वनमा पाइने जडिबुटी बारीमै उत्पादन
जुम्ला: सात वर्षअघि जुम्लाको दुर्गम क्षेत्र मणिसाँघुको नापानी लेकमा स्थानीय धर्मजीत बस्नेतले बहुमुल्य जडिबुटीका बिरुवा रोप्न सुरु गरे । वनमा पाइने जडिबुटी खेतबारीमा रोेपेको देखेर गाउँलेहरू छक्क पर्थे । गाउँलेहरू भन्थे, ‘वनपाखा र पाटनमा यत्रतत्र पाइने जडिबुटी संकलन गरेर बेच्नुको साटो बारीमा रोपेर धर्मजीत उल्टोबाटो हिँडिरहेको छ ।’
गाउँलेहरू जडिबुटी टिपेर व्यापारीलाई बेच्थे । धर्मजीत भने संकलन गरेर ल्याएका थरिथरिका जडिबुटी बिउ आफ्नो खेतबारीमा छर्ने र दाना रोप्ने गर्थे । उनलाई एउटै मात्र सोच थियो, ‘कुनैदिन बहुमुल्य जडिबुटी लोपोन्मुख अवस्थामा पुग्नेछन्, बारीमा रोपिएका जडिबुटीका विरुवाले संरक्षण र आम्दानी दुवै काम गर्नेछन् ।’
वन लसुनबाट एकैपटक २५ लाख आम्दानी
सेतो चिनि, वन लसुन, अत्तिस, सतुवा, जटामसी लगायतका जडिबुटी खेतीको अनुभव बटुल्न सात वर्ष लाग्यो । अन्ततः अत्तिस र वन लसुनमा सफलता मिल्दै गयो । दुई वर्ष अघिसम्म नापानीको जग्गामा प्रशस्त अत्तिस थियो । सबै अत्तिस बेचेर वन लसुनलाई थप विस्तार गरे । वनमा लोपोन्मुख अवस्थामा पुगेर भेट्न मुश्किल परिरहेको वन लसुन उनको खेतबारीमा झण्डै ७० किलोसम्म पुगेको छ । जसको बजार मुल्य प्रतिकिलो ३५ हजार सम्मछ । जीवनको ऊर्वर उमेर जडिबुटीको खेती र अनुसन्धानमा खर्च गरिरहेका धर्मजीत बस्नेत वन लसुनको सफल खेतीले हिमाली क्षेत्रका किसानका लागि ठूलो महŒव राख्ने बताउँछन् । ‘जुम्लामा वन लसुन खेती गरेर पैसा कमाउन सकिन्छ भनेर कसैले पनि कल्पना नगरेको समयमा म सफल भएको छु’ उनले भने, ‘लामो समय परिश्रम र धैर्यताले सफलता मिलेको हो, जिल्लाभरी कतैपनि वन लसुन खेती गरिएको छैन, अहिले थुप्रै मानिसले सोधीखोजी गरिरहेका छन्, यो नै मेरा लागि खुसीको कुरा हो ।’
वनलसुन अहिले वनजंगलमा औषधिका लागि खोज्दासमेत नपाइने अवस्थामा पुगेको छ, तर आफ्नो बारीमा ७० देखी ८० किलोसम्म उत्पादन भएको उनले बताए । जडिबुटी खेतीको अनुसन्धान केवल आफ्ना लागि मात्र सीमित नरहेको उनको भनाइ छ । ‘अहिले गाउँबस्तीमा युवा भेटिँदैनन्, स्वदेशमा बसेर भविष्य सुनिश्चित नहुने गलत भाष्य निर्माण भएको छ, यसलाई चिर्न आवश्यक छ, जडिबुटी खेती गरेर परिवारसँगै रमाइरमाइ विदेशभन्दा दोब्बर कमाइ गर्न सकिन्छ’ उनले सुनाए ।
जडिबुटी खेतीमा सम्भावना नदेखेका गाउँलेहरूले धर्मजीतको नयाँ प्रयासलाई अविश्वास गरेपनि उनकी जीवनसंगीनि रमिला बस्नेतले साथ दिइन् । घरको खेतीपाती आफैले धानेर धर्मजीतलाई जडिबुटी खेतीको अनुसन्धानमा स्वतन्त्र छाडिन् । अहिले खेतबारीमा लाखौंको जडिबुटी उत्पादन भएको छ । ‘अरु जडिबुटी संकलन गर्न पाटनदेखि भीरपाखा र वनजंगल धाउँछन्, हाम्रो आँगनमै जडिबुटी छ, घरमै बसीबसी वर्षमा लाखौं आम्दानी भइरहेको छ’ रमिला भनिन् ।
धर्मजीत बस्नेतको जडिबुटी खेतीले किसानदेखि स्थानीय सरकारको ध्यान तानिरहेको छ । गुठिचौर गाउँपालिका वडा नम्बर १ ले उनलाई उत्कृष्ट कृषकको रूपमा पुरस्कृतसमेत गरेको छ । युवा जनशक्ति पलायन भइरहेका बेला बस्नेतले जडिबुटी खेतीबाट बर्सेनी लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेर समाजमा जागरण ल्याएको गुठिचौर गाउँपालिका–१ वडा अध्यक्ष अर्जुन कुमार महतारा बताउँछन् । वर्षभरी एक बालीमात्रै पाक्ने यो क्षेत्रमा जडिबुटी खेतीमा अनुसन्धान गरेर नयाँ प्रयोग गरेर देखाउने उत्कृष्ट किसान धर्मजीत बस्नेत हिमाली जिल्लाका थुप्र किसानका लागि उदाहरणीय भएको महताराको भनाइ छ । जसले जडिबुटीमा रुची राख्छ उसलाई धर्मजीत बस्नेतको अनुभव बरदान सावित हुने समेत उनले बताए ।
स्थानीय सरकारले पनि जडिबुटी खेतिलाई प्रोत्साहन गरिरहेको छ । पालिकाको बजेट, नीति र कार्यक्रमलाई पनि कृषिसँग जोडिएको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बताउँछन् । पालिकाको उपल्लो क्षेत्रमा जडिबुटी खेतीको प्रचुर सम्भावना भएकोले स्थानीय सरकारले किसानलाई सघाउने उनले बताए ।
नेपालमा पाइने करिब ११ हजार प्रजातिका वनस्पतिमध्ये सात सयभन्दा बढी औषधिय जडिबुटी छन् । विश्व बजारमा धेरै माग भएको, आन्तरिक उद्योगहरूलाई आवश्यक, कृषि क्षेत्रमा अपार सम्भावना र भौगोलिक दृष्टिकोणले समेत प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालको जडिबुटी क्षेत्रले व्यावसायिक परिणाम दिन सकेको छैन । परम्परागत नेपाली जडिबुटी छिमेकी मुलुक भारत र चीनमा निर्यात हुँदै आएकोमा अहिले संसारका अन्य मुलुकहरूमा पनि निर्यात हुन थालेको छ । जसले जडिबुटी खेतीमा लागेका किसानलाई थप मिहेनति बनाएको छ । जुम्लाका किसान जडिबुटी खेतीमा भविष्य खोजिरहेका छन् । बहुमुल्य जडिबुटी लोप हुने अवस्थामा पुगेपछि आफ्नै खेतबारीमा जडिबुटी खेती गर्न थालिएको छ ।
मानबहादुर कुँवर ।