आगलागीबारे अनुसन्धान गर्न माग

सुर्खेत, २१ चैत ।
बराहताल गाउँपालिका वडा नम्बर ८ भट्टेघारीमा भइरहेको अगलागीको घटनाको छानविन गर्न स्थानयीबासीले प्रशासनसँग माग गरेका छन् । पटक–पटक आगलागीको घटना भइ लाखौंको क्षति हुँदा पनि प्रशासनले बेवास्ता गरेको भन्दै घटनाको अनुसन्धानका लागि प्राविधिक टोली पठाउन उनीहरूले माग गरेका हुन् ।
गत पुस १४ देखि यता पटक–पटक गरी भट्टेघारीका २५ घरधुरीमा आगलागी भएको छ । जसबाट २० लाखभन्दा बढीको क्षति भइसक्दा पनि प्रशासनले ध्यान नदिएको भन्दै स्थानीयले संघर्ष समिति समेत गठन गरेका छन् । उक्त संघर्ष समितिले सोमवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई भेटेर ध्यानाकर्षण समेत गराएको छ ।
घटना हुन लागेको दुई महिना बितिसक्दा पनि आगलागीको एकीन कारण खुल्न नसकेको र प्रशासनले समेत अनुसन्धान गर्न आनाकानी गरेको आरोप संघर्ष समितिका संयोजक गणेश हमालले लगाए । उनले निरन्तर रूपमा अचानक घर, गोठ, शौचालय लगायतमा आगलागी हुँदा दुई महिनादेखि स्थानीयवासी त्रासपूर्ण अवस्थमा बस्न बाध्य भएको बताए ।
तत्काल घटनाको अनुसन्धान गरी समस्या समाधानका लागि पहल गरिदिन स्थानीयले प्रशासनसँग माग गरेका छन् । साथै हालसम्म भएको क्षतिको मूल्यांकन गरी राहत वा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग समेत स्थानीयको छ । संघर्ष समितिका संयोजक हमालका अनुसार हालसम्म ११ परिवारको घर, गोठ, शौचालय लगायत सबै पूर्ण रूपमा क्षति भएको छ भने अरु १४ परिवारको आंशिक क्षति भएको छ । यस्तै बराहताल गाउँपालिका वडा नम्बर ५ र ८ को संयुक्त कार्यालयले पनि आगलागी पीडितलाई राहत उपलब्ध गराउनका लागि सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मितिः   २२ चैत्र २०७३, मंगलवार १४:४७