेख
नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनको तयारी जिल्लास्तरीय अधिवेशनबाट सुरुवात भएको छ । सबैभन्दा पहिला त यो अधिवेशन राम्रो र शान्तपूर्वक सम्पन्न होस् शुभकामना दिन चाहन्छु । अर्काे कुरा नेपाली कांग्रेस भनेको अन्य पार्टीको तुलनामा पहिलो पार्टी नै जनताले पनि विश्वास गरेको पार्टी हो । यसरी अधिवेशनका लागि जिल्लास्तरमा नै गुटगत रूपमा चुनावी हुनु भनेको जनता प्रतिको विश्वासलाई टुटाउनु पनि हो । त्यसैले एकअर्काेमा फुटेर होइन जुटेर लाग्न सक्नुपर्छ ।
दसरथ अधिकारी 
वीरेन्द्रनगर–६ 
नेपाली कांग्रेसले सुर्खेतका गाउँ र वडा अधिवेशनहरूका लागि गुट बनाएको समाचार बाहिर आउनु भनेको नराम्रो कुरा हो । एउटा पार्टीभित्र पनि यसरी गुट बनाएर एकआपसमा प्रतिस्पर्धी गर्नुभन्दा एकआपसमा मिलेर सहयोग र सहकार्य गरेर अगाडि बढ्दा राम्रो हुन्छ । यसरी एउटा पार्टीभित्र पनि दुई व्यक्तिको प्यानल बनाउन थाल्ने हो भने जनताप्रतिको विश्वास टुट्नसक्छ । एक पटक होइन धेरै पटक जनताले नेपाली कांग्रेसलाई विश्वास गरेर साथ दिँदै आइरहेका छन् । फेरि जनताले गरेको त्यो विश्वास गुटबन्दीका कारण नटुटोस् । सबैभन्दा राम्रो अधिवेशनमा फरक–फरक गुटबाट नभइ साझा बनाएर अघि बढ्दा राम्रो हुन्छ ।
रत्नप्रसाद पाण्डे 
वीरेन्द्रनगर–४ 
नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनको तयारी जिल्लास्तरबाट सुरु भएको छ सबैभन्दा पहिला सफलतापूर्वक सम्पन्न होस् भन्न चाहन्छु । यसमा हामीले भन्नु पर्दा नेपाली कांग्रेस सुर्खेतमा यसरी थानी र खड्का पक्षीय रूपमा चुनावी प्रक्रियामा लाग्नु भनेको राम्रो होइन । एउटै पार्टीभित्र पनि दुई पक्षीय रूपमा छुटिएर लाग्नु भनेको नेपाली कांग्रेसलाई जनताको सामु नकारात्मक सन्देश फैलाउनु हो । सबैभन्दा राम्रो त चुनावी प्रक्रिया भन्दा पनि सर्वसम्मत् रूपमा अधिवेशन सम्पन्न गर्न सकेको भए झनै राम्रो हुन्थ्यो । पार्टीभित्र जे जस्तो भए पनि जनताको सामु पार्टी सधैं मिलेको देखिन सक्नुपर्छ । यसो गर्दा जनताको मन सधैं जित्न सकिन्छ ।
प्रकाशित मितिः   १७ माघ २०७२, आईतवार १०:५६