सत्ता बेदखलको पीडा

 

मध्य असारतिर राजनीतिमा ठूलो भूकम्प आयो, भूकम्पले सत्तापक्षलाई प्रतिपक्ष र प्रतिपक्षलाई सत्तापक्ष बनाइदियो । त्यसको पराकम्प देशभर चलिरहेको छ । आरजु राणा देउवालगायतका केही विवादित पात्रहरू मन्त्रीमण्डलमा समेटिएका कारण केपी शर्मा ओलीको सरकार जन्मदै विवादमा परेको छ ।

कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको रापतापमा समानुपातिक प्रणालीको मर्मलाई नै ध्वस्त पारेर आरजुलाई सांसद बनाइएको तथ्यमा कांग्रेसीजनले समेत मिठो मानिरहेका थिएनन् । नक्कली भुटानी शरणार्थी काण्ड र टीकापुर जग्गा काण्डमा प्रत्येक्ष उनको नाम जोडिएपछि देशव्यापी रूपमा घोर आलोचना बढिरहेको थियो । सायद बदनाम धोइपखाली गरेर दाग मेटाउनका लागि जसरी पनि मन्त्री बन्नुपर्ने थियो, त्यसकारण भनेको र खोजेको परराष्ट्र मन्त्रालयको पदभार सम्हाल्ने रहर पूरा भयो । शासन प्रणालीलाई खोटो देखाई जनताले निरन्तर परिवारवाद र परिवारवाद भन्दै चिच्याएको कुरा पछिल्लो मन्त्रीमण्डल गठनले पनि पुष्टि गरिदिएको छ । बिहानीले दिन देखाउँछ भने झैं यो सरकारमा बदनाम पात्र समेतको उपस्थितिले जनतामा आशाको फूल नफुल्दै ओइलाउन थालेको छ ।

देउवा र ओलीको छलफलबाट भएको सहमति अनुरूप नयाँ सरकार निर्माण भएपछि केही विश्लेषकहरूले ओलीलाई पनि चतुर खेलाडी भनेका छन् । हिजोसम्म माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको चतुर नेता भनेर उचाली रहेका थिए । जतातिर गयो उतै आफ्नो माहोल बनाउन सक्ने ठूला पार्टीलाई पालैपालो लगाम लगाउन सक्ने खुवी भएर पनि त्यसो भनिएको होला । सतही रूपमा हेर्दा प्रचण्डको विशेषता त्यस्तै पो हो कि जस्तो देखिन्छ तर अलिक गहन गरि हेर्दा चातुर्यमा कोही भन्दा कोही कम छैनन् । दाहाल कुनै कुरा मनमा राख्न सक्दैनन् ओकलिदिन्छन् । देउवा सित्ती मुख खोल्दैनन्, सबै मनमा थुन्छन् र ओली यतातिर देखाउँछन् अर्कातिर भ्याउँछन् । देशको अग्रगमन र जनताको जीवनस्तरका खाँतिर नभएर नेताका परिवारको लाभ र अवसरमा मात्रै घुम्ने चातुर्यलाई चण्डाल कर्म भनिदिए पनि अतियुक्ति नहोला ।

यहाँ चातुर्यको अभिष्ट र चण्डाल कर्मका दाउपेच बारेमा चर्चा गरौं । निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो । कांग्रेसी नेता कार्यकर्ताको व्यापक विरोधका बाबजुद प्रचण्ड र माधवकुमार नेपालको दया मानेर गठबन्धन गरेका हुन त देउवाले ? कदापि होइन, कम्युनिष्ट पार्टीमा प्रचण्डले विद्रोह गरेको र माधव पनि बिच्किरहेएको गतिलो मौका छोपेर गठबन्धनमा ऊनी अग्रसर भएका हुन् । ता कि कम्युनिष्ट टुक्राटुक्रामा फुटोस् र ठूलो पार्टी कांग्रेस नै बनोस् भन्ने भित्री अभिलाशा सफल बनोस् । निर्वाचन परिणामबाट गठबन्धनले बहुमत प्राप्त गर्न सकेन । सर्त बमोजिम पहिलो कार्यकालमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि मोलतोलमा भाउ मिलाइ अर्को पार्टी खोजेर जोड्नुपर्ने थियो । त्यसमा देउवालाई जाँगर चलेन किनकि निर्धारित समय बितेपछि संविधानको धारा ७६(३) बमोजिम ठूलो पार्टीको हैसियतले प्रधानमन्त्री पद उनकै भागमा पर्न आउँने निश्चित थियो, त्यसकारण उनी समय गुजार्नमा नै रुचि लिइरहेका थिए ।

प्रचण्डलाई प्रधानमन्त्री पदको भोक कतिसम्म गहिरो छ भनी ओलीले आँत छामिसकेका थिए । पक्कै माछा पर्ने आश्वासनमा बहुमत जुटाउन उनले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी समेतलाई बालकोटमा मन्त्रणा गरि तयारी अवस्थामा राखेका थिए । देउवाको नियत बुझेपछि दौडेर बालकोट पुगे हात हल्लाउन । आदर्श, सिद्धान्त, नैतिकता, लाज–सरम छोडाएर फाले बरु दौरा सुरुवालमा ठाँटिएर प्रधानमन्त्रीको शपथ लिए । प्रचण्डले आफन्तीको सेवा गरुन्, छोरीलाई देश देशान्तर घुमाउन् र प्रधानमन्त्रीको रहर पनि पूरा गरुन् भन्ने भावना जागेर होला त ओलीले उनलाई त्यतिबेला प्रधानमन्त्री बनाएको ? बिल्कुल होइन, आफ्नो नियन्त्रणभित्र प्रधानमन्त्री भएपछि सभामुख र राष्ट्रपति नियुक्तिमा ठूलो मद्दत पुग्ने हुन्छ । त्यो अवस्थाको फाइदामा सभामुखको चयन भैसकेको थियो अब राष्ट्रपति चयनका लागि अभ्यासरत थियो परिस्थिति ।

सभामुख र राष्ट्रपति एउटै पार्टीको सिफारिसमा चयन गरिनु भोलिको सत्ता यात्रा संकटमा पर्नु पनि हो भनी बुझे प्रचण्डले, त्यसकारण एमालेलाई समर्थन गर्न आनाकानी गरिरहेका थिए उनले । उता रास्ट्रपति फुत्किएमा कांग्रेसको सत्व हराउने मात्रै होइन असफलताको सम्पूर्ण अपजस पनि देउवाकै टाउकोमा पो पर्न आउँथ्यो । त्यो बुझेर राष्ट्रपति पद जोगाउने उदेश्यमा कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दियो तब पो राष्ट्रपति कांग्रेसकै पोल्टामा आयो । प्रचण्डको लोकप्रियताले प्रभावित भएर त होइन नि कांग्रेसले विश्वासको मत दिएको । आफ्नो कित्तामा प्रचण्ड सरकारलाई तान्नुमा पनि त तमाम स्वार्थ थिए । पर्दा पछाडि मौन बसेर सत्ताको तालाचाबी समाउनुमा छुट्टै आनन्द भोगिरहेका थिए देउवाले । कांग्रेससँग समीकरणको सरकार चलाउँदाचलाउँदै अप्ठ्यारो सहन गर्न नसकी असहज भएको बहानाबाजी झिकेर प्रचण्ड फेरि एमालेमा गए किनभने प्रधानमन्त्री पदको आयु अरु लम्ब्याउन मिल्ने अवस्था उता जाँदा अलि फराकिलो भएको र त्यही अनुरूप आश्वासन पनि आइरहेको थियो ।

ठूला पार्टी एमाले र कांग्रेसमा दुबैतिर अनुकूल पर्दा छलाङ मार्न प्रचण्डलाई कुनै संकोच थिएन । मानौं त्यो उनको आदर्श हो सोही अनुरूप पार्टी संचालन भएको छ । विचार आदर्श र सिद्धान्तबाट टाढा, नीतिमा पनि समाजवाद र प्रजातान्त्रिक धारको भिन्न मार्ग, एक अर्कामा सदाकाल प्रतिस्पर्धी कांग्रेस र एमाले कुनैदिन मिल्न पो सक्छन् कि भन्ने कोणबाट प्रचण्डले सायद कल्पनासम्म गरेनन् । अस्थिरतामा खेलेर उथलपुथल गरी निमग्न सत्तामा रजगज गर्न व्यस्त रहे तर उनको अहंकार उन्मादबाट आजित भएका र कुटिल चालको समेत केही गन्ध पाएका कांग्रेस र एमाले आपसमा मिल्ने हतारो मात्रै गरेनन् एकैचोटि सत्ता पल्टाइदिने निधोमा पनि पुगे । चोरको बाबु चण्डाल भने झैं कतै सोच्दै नसोचेको एउटा भित्री चातुर्य खेल निर्माण भएर भयंकर बज्रपात प¥यो । प्रचण्डको बलबुताले त्यो अनिष्टबाट आफ्नो सरकार जोगाउन सकेन ।

विश्वासको मत पाउन नसक्ने निश्चित हुँदाहुँदै पनि प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि संसदको सामना गर्ने नीति लिए । सत्ता सञ्चालनमा भएको त्रुटि दोष र कसर ठूला पार्टीमा खन्याएर तितो पोख्न पाइने र त्यसको अभिलेख संसद्मा दर्ज गराउन पनि पाइने हुँदा संसदीय अधिकार भन्दै राजीनामा दिन इन्कार गरिरहेको कुरा छर्लङ्ग बुझिन आयो ।

एक घण्टा बीस मिनेट लामो सम्बोधनमा प्रचण्डले धेरै कुरा निकाले । कागजी तथ्यांकमा देशको प्रगतिको बारे जतिसुकै बढाइचढाइ गरे पनि जनताले अनुभूत गरेका छन् कि छैनन् भन्ने कुराको अर्थ रहन्छ । लामो सम्बोधन गर्दा वाक्यको हरेक पूर्णविराममा माओवादीले डेस्क ठटाए भने अन्य सांसदहरूले हाँसोमा उडाए तर जनताले कुन्नि कति पत्याए !

‘चाँहिदाको भाँडो, नचाँहिदाको ठाँडो’ भने झैं अहिले सत्ता बेदखलको पीडाले प्रचण्डलाई फेरि समाजवादी मोर्चाको आवश्यकता खड्किन थालेको छ । हिजो कांग्रेसलाई दबाबमा राख्न र एमालेले सरकार निर्माण गर्ने चेष्टा गरेको खण्डमा उसलाई समेत बाध्य पार्न प्रचण्डले जनता समाजवादी र एकीकृत समाजवादीलाई ललाइफकाई गर्दै मोर्चा बनाए । सरकारी साधन श्रोतको दुरूपयोग गरि सबै प्रदेशमा व्यापक प्रचारप्रसार गरे । ‘बर्खा सकिएपछि लाखौँ जनता सडकमा उतार्छु । राम्रो गर्दागर्दै मलाई प्रधानमन्त्रीबाट कोले हटाउँछ हेर्छु म पनि । यो सरकार पाँचै वर्ष चल्छ ।’ देशमा सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री प्रचण्डका त्यस्ता विवादित अभिव्यक्ति मिडियामा खहरे झैं गर्जिए । कांग्रेसलाई लात मारेर एमालेसँग सत्ता समीकरण फेरिएपछि खहरेको गर्जन चप्रक्कै सुक्यो ।

समाजवादी मोर्चाको औपचारिक कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति नहुँदानहुँदै पनि उनको लागि खाली कुर्सी राखिएको रहेछ, भावना बेचेर फकाउने मेसो । ‘पार्टी विभाजनको वास्तविक कारण के थियो र को थियो भन्ने कुरा उपेन्द्रजीले बुझ्नुहुने छ ।’ भन्ने ढंगको अभिव्यक्ति दिएर प्रचण्डले दिमागमा भ्रम छरिदिन खोजेको कुरा कतै लुक्न सक्दैन । यादवको पार्टी फुटालेर आफ्नो सरकार जोगाएको खुसियालीमा उनले खुला अभिव्यक्ति दिएका थिए ‘अनेक गरिन्छ सरकार पूरा अवधि लगिन्छ । त्यो अनेकामा हिजो अस्तिका घटना पनि पर्न आउँछन्…।’ प्रधानमन्त्री तहको त्यो छुद्र अभिव्यक्ति सुनेर सार्वजनिक समारोह गललल हाँसेको थियो । यति छिट्टै त्यो चोट बिर्सेर यादव मोर्चाको खाली कुर्सीमा बसिदिन्छन् त ? गाह्रै छ पीडा बिर्सिहाल्न । ओलीको पिँजडामा परेपछि छट्पटाइरहेको भनी बाबुराम भट्टराईले मौका खोजी खोजी कटाक्ष गरिरहेका छन् ।

हिजो ज्यानको बाजी थापेर युद्ध लडेका माओवादी लडाकुको के अवस्था छ पार्टीले वास्ता गरेको छैन तर माओवादीसँग कुनै साइनो नभएकाहरूले नेतृत्वलाई खुसी पारेर निरन्तर स्वार्थ सोहोरिरहेका छन् । प्रचण्ड परिवारवादका कारण माओवादी पार्टी ग्रुण र परजीवी बन्दै गएको भनी माओवादी कार्यकर्ताले मुख खोलिरहेका छन् । परिवर्तनले ल्याएको उपलब्धि कसैले उल्टाउन खोजे जनतामा जाने भन्ने ढंगको एउटा भाष्य निर्माण भैरहेको छ । प्रत्येक्ष–परोक्ष १७ वर्षसम्म सत्तामा या सत्ताको वरिपरि घुमी रहने, सत्ताबाट बेदखल हुँदाका घडी परिवर्तनले ल्याएको उपलब्धि जोगाउन जनतामा जाने भन्ने किसिमको चुनौती दिने । के जनताले सजिलै पत्याइदिन्छन् जालसाज ? जनतामा आक्रोशित प्रश्न छन् । गोलमटोल पारेका भावनात्मक जवाफले मात्रै पुग्दैन, निर्मम समीक्षा चाहिन्छ । गाल टार्नका लागि आत्मासमीक्षा पनि गर्ने तर अनेक बहाना झिकेर नेतृत्व नछाड्ने पुरानो रोगले अब पार्टीलाई नै थला पारिदिन सक्छ ।

-उमालाल आचार्य

प्रकाशित मितिः   ६ श्रावण २०८१, आईतवार ०५:०४