आधुनिक सहर
पूर्वी सुर्खेतको भेरीगंगा नयाँ सहरको रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगंगा उपत्यकालाई नयाँ सहरको रूपमा अगाडि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारीरूपमा अगाडि बढ्न भने सकेको थिएन । गत आर्थिक वर्ष २०८०÷०८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भएपनि काम भने गतवर्षबाट मात्र सुरु भएको हो ।
गुर्भाकोट नगरपालिका वडा नं. ८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । गत वर्षबाट कार्यालय स्थापना गरेर पूर्वाधार निर्माणको काम सुरु गरिएको हो । अहिले धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चुमा हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ८० दशमलव ७५ प्रतिशत काम सकिएको छ । अब करिब २० प्रतिशत मात्र काम बाँकी छ । २०८० चैतमा ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । हाटबजार निर्माणका लागि एक करोडमा ठेक्का सम्झौता भएको हो । यसैगरी भेरीगंगा नगरपालिका वडा नं. ९ मा बसपार्क निर्माणको काम सुरु भएको छ । हालसम्म बसपार्क निर्माणको ५७ दशमलव ४२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । २०८० चैतमा ठेक्का सम्झौता भइ २०८१ असार मसान्तसम्म निर्माण सम्पन्नगर्नुपर्ने भएपनि काम भने सकिएको छैन । गुर्भाकोट नगरपालिका वडा नं. ८ खटाङ्गमा मन्दिर निर्माणको काम सुरु गरिएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम थालिएको हो । २०८० चैतदेखि २०८१ असारमसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । अहिलेसम्म कम्पाउन्ड वाल, घेरबार, सडक निर्माणलगायतका काम भएका छन् ।
यस्तै, भेरीगंगा नगरपालिका वडा नं. ६ मा कसेरा टोल र बसेरा टोल जोड्ने सडक निर्माण सुरु गएिको छ । एक करोड लागतमा सडक निर्माण हुनेछ । हालसम्म ६१ दशमलव दश प्रतिशत सडक निर्माणको काम सम्पन्न भएको छ । बहुवर्षीय ठेक्कामार्फत् भेरीगंगा नगरपालिका वडा नं. १२ मा कभर्ड हल निर्माण भइरहेको छ । अहिलेसम्म ४२ दशमलव ६१ प्रतिशत काम सकिएको छ । यि त केही उदाहरण हुन् । आधुनिक सहर योजनाअन्तर्गतका पूर्वाधार विकासले तीव्रता पाएको छ ।
प्रकाशित मितिः १८ श्रावण २०८१, शुक्रबार ०५:०३
सम्पादकीय ।