चौकुने गाउँपालिकाका चुनौती र सम्भावना

सुर्खेत जिल्लाको सदूरपश्चिममा पर्ने क्षेत्र लगाम, बेतान, बिजौरा, गुटु र घाटगाउँ गाउँविकास समिति मिलेर बनेको नयाँ संरचना नै चौकुने गाउँपालिका हो । पश्चिममा कर्णाली नदी, पारी डोटी, उत्तरपश्चिममा डोटी र अछाम जिल्ला छुट्याउने सेती र कर्णाली दोभान छ । जुन अछाम र डोटीको वारिपारि छ । त्यसैगरी दक्षिणमा कैलाली जिल्ला पर्दछ भने पूर्वमा पञ्चपुरी नगरपालिकाभित्रको साविकको विद्यापुर गाविसले छोएको छ ।
भौगोलिक स्थिति र जनसंख्या

सरकारले झण्डै ६ दशकपछि स्थानीय निकायलाई स्थानीय तहमा रूपान्तरण गरेपछि सुर्खेतमा ५ वटा नगरपालिका र ४ वटा गाउँपालिका कायम गरेको छ । जसमध्येको एउटा प्रमुख गाउँपालिका चौकुने हो । यस गाउँपालिकामा २५ हजार २ सय ४० जनसंख्या छ । चौकुने गाउँपालिका क्षेत्रफलका हिसाबले सुर्खेतको दोस्रो ठूलो गाउँपालिका रहेको छ । जसको क्षेत्रफल ३८१.०१ वर्ग किलोमिटर रहेको छ । १० वटा वडामा विभाजन गरिएको चौकुने गाउँपालिका साविकको लगाम गाविसमा ३,४,५ र ६ वडा मिलेर चौकुने वडा नं. १, त्यसैगरी १, २ ७, ८ र ९ मिलाई २, सिंगो बेतान गाविसलाई ३, बिजौरा १,२,७,८ र ९ लाई ४ नम्बर वडा कायम गरिएको छ । त्यसैगरी बिजौरा ३,४,५ र ६ लाई वडा नम्बर ५ वडा, गुटु १ देखि ४ लाई ६, गुटु ५,६, र ७ लाई ७, गुटु ८ र ९ लाई ८, घाटगाउँ ५,७ र ८ लाई वडा नम्बर ९ र घाटगाउँ १,२,३,४ र ६ लाई १० नम्बर वडा मानेर विभाजन गरिएको छ ।

जनसंख्याका हिसाबले चौकुने १ मा २०४३, २ मा १७६८, ३ मा ३०८७, वडा नम्बर ४ मा २९४९, वडा नम्बर ५ मा २४८९, ६ मा २२५८, ७ मा ३१३६, ८ मा २२४६, ९ मा २३१२ र १० मा ३६९२ गरी जम्मा २५ हजार दुई सय ४० जनसंख्या रहेको छ । त्यसैगरी चौकुने गाउँपालिकाको प्रत्येक वडाको क्षेत्रफल वर्ग किलोमिटर यस प्रकार छ । वडा नम्बर १ को क्षेत्रफल ७१.१४ वर्गकिलोमिटर, २ वडा ४४.३९, ३ वडा ७२.५१, ४ वडा ३८.२४, ५ वडा ३६.३६, ६ वडा ४५.०८, ७ वडा १०.१२, ८ वडा ९.७७, ९ वडा २४.३१ र १० वडाको क्षेत्रफल २९.०९ वर्गकिलोमिटर रहेको छ ।
उल्लेखित तथ्यांकले चौकुने गाउँपालिकाको बारेमा जानकारी दिइ दीर्घकालीन योजना बनाउन सहयोग पुग्नेछ । भौगोलिक हिसाबले थोरै मात्र समथर भू–भाग रहेको यो गाउँपालिका पहाड, भिरालो र अप्ठ्यारो भू–भाग मिलि बनेको छ । त्यसैले गर्दा यस गाउँपालिकाको समग्र क्षेत्रको विकास गर्न केही कठिनाइ देखिन्छ । यहाँको भौगोलिक भू–बनावट, सुख्खा जमिन, सिँचाइको अभाव छ । विकास निर्माणको कार्यमा यो क्षेत्र निकै पछि परेको देखिन्छ । भौतिक पूर्वाधार निर्माण, विकास, बाटो, सडक, पूल पूलेसाका हिसाबले पनि ज्यादै पछि परेको गाउँपालिका हो, यो । १२ महिना निरन्तर सवारी साधन चल्न नसक्ने अवस्थामा यहाँको सडक रहेकोले अन्य विकासका आयोजनाहरूको विकास हुन सकेको छैन । यस गाउँपालिकाको चारैतिर नदीनाला र खोलाले बेरिएकोले बाहिर जान पुलको ज्यादै आवश्यकता छ । अझै पनि प्रत्येक ठाउँमा मनिसहरू ढुंगा चढेर नदी पार गर्नुपर्ने अवस्था रहेको छ ।

गरिबी, अशिक्षा र बरोजगारी, चेतनाको अभाव र रुढीवादी सोचका कारण यहाँको जनसंख्या बृद्धिदर धेरै छ । एउटा पनि उच्च शिक्षा हाँसिल गर्ने क्याम्पस नभएको यस गाउँपालिकामा जम्मा ६ वटा उमावि रहेका छन् । ५ वटा स्वास्थ्य सस्था छन् । त्यसैगरी एउटा पनि कृषि सेवा केन्द्र नरहेको यहाँ एटा मात्र पशु सेवा केन्द्र रहेको छ । ज्यादै पछि परेको चौकुने गाउँपालिकामा एउटा पनि इलाका वन र रेन्जरपोष्ट कार्यालय छैन ।
कालोपत्रे सडकले छुन नसकेको यहाँको सडक स्थिति जम्मा २२ किलोमिटर ग्राभेल र २५ किलोमिटर कच्ची छ । तसर्थ चौकुने गाउँपालिकाको विकास गर्न सर्वप्रथम त सडकको सुधार गर्नैपर्ने आवश्यकता छ । गाउँपालिकाका प्रत्येक वडा र टोलमा सहज सडक सञ्जालको विकास गर्न एकदम आवश्यक छ । उच्च शिक्षाको लागि यथाशीघ्र शैक्षिक अवस्थाको सुधार गर्न जरुरी छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा यहाँ निकै समस्या छ, भनेको बेला स्वास्थ्य चौकीमा औषधि नपाइने, योग्य डक्टर र कर्मचारी एक जना पनि नभएको यस गाउँपालिकामा यथाशीघ्र सुविधा सम्पन्न अस्पतालको स्थापना गरी उपचार नपाई अकालमा नै ज्यान गुमाउनुपर्ने यहाँका नागरिकको बाध्यता छ, त्यो हटाउन जरुरी छ ।

पर्यटकीय सम्भावना

पर्यटीकय र रमणीय क्षेत्रले भरिएको चौकुने यहाँको विकासको अर्को महŒवपूर्ण पक्ष हो । यस क्षेत्रको विकासको लागि त्यहाँ रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धन गर्न आवश्यक छ । चौकुनेका प्रमुख पर्यटकीय ठाउँहरू डोटी, सुर्खेत र अछामको सीमा छुट्याउने सेती र कर्णालीको संगम विन्दु दोभान र जहाँ अवस्थित पवित्र धार्मिक स्थल विनिघाट धनरासको पूरानो भग्नावशेष कोटदरबार, धनरासको धनराख्ने गुफा, बेलखोलीको झरना, धुराडाँडा, विनरास जहाँ रहेका लालीगुराँस, घाटगाउँको भेरी–कर्णाली संगमस्थल र पवित्र धार्मिम मन्दिर, बिजौराको लेक रेक्चा पून्माडाँडा, गुटुको चौकुने डाँडा र चौकुने सिमेन्ट खानी, त्यसैगरी जल पर्यटन, विजिघाटदेखि घाटगाउँसम्म ¥याफ्टिङको प्रवद्र्धन गर्न सकेमा यस क्षेत्रको विकास हुने धेरै सम्भावना रहेको छ । बेलाको सुनपाल ताल, गैलुको एतिहासिक धारा जस्ता थुप्रै पर्यटकीय सम्भावना रहेका छन् ।

सम्भावनाको खानी
सबैभन्दा विकासमा र सडक सञ्जालमा पछि परेको चौकुने गाउँपालिका सम्भावना नै सम्भावनाले भरिएको छ । गुटुदेखि धनरास विनिघाटसम्म सडक संजालले जोड्न सकेमा यस गाउँपालिकाको मुहार नै फेरिने छ । विनिघाटबाट अछाम, डोटी जोड्न सकेको खण्डमा अछाम र डोटीका नागरिक छोटो दूरीमा यहीं बाटो यात्रा गर्ने धेरै सम्भावना छ । त्यसैगरी कैलाली घाटगाउँ गुटु हुँदै अछाम जंगलघाट बाटो जोड्न सकेमा हामी तराईको कैलालीसँग सिधा जोडिने हो । त्यसैगरी सेती लोकमार्ग बौनियाँ हुँदै बोला जोड्न सकेको खण्डमा यहाँको चौतफी विकास हुनेथियो ।
दिनरात सलल बगिरहने कर्णाली र भेरी नदीको पानीलाई उचित तरिकाले लिफ्ट सिँचाइको व्यवस्था गरी उर्वर भूमिलाई सिँचित गर्न सकिने सम्भावना पनि छ । चौकुने गाउँपालिकामा जल विद्युतको सम्भवना पनि धेरै छ । लगामको बेतखोलीमा निकाल्न लागिएको विद्युत, बेतानमा धेरै सम्भावना रहेको जलविद्युत त्यसैगरी विजौरा खोला गुटु, खोलामा जल विद्युत निकाल्न सकिने सम्भावना ज्यादा रहेको छ । त्यसैगरी फलफूलका लागि काप्रिकाँडा, जारिमे, सुन्तला, लगाम, बोला, गुटुका आँप, घाटगाउँका बदाम, लिची लगायत अन्य फलफूल तथा तरकारीका लागि पकट क्षेत्र घोषणा गरी अगाडि बढ्न सकिने सम्भावना छ ।

यो क्षेत्र पशुपालनका लागि अत्याधिक सम्भावना भएको क्षेत्र हो । प्रसस्त मात्रामा रहेको जंगलको सही तरिकाले सदुपयोग गर्न सकेको खण्डमा व्यावसायिक तरिकाले पशुपालन गरी यहाँका जनताले मनग्य आम्दानी गरी स्वावलम्बी वन्नसक्ने छन् । त्यसैगरी चौकुने क्षेत्र जडिबुटीका लागि पनि प्रसिद्ध क्षेत्र हो । यहाँ टिमुर, अमला, हर्रो, बर्रो, सुन्तला, कागती, अमिलो, अदुवा जस्ता थुपै्र जडिबुटी संकलन तथा प्रशोधन गर्न सकेमा यस क्षेत्रका जनताको आर्थिकस्तर माथि उस्किनेछ । यस क्षेत्रमा प्रशस्त मात्रामा पाइने ढुंगाको पत्थर, चुनढुंगाले भरिएको खानी यथाशीघ्र सुचारु गर्न सकेको खण्डमा यस क्षेत्रका धेरै मानिसले रोजगारी पाउने र विदेशीनु पर्ने माध्यता हटी यहाँको आर्थिक अवस्थामा आमूल परिवर्र्तन आउनेछ । तर यी सबै उपलब्धि हाँसिल गर्नका लागि सक्षम नेतृत्वको खाँचो छ । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा चौकनेवासीले विकास र समृद्धिको सपना, योजना र दृढसंकल्प भएको नेतृत्व चयन गर्न सकेको खण्डमा अहिले विकासमा पछि परेको चौकुने केही वर्षभित्र समृद्ध बन्न सक्नेछ ।

प्रकाशित मितिः   २३ चैत्र २०७३, बुधबार ११:३०