पालिकाको प्राथमिकतामा स्वास्थ्य पूर्वाधार
सुर्खेत: पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरेमा नगर अस्पताल निर्माण गर्न लागिएको छ । संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना अनुरूप अस्पताल निर्माण हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको १५औँ नगरसभाबाट उक्त प्रस्ताव पारित भएको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।
ढकालका अनुसार जहरेमा १५ शैय्याको नगर अस्पताल निर्माण गर्न लागिएको हो । उनले नगर अस्पताल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहयोगमा निर्माण गर्ने बताएका छन् । अस्पताल निर्माण भएमा भेरीगंगा नगरपालिकाका नागरिकसँगै गुर्भाकोट र लेकवेशी नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ । आमनागरिकको स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्न नगर अस्पताल निर्माण गर्न लागिएको उनको भनाइ थियो । चालु आर्थिक वर्षमा जग्गा प्राप्तिको प्रक्रिया थालिने उनले बताए । नगरपालिकाले अस्पताल निर्माणको प्रक्रियाका लागि ३० लाख बजेट विनियोजनसमेत गरेको नगरप्रमुख ढकालले बताए ।
पूर्वी सुर्खेतकै लेकवेशी नगरपालिकाले समेत आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा अस्पताल निर्माणको प्रक्रिया सुरुभएतापनि जग्गा प्राप्ति नहुँदा अस्पताल निर्माणको काम सुरु हुन सकेको थिएन । नगरपालिकाले वडा नं. ४ मा दशरथपुरमा रहेको प्राथमिक स्थास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्न लागेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए । उनका अनुसार वडा नं. ४ मा रहेको सरस्वती सामुदायिक वनको जग्गामा अस्पताल निर्माण गरिनेछ । अस्पताल निर्माणका लागि दुई वर्षअघि नै ठेक्का सम्झौता भइसकेको छ । १२ करोडमा ठेक्का सम्झौता भएकोभएपनि जग्गा प्राप्ति नहुँदा काम हुननसकेको हो । चालु आर्थिक वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने नगरप्रमुख पौडेलले बताए । १५ शैय्याको अस्पताल निर्माणको प्रक्रिया यो वषैदेखि नै सुरु गरिने पौडेलले जानकारी दिएका छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ४ मा १५ शैय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माणको ९० प्रतिशत काम सकिएको गाउँपालिकाले जनाएको छ । वित्तीय प्रगति ८३ प्रतिशत भएको छ । गाउँपालिकाका अध्यक्ष खड्क वि.कका अनुसार गाउँपालिकाको वडा नं. ४ बिजौरामा अस्पताल निर्माण भइरहेको छ । पश्चिमका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा गाउँघरबाटै दिने उद्देश्यले १५ शैय्याको आधारभूत अस्पताल निर्माण थालिएको उनको भनाइ छ । आर्थिक वर्ष २०७८/०७९ बाट अस्पताल निर्माणको काम थालिएको थियो । १२ करोडमा अस्पताल निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असारसम्म भवन निर्माणको अवधि रहेकोभएपनि निर्माण सम्पन्न नहुँदा चार महिना म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।
कतै काम सुरु, कतै अन्योल
चार वर्षअघि दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने उद्देश्यले संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना कर्णालीका धेरै स्थानीय तहमा अझै सम्पन्न हुन सकेका छैनन् । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले पाँचदेखि १५ शैड्ढयाका आधारभूत अस्पताल बनाउने योजना सरकारले अघि सारेको थियो । अस्पताल नभएका स्थानीय तहहरूमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ १५ मंसिर २०७७ मा देशभरका तीन सय ९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।
संघीय सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ निर्माण अभियानअन्तर्गत कर्णालीमा चारवर्षअघि शिलान्यास गरिएका अधिकांश भवन अझै अपुरै छन् । कतिपय पालिकामा भवन निर्माण पूर्वका प्रक्रियागत काम नै हुन सकेका छैनन् । पहिलो चरणमा आर्थिक वर्ष २०७७/०७८ मा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए । त्यस्तै, दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/०७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म करिब ३० पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार तीमध्ये धेरैजसो भवनको निर्माण कार्य प्रगति पनि सुस्त छ ।
प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ०५:०५
साझा बिसौनी ।