पुल निर्माणमा विलम्ब
कर्णाली प्रदेश पूर्वाधार विकासमा यसैपनि पछि परेको क्षेत्र हो । यहाँ विकासका आधारभूत पूर्वाधार नै पर्याप्त छैनन् । त्यसमाथि विकासको गति नै सुस्त छ । पूर्वाधार निर्माणको काममा अनेक बाधा उत्पन्न हुने गर्दछन् । जसले गर्दा थुप्रै विकास निर्माणका काम अलपत्र पर्ने र अवरुद्ध हुने उदाहरण प्रशस्त छन् । त्यसैमध्येको एक हो पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुल । निर्माणाधिन पुलको काम केही समययता बन्द भएको छ । भेरीगंगा नगरपालिका–११ रामघाट र लेकवेशी नगरपालिका–४ दशरथपुर जोड्नभेरी नदिमा निर्माणाधिन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको हो ।
सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार भेरी नदिमा एक सय ५४ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । डिभिजन कार्यालयले २०७९ माघ २२ गते ३२ करोड ६३ लाख १५ हजारमा अनक कन्ट्रक्सन कम्पनी काठमाडौंसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८३ असार १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । दुई वटा फाउन्डेसन निर्माण सकिएको छ । भुक्तानी रकम नपाएपछि निर्माण कम्पनीले बाँकी काम रोकेको छ । अहिले पुल निर्माणको काम पूर्णरूपमा ठप्प छ । वर्षायाममा खोला बढेकाले काम हुन नसकेको बताइए पनि निर्माण कम्पनीले काम गरेकै भुक्तानी नपाउँदा करिब दुई महिनादेखि काम अवरुद्ध भएको हो । निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा ११ करोडकोे बिल पेस गरेको छ । तथापि कम्पनीले हालसम्म तीन करोड ९८ लाख मात्र भुक्तानी पाएको छ । बाँकी भुक्तानी नपाएपछि पुल निर्माणको काम रोकिएको जनाइएको छ । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको देखिन्छ । गत आर्थिक वर्ष पुल निर्माणका लागि एक करोड ४१ लाख बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा एक करोड २० लाख मात्र बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । पर्याप्त बजेट नहुँदा भुक्तानी दिन कठिनाइ भएको बुझिन्छ ।
निर्माणाधिन पुल समयमा सम्पन्न नहुँदा पूर्वी सुर्खेतका नागरिकले सास्ती भोग्नु परेको छ । लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिका जोड्ने दशरथपुर रामघाट झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । पक्की पुल नबन्दा कठिनपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । झोलुङ्गे पुलको पनि तार चुडिएको र पुलमा आउजाउ गर्न समेत समस्या हुनेगरेको छ । यसले विकास निर्माण र नागरिकको सुविधामा राज्य गम्भिर हुन नसकेको देखाउँछ ।
प्रकाशित मितिः ४ श्रावण २०८१, शुक्रबार १६:१९
सम्पादकीय ।