आधुनिक सहर बन्ने तर्खरमा भेरीगंगा

 

सुर्खेत: पूर्वी सुर्खेतको भेरीगंगा नयाँ सहरको रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् ।

भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगंगा उपत्यकालाई नयाँ सहरको रूपमा अगाडि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारीरूपमा अगाडि बढ्न भने सकेको थिएन । गत आर्थिक वर्ष २०८०/०८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भएपनि काम भने गतवर्षबाट मात्र सुरु भएको हो ।

गुर्भाकोट नगरपालिका वडा नं. ८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । गत वर्षबाट कार्यालय स्थापना गरेर पूर्वाधार निर्माणको काम सुरु गरिएको आयोजना प्रमुख हेमन्त काफ्लेले बताए । उनका अनुसार अहिले धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चुमा हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ८० दशमलव ७५ प्रतिशत काम सकिएको आयोजनाका सव–इन्जिनियर महेश खड्काले बताए । अब करिब २० प्रतिशत मात्र काम बाँकी छ । २०८० चैतमा ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । २०८१ असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि अझै काम बाँकी छ । हाटबजार निर्माणका लागि एक करोडमा ठेक्का सम्झौता भएको हो ।

यसैगरी भेरीगंगा नगरपालिका वडा नं. ९ मा बसपार्क निर्माणको काम सुरु भएको छ । हालसम्म बसपार्क निर्माणको ५७ दशमलव ४२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । उक्त योजनाको दुई करोडमा ठेक्का सम्झौता भएको हो । २०८० चैतमा ठेक्का सम्झौता भइ २०८१ असार मसान्तसम्म निर्माण सम्पन्नगर्नुपर्ने भएपनि काम भने सकिएको छैन ।

गुर्भाकोट नगरपालिका वडा नं. ८ खटाङ्गमा मन्दिर निर्माणको काम सुरु गरिएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम थालिएको हो । २०८० चैतदेखि २०८१ असारमसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । अहिलेसम्म कम्पाउन्ड वाल, घेरबार, सडक निर्माणलगायतका काम भएका छन् । विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको सव–इन्जिनियर खड्काले बताए । मन्दिर निर्माणको ६९ दशमलव ४२ प्रतिशत काम सकिएको छ । यस्तै, भेरीगंगा नगरपालिका वडा नं. ६ मा कसेरा टोल र बसेरा टोल जोड्ने सडक निर्माण सुरु गएिको छ । एक करोड लागतमा सडक निर्माण हुनेछ । हालसम्म ६१ दशमलव दश प्रतिशत सडक निर्माणको काम सम्पन्न भएको छ । बहुवर्षीय ठेक्कामार्फत् भेरीगंगा नगरपालिका वडा नं. १२ मा कभर्ड हल निर्माण भइरहेको छ । अहिलेसम्म ४२ दशमलव ६१ प्रतिशत काम सकिएको छ ।

यसैगरी भेरीगंगा नगरपालिका वडा नं. १० बराहडाँडा मन्दिर पूर्वाधार निर्माणको काम भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत् पूर्वाधार निर्माणको काम थालिएको छ । एक करोडमा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाखमा ठेक्का सम्झौता गरिएको थियो । २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि अझै काम सकिएको छैन । गत आर्थिक वर्ष २०८०/०८१ मा ६ वटा योजना सञ्चालन गरिएको आयोजनाले जनाएको छ । जसमध्ये दुई वटा बहुवर्षीय र चार वटा एकवर्षमा सम्पन्न गर्नुपर्ने योजना रहेका थिए । आयोजना प्रमुख काफ्लेले बसपार्क निर्माण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सहरी सडक निर्माणलगायतका कार्य भइरहेको जानकारी दिए । उनले भने, ‘ठेक्का अवधि छोटो भयो, म्याद थप गरेर निर्माणको काम अघि बढाउँछौँ ।’

 

तीन वटा नयाँ ठेक्का सम्झौता हुने

चालु आर्थिक वर्षमा तीन वटा ठूला योजना सञ्चालन हुने भएका छन् । गुर्भाकोट नगरपालिका वडा नं. १२ मा आयोजनाको भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षबाट भवन निर्माणको काम थालिने आयोजना प्रमुख हेमन्त काफ्लेले बताए । भवन निर्माणका लागि तीन करोड बजेट विनियोजन भएको छ ।

यसैगरी भेरीगंगा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधार निर्माण गरिने भएको छ । उक्त योजना निर्माणका लागि चालु आर्थिक वर्षमा तीन÷तीन करोड बजेट विनियोजन भएको आयोजना प्रमुख काफ्लेले बताए । यो वर्ष नै ठेक्का सम्झौता गरेर काम अघि बढाइनेछ ।

 

‘स्मार्ट सिटी’को गुरुयोजना बनाइँदै

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना यो वर्ष मात्र कार्यान्वयन हुने भएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा काम सुरु हुन नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई जोड्नेगरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको यो वर्षदेखि काम सुरु गरिने आयोजनाका सूचना अधिकारीविना चाकतुले बताइन् ।

नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रहरूलाई समेटेर गुरुयोजनाको काम गर्नेछ । गत आर्थिक वर्ष २०८०/०८१ मा बजेटको स्रोत सुनिश्चितता हुनसकेको थिएन । चालु आर्थिक वर्ष २०८१/०८२ मा गुरुयोजना निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । तर, तीन करोड ५० लाख बजेट स्रोत सुनिश्तिताको लागि पठाइएको सूचना अधिकारी चाकतुले बताइन् । उनले भनिन, ‘गतवर्ष बजेटको स्रोत सुनिश्तिता नहुँदा काम हुन सकेन, यो वर्ष सुरुमै फाइल पठाएका छौँ ।’ आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार हुनेछ । त्यसपछि भने गुरुयोजनाअनुसार काम थालिने जनाइएको छ । यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसंख्या आदिको आधारमा सहरको गुरुयोजना एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको हो ।

 

 

 

प्रकाशित मितिः   १७ श्रावण २०८१, बिहीबार ११:३७