ज्यान लाने वर्षात्
सुर्खेत: पछिल्लो दुई साताको अवधिमा मात्रै कर्णाली प्रदेशमा प्राकृतिक विपद्बाट सात जनाले ज्यान गुमाएका छन् । गत २८ जेठयता विपद्का घटनाबाट देशभर एक सय ३१ जनाको मृत्यु हुँदा कर्णालीमा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायतका विपद्मा परेर ठूलो संख्यामा मानवीय क्षति भएको छ । यस्तो क्षति हरेक वर्षको वर्षात्को समयमा हुने गरेको छ । मानवीय क्षतिका साथसाथै ठूलो मात्रामा भौतिक क्षति हुँदै आएको छ । बाढी, पहिरो, चट्याङलगायतका विपद्ले बर्सेनि सताउँछ ।
पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने कर्णाली प्रदेशमा प्राकृतिक विपद्को अवस्था भयावह देखिन्छ । हरेक वर्ष मानिसहरूले ज्यान गुमाइरहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशभर आठ सय ८२ वटा प्राकृतिक विपद्का घटना भएका थिए । त्यसको अर्को वर्ष २० वटा घटना बढे । अर्थात्, आर्थिक वर्ष २०७६/०७७ मा नौ सय दुई वटा घटना भए ।
त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा भने कर्णालीमा प्राकृतिक विपद्का घटनामा कमी आयो । यो वर्ष चार सय १६ विपद्का घटना भएको तथ्यांकले देखाउँछ । जसमा ८८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा फेरि विपद् बढेर एक हजार नाघ्यो । उक्त वर्ष प्रदेशभर एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए भने ६८ जना नागरिकले अनाहकमै मृत्युवरण गर्नुप¥यो ।
आर्थिक वर्ष २०७९/०८० मा त प्राकृतिक विपद्का घटनाको संख्या करिब दोब्बरले बढेर दुई हजार दुई सय १४ पुग्यो । विपद्का घटना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेर ७२ जना पुगेको थियो । गएको आर्थिक वर्ष २०८०÷०८१ मा भने सात सय ३३ विपद्का घटना प्रदेशभर भएको तथ्यांक कर्णाली प्रदेश प्रहरी कार्यालयको छ । तर विपद्का घटना घट्दा त्यसमा ज्यान गुमाउने नागरिकको संख्या बढेको छ । प्रहरीकाअनुसार गत वर्ष यस्ता घटनामा परेर एक सय ९४ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको देखिन्छ । मानिसको ज्यान लानेगरी हुने अधिकांश विपद्का घटना वर्षात्को समयमा हुने गरेका छन् । मनसुन लागेसँगै बाढी, पहिरो, चट्याङलगायतका घटनाले धेरै क्षति गर्ने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।
यसैगरी प्रदेशमा विगत चार वर्षमा चट्याङ लागेर २१ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि चट्याङका घटना पनि बढिरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ६ जनाको मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा तीन जनाको मृत्यु भयो भने आर्थिक वर्ष २०८०/०८१ मा पाँच जनाको मृत्यु भएको छ । प्रदेशमा मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।
प्रकाशित मितिः ९ श्रावण २०८१, बुधबार ०५:०५
साझा बिसौनी ।