प्रदेश रंगशाला निर्माणको म्याद थप

क्रिकेट मैदान तयार, अन्य पूर्वाधार पनि बन्दै

सुर्खेत: प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधिन रंगशालाको म्याद थप गरिएको छ । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको हो । आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर रंगशाला निर्माणको कामलाई अघि बढाइएको छ ।

२०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनका अनुसार हालसम्म ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तिय प्रगति हासिल भएको छ । अब रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको छ । प्रतियोगिताको प्रमुख केन्द्रका रूपमा उक्त रंगशालालाई लिइएको छ ।

अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको सञ्ज्यालले बताए । उनका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् । रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको उनले बताए ।

अहिले झ्याल ढोका, बाथरुम फिटिङ लगायतका काम धमाधम भइरहेका छन् । अबको एक महिनामा उक्त काम सम्पन्न गरिसक्ने जनाइएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ । दश हजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने काम भइरहेका छन् भने अन्य काम करिब सकिएको जनाइएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणलगायतका काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउँछन् । आउटडोर मोडमा बास्केट बल, भलिबललगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ ।

 

दुई क्रिकेट मैदानको काम सकियो

दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको काम भने सकिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न भइ प्रयोगमा आइसकेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । उनका अनुसार मैदान निर्माणका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको थियो । ७३ लाख १८ हजार लागतमा क्रिकेट मैदान निर्माण भएको उनले जनाए ।

यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माणको काम पनि सकिएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम गरिएको जनाइएको छ । निर्माणको जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको थियो । २०८० चैत ५ गते अभियान कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता भइ २०८१ असार २५ गते निर्माण सम्पन्न भएको जनाइएको छ ।

 

ठाउँ–ठाउँमा खेलपूर्वाधार

दैलेखमा कभर्डहल मर्मतको काम सकिएको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । २०८० माघ ९ गते ठेक्का सम्झौता भइ काम अघि बढेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । १३ लाख ८२ हजार मर्मतको काम गरिएको उनको भनाइ छ ।

यस्तै, रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सकिएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका लागि कभर्डहल मर्मत गरिएको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमका अध्यक्ष शैलेश शर्माले बताए । २०८० माघमा ठेक्का सम्झौता गरी मर्मतको काम सुरु गरिएको उनले जनाए । मुसिकोट कभर्डहल मर्मतको काम उपभोक्ता समितिमार्फत् १५ लाखमा सम्पन्न भएको शर्माले बताए ।

हुम्लामा हकी खेलमैदान निर्माणको काम पनि सम्पन्न भएको छ । खेल मैदान निर्माणको काम तोकिएकै समयमा सकिएको जिल्ला खेलकुद विकास समिति हुम्लाका अध्यक्ष विनोद बोहोराले बताए । २०८० फागुन ६ गते खेलमैदान निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असार २० गते निर्माण सम्पन्न भएको बोहोराले जनाए । एक करोड ५० लाखमा हकी खेलमैदान निर्माण गरिएको हो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिवल खेल मैदान तथा प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । हिरा नेपाल निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ । २०८० पुष ५ गते मैदान निर्माणका लागि ठेक्का सम्झौता गरिएको जनाइएको छ । ४० लाखमा मैदान निर्माणको काम भइरहेको छ । अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

अधिकांश स्थानका खेलपूर्वाधार बनिसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । रारामा कबड्डी खेल मैदान निर्माण सकिएको उनले जनाए । दैलेख र रूकुमपश्चिममा कर्भड हल मर्मत गरिएको, हुम्लामा हक्की खेल मैदान निर्माण, जाजरकोटको कुदुमा फुटबल खेलमैदान निर्माण सम्पन्न भएको उनले जानकारी दिए । डोल्पाको दुनैमा कर्भड हल मर्मत गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार समेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ५ श्रावण २०८१, शनिबार १२:११