काठ तस्करीमा प्रहरी नै संलग्न

नौ महिनामा ४९ जना पक्राउ, १२ सय क्यूफीट काठ बरामद, रात्री गस्ती सुरु

सुर्खेत, २१ चैत ।
लामो प्रयासपछि काठ तस्करीमा संलग्न एक गिरोहलाई स्थानीयले पक्राउ गरेका छन् । ट्रकमा अवैध काठ वीरेन्द्रनगरतर्फ ल्याउँदै गर्दा आइतवार राती उक्त गिरोहलाई पक्राउ गरिएको हो । धेरै दिनको प्रयासपछि काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका सहायक हवलदारसहित चार जना पक्राउ परेका हुन् ।
ठूलो मात्रामा काठसहित प्रहरी नै रंगेहात पक्राउ परेपछि तस्करको जालो ठूलै हुनसक्ने वन कर्मचारीले आशंका गरेका हुन् । आइतवार राती काठसहित पञ्चपुरी नगरपालिका–स्थित पलैंटेबाट ठूलो मात्रामा काठसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरीको महेश्वरी बाहिनीमा कार्यरत सुर्खेत लेखगाउँ घर भएका सहायक हवलदार गगनबहादुर शाही पनि छन् । उनको नेतृत्वमा रहेको गिरोहलाई स्थानीयको सक्रियतामा मध्यरातमा पक्राउ गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार सहायक हवलदार शाही घरमा अत्यावश्यक काम परेको भन्दै बिदामा गएका थिए । घर बिदामा गएका उनी अवैध काठसहित पक्राउ परेका हुन् । उनीसँगै आजेशवबहादुर शाही, नेटक घर्ती र चित्रबहादुर लामिछाने पनि पक्राउ परेका छन् । लामो समयदेखि काठ तस्करीमा संलग्न गिरोहलाई सालकोटका युवाहरूले पछ्याउँदै आएका थिए । सोही क्रममा ना ५ ख ५५३७ नम्बरको मिनी ट्रकमा काठ वीरेन्द्रनगरतर्फ ल्याउँदै गर्दा राती १२ बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमा राखिएको र ५७ क्यूफीट चिरान काठ बरामद गरिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको भन्दै कार्यालयले प्रहरी नै तस्करीमा संलग्न भएको घटनाले थप चुनौती थपिएको उल्लेख गरेको छ ।
चोरी कार्य नियन्त्रण र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी बोकेका प्रहरी नै तस्करीमा संलग्न हुनुले पनि तस्करको जालो ठूलै हुने अनुमान वन कर्मचारीको छ । यो घटनाले प्रहरी संगठनको गरिमामा आँच आएको भन्दै सशस्त्र प्रहरीले पक्राउ परेका सहायक हवलदार शाहीलाई तत्काल जागिरबाट बर्खास्त गरिने जनाएको छ । महेश्वरी बाहिनीका डीआईजी बसन्त बानियाँले भने, ‘यो घटनाले हामीलाई दुखी बनाएको छ, संगठनभित्र धेरै सोचका मान्छेहरू हुन्छन् । हामी तत्काल उसलाई निलम्बन गर्नेछौं, रक्षक हुनुपर्नेमा आफै गलत काम गर्नेलाई बर्खास्त गरिनेछ ।’ प्रादेशिक राजधानीको चर्चासँगै वीरेन्द्रनगरमा नयाँ घर निर्माणको क्रम तीव्र बनेको छ । योसँगै काठ तस्करी पनि बढेको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए । उनले भने, ‘घर निर्माणको क्रम तीव्र बनेको छ, हामीले आपूर्तिमार्फत् पनि काठ वितरण गरिरहेका छौं, तर मान्छेहरू सित्तैमा काठ प्रयोग गर्न तस्करी गर्छन् ।’
जिल्लामा काठ तस्करी नियन्त्रण गर्न भन्दै वन कर्मचारीले पछिल्लो समयमा रात्री गस्तीलाई तीव्रता दिएका छन् । यो आर्थिक वर्षको चैतसम्ममा काठ तस्करीमा संलग्न ४९ जना पक्राउ परेका छन् । वन कार्यालयका अनुसार पछिल्लो नौ महिनाको अवधिमा उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइएको छ । यस्तै यो अवधिमा तस्करबाट एक हजार दुई सय ३२ क्यूफीट काठ बरामद भएको छ ।
उक्त काठको न्यूनतम बजार मूल्य करिब ३० लाख हुने कार्यालयको भनाइ छ । तस्करहरूले भरियाको रूपमा महिलाहरूलाई प्रयोग गर्दै आएका छन् । जसले गर्दा महिलाहरू बढी पक्राउ पर्ने गरेका छन् । रातको समयमा विभिन्न नाकाबाट काठ वीरेन्द्रनगर भित्रिने गरेपछि वन कर्मचारीले पनि रातभर नाकामा जाग्राम बस्दै आएका छन् । यसले पनि तस्करहरू पक्राउ पर्ने क्रम बढेको जिल्ला वन अधिकृत विष्टको
भनाइ छ । वन संरक्षण र चोरी
निकासी नियन्त्रणका लागि कार्यालयले गस्तीलाई थप वृद्धि गर्ने तयारी गरेको छ ।
यो आर्थिक वर्षमा आइतवार राती सबैभन्दा बढी काठ बरामद भएको वन कार्यालयको भनाइ छ । सुरक्षा निकायमा रहेका व्यक्तिहरू नै तस्करीमा संलग्न भएको यो घटनाले तस्करी नियन्त्रणमा चुनौती थपिएको भन्दै कार्यालयले अब स्थानीय बासिन्दा र सामुदायिक वनका पदाधिकारीहरू सचेत हुनुपर्ने उल्लेख गरेको छ । तस्करी रोक्न पहिलाको भन्दा बढी मात्रामा आफूहरूले आपूर्तिमार्फत् काठको कोटा बढाएर वितरण गरिरहेको वन कार्यालयले जानकारी दिएको छ । आफूहरूले गस्ती बढाएका कारण पनि तस्करहरू बढी पक्राउ परेको हुनसक्ने भन्दै वन अधिकृत विष्टले अब आफूहरूको ध्यान भरियामा भन्दा पनि तस्करका नाइकेसम्म पुग्ने रहेको जनाए । तस्करको जालो तोडेरै छाड्ने उनको दाबी छ ।

प्रकाशित मितिः   २२ चैत्र २०७३, मंगलवार १५:००