विपद्प्रति वेवास्ता
पछिल्लो दुई साताको अवधिमा मात्रै कर्णाली प्रदेशमा प्राकृतिक विपद्बाट सात जनाले ज्यान गुमाएका छन् । गत २८ जेठयता विपद्का घटनाबाट देशभर एक सय ३१ जनाको मृत्यु हुँदा कर्णालीमा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायतका विपद्मा परेर ठूलो संख्यामा मानवीय क्षति भएको छ । यस्तो क्षति हरेक वर्षको वर्षात्को समयमा हुने गरेको छ । मानवीय क्षतिका साथसाथै ठूलो मात्रामा भौतिक क्षति हुँदै आएको छ । बाढी, पहिरो, चट्याङलगायतका विपद्ले बर्सेनि सताउँछ । केही वर्षको तथ्यांक हेर्ने हो भने कर्णाली प्रदेशमा प्राकृतिक विपद्को अवस्था भयावह देखिन्छ । हरेक वर्ष मानिसहरूले ज्यान गुमाइरहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशभर आठ सय ८२ वटा प्राकृतिक विपद्का घटना भएका थिए । त्यसको अर्को वर्ष २० वटा घटना बढे । अर्थात्, आर्थिक वर्ष २०७६/०७७ मा नौ सय दुई वटा घटना भए । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा भने कर्णालीमा प्राकृतिक विपद्का घटनामा कमी आयो । यो वर्ष चार सय १६ विपद्का घटना भएको तथ्यांकले देखाउँछ । जसमा ८८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा फेरि विपद् बढेर एक हजार नाघ्यो । उक्त वर्ष प्रदेशभर एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए भने ६८ जना नागरिकले अनाहकमै मृत्युवरण गर्नुप¥यो । आर्थिक वर्ष २०७९÷०८० मा त प्राकृतिक विपद्का घटनाको संख्या करिब दोब्बरले बढेर दुई हजार दुई सय १४ पुग्यो । विपद्का घटना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेर ७२ जना पुगेको थियो । गएको आर्थिक वर्ष २०८०/०८१ मा भने सात सय ३३ विपद्का घटना प्रदेशभर भएको तथ्यांक कर्णाली प्रदेश प्रहरी कार्यालयको छ । तर विपद्का घटना घट्दा त्यसमा ज्यान गुमाउने नागरिकको संख्या बढेको छ । प्रहरीकाअनुसार गत वर्ष यस्ता घटनामा परेर एक सय ९४ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको देखिन्छ । मानिसको ज्यान लानेगरी हुने अधिकांश विपद्का घटना वर्षात्को समयमा हुने गरेका छन् । मनसुन लागेसँगै बाढी, पहिरो, चट्याङलगायतका घटनाले धेरै क्षति गर्ने गरेको छ । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्राकृतिक विपदले मानवीय क्षति बढाए पनि राज्यका निकायहरू भने अझै गम्भिर बनेका छैनन् । जोखिम न्यूनीकरण र विपद् पूर्वतयारीमा ध्यान दिएका छैनन् । विपदपछिको पुनस्र्थापनामा समेत लापरबाही हुने गरेको छ ।
प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार ०५:०३
सम्पादकीय ।