जिल्ला लिग वैशाखमा हुने
सुर्खेत, २१ चैत ।
सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा वर्षेनी हुँदै आएको जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता सुर्खेतमा आउँदो वैशाख ५ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता आयोजना हुन लागेको हो । कम्तीमा १० टीमको सहभागिता रहने प्रतियोगिताको पहिलो चरण लिग तथा दोस्रो चरण नकआउटका आधारमा खेलाइने संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । लिग बिजेता टोलीले बढुवाका लागि क्षेत्रीयस्तरको छनौट प्रतियोगिता पनि खेल्न पाउने भएकाले यस वर्षको प्रतियोगिता क्लब तथा खेलाडी दुवैका लागि महŒवपूर्ण रहेको उनले बताए ।
सुर्खेतमा फुटबलप्रति दर्शकको आकर्षण तथा खेलाडीहरूको मनोबल बढाउनका लागि यस वर्ष पनि सेमिफाइनल चरणबाट टिकट प्रणाली लागू गर्ने योजना बनाइएको महासचिव कार्कीको भनाइ छ । प्रतियोगितामा सहभागिताका लागि चैत मसान्तसम्म क्लब नवीकरण तथा टीम दर्ताको लागि समयसीमा निर्धारण गरिएको छ । यसैबीच, एन्फा एकेडेमीका लागि १४ वर्षमुनीका खेलाडीको छनौट पनि यही चैत २४ र २५ गते गर्न लागिएको महासचिव कार्कीले जानकारी दिएका छन ।
छनौटमा सहभागी हुन चाहने १४ वर्षमुनीका खेलाडीले चैत २४ र २५ गते बिहान ७ बजे तथा बेलुकी ५ बजे स्थानीय रंगशालामा उपस्थित भइ आफ्नो क्षमता देखाउनुपर्नेछ । जिल्लाबाट छनौट हुने उत्कृष्ट खेलाडीले क्षेत्रीय र त्यसपछि राष्ट्रियस्तरको छनौट चरण पार गरे उनीहरूको खान, बस्न, पढाइ र फुटबल प्रशिक्षणको सम्पूर्ण बन्दोबस्त एन्फाले नै गर्ने महासचिव कार्कीको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।