सरुवा रोग अस्पताल

छिञ्चुमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १२ छिञ्चुमा ५० शैय्याको सरुवा रोग अस्पताल निर्माण गर्न लागिएको हो । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न सरुवा अस्पताल बनाउने नीति अनुरूप यहाँ अस्पताल बनाउन लागिएको हो । चार वर्षअघिदेखि नै अस्पताल निर्माणको चर्चा सुरु भएपनि यो वर्षदेखि कामले पूर्णता पाएको छ । अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षबाट सम्झौता भइ काम अघि बढेको हो । २०८१ साउन १२ गते चक्रेश्वर, कुशेश्वर र सी.एल निर्माण कम्पनी काठमाडौंसँग ठेक्का सम्झौता गरिएको छ । २०८३ साउनमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । २७ करोडमा अस्पताल निर्माणका लागि सम्झौता गरिएको हो ।

गत आर्थिक वर्षबाट अस्पताल निर्माणको काम सुरु गर्ने भनिएपनि काम अघि बढ्न सकेको थिएन । सरकारले अस्पताल निर्माणका लागि चार वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पाँच करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष काम भएन । आर्थिक वर्ष २०७९÷०८० मा सरकारले पाँच करोड नै बजेट विनियोजन ग¥यो । तर जग्गा प्राप्ति र ईआइए स्वीकृत नहुँदा काम हुन सकेको थिएन । त्यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा पनि पाँच करोड नै बजेट विनियोजन गरेको थियो । उक्त वर्ष पनि काम हुन सकेन । गत वर्षनै जग्गा प्राप्ति र ईआइए स्वीकृत भएको थियो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि सोही हाराहारीमा संघीय सरकारले बजेट विनियोजन गरेको छ । यो वर्ष अस्पताल निर्माणको बहुवर्षिय ठेक्का प्रक्रियामार्फत् काम थालिएको छ । यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) सम्पन्न गरिसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २० करोडको लागत अनुमान छ । २७ करोडमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा पाँच÷पाँच करोड बजेट विनियोजन गर्ने गरेको छ । बर्सेनि रूपमा बजेट विनियोजन गर्नेगरेको भएपनि यो वर्षबाट मात्र काम सुरु भएको हो । निर्माण कम्पनीले छिट्टै काम सुरु गर्ने बताएको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । २०७९ असार २ गते बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताल निर्माणका लागि जग्गा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र वन विभागसँग २०७९ फागुन १५ गते सम्झौता भयो । सम्झौता अनुसार राष्ट्रिय वनको चार दशमलव नौ हेक्टर क्षेत्रफलमा अस्पताल बनाउन अनुमति दिइएको छ ।

प्रकाशित मितिः   २१ श्रावण २०८१, सोमबार ०५:०३