सहरी करिडोर
नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी करिडोरको विकास रणनीति तयार भएको छ । करिब दुई वर्ष लगाएर सहरी करिडोरको विकास रणनीति तयार पारिएको सहरी करिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालाहरूसँग दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले जनाएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबीच सहज पहुँच स्थापित गर्न सहरी करिडोर निर्माण गर्न लागिएको हो । हालसम्म सहर केन्द्रित गरेर पूर्वाधार विकास भए तर पछिल्लो समय जनसंख्या वृद्धिसँगै सहर आसपासका सडकमा बसोबास बढ्दै गएको छ । सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी करिडोरको काम अघि बढाइनु सकारात्मक देखिन्छ ।
सहरी करिडोर रणनीतिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ । सहर निर्माण हुनु भनेको रोजगारीको अवसर पनि बढ्नु हो । सहरमा बस्नेहरूको जीवनस्तरमा सुधार आएमा राष्ट्रिय आयमा समेत वृद्धि हुन्छ । सहरीकरणले मुलुकको आर्थिक वृद्धि दरसमेत बढाउने गर्दछ । सरकारले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा तीन सहर जोड्ने करिडोरको लागि एकीकृत विकास रणनीति तयार पा¥यो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा दश वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिने आयोजनाले जनाएको छ । प्रि–फिजिविलिटी अध्ययनले ५० योजनाको सूची तयार पारेको छ । तर, यो वर्ष मुख्य दश वटा आयोजनाको डीपीआर निर्माण गरी आउँदो वर्षबाट आयोजना निर्माणको काम थालिनेछ । तीन वटा सहर जोडेर सहरी करिडोर विकास गर्न लागिएको हो । सहर आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठूलो चुनौती हुने देखिएपछि सहरी करिडोरको अवधारणा अघि सारिएको छ ।
सहरी करिडोर आयोजनाले दुई वर्ष लगाएर प्रि–फिजिविलिटी अध्ययन गरेको हो । एक घण्टाको दुरीमा रहेका साना सहरहरूलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भनेर अध्ययन गरिएको छ । अध्ययनले ५० योजनाको सूची तयार पारको छ । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलगायतको अध्ययन गरिएको आयोजनाले जनाएको छ । अहिले प्रि–फिजिविलिटी अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा पुगेको छ । सहरीकरणको उचित व्यवस्थापनका लागि करिडोरको अवधारणा सफल हुन सक्दछ । किनभने सहरी क्षेत्रमा तीव्रगतिमा सहरीकरण भइरहेको छ । अहिले नै यसको उचित व्यवस्थापन नगर्ने हो भने दीर्घकालीन रूपमा निकै ठूलो समस्या आउनेछ ।
प्रकाशित मितिः १७ श्रावण २०८१, बिहीबार ०५:०३
सम्पादकीय ।