खेलपूर्वाधारमा ढिलाइ नगर

आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । पहिलो पटक कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता सञ्चालनका लागि यतिबेला खेल पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । कर्णालीमा पर्याप्त खेल पूर्वाधार छैनन् । यद्यपि, राष्ट्रिय प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार तयार पारिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशालादेखि क्रिकेट मैदानलगायतका पूर्वाधार छन् भने अन्य जिल्लाहरूमा पनि विभिन्न खेलका लागि आवश्यक पूर्वाधार तयार भइरहेका छन् । कतिपय संरचना तयार भइसकेका छन् भने केही निर्माणकै क्रममा छन् ।

प्रतियोगिता आयोजनाका लागि अब समय धेरै छैन । बाँकी रहेको चार महिनाभित्र सबै संरचना निर्माणको काम सम्पन्न गरेर प्रतियोगिताको अन्य तयारीसमेत गर्नुपर्ने छ । तर महङ्खवपूर्ण पूर्वाधार निर्माणमै भइरहेको ढिलाइले भने शंका पैदा गरेको छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रंगशाला समयमै निर्माण हुन सकेन । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको छ । २०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको छ । यद्यपि, हालसम्म ९० प्रतिशत प्रगति हासिल भएको दाबी गरिएको छ । अब रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको छ । प्रतियोगिताको प्रमुख केन्द्रका रूपमा उक्त रंगशालालाई लिइएको छ । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको छ । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् ।

दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा दुई वटा क्रिकेट मैदान निर्माणको काम भने सकिएको छ । दैलेखमा कभर्डहल मर्मतको काम सकिएको छ । यस्तै, रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सकिएको छ । हुम्लामा हकी खेलमैदान निर्माणको काम पनि सम्पन्न भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिवल खेल मैदान तथा प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । रारामा कबड्डी खेल मैदान निर्माण भएको छ । बाँकी रहेका पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ निर्धारित समयमै सम्पन्न गर्नु अहिलेको चुनौती हो ।

प्रकाशित मितिः   ६ श्रावण २०८१, आईतवार ०५:०३