रनिङ्गशील्ड रानीवासमा
सुर्खेत, १८ चैत ।
१० औं राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता पूर्वी सुर्खेतको रानीवासमा हुने भएको छ । रानीवासस्थित जनता माध्यमिक विद्यालयले प्रतियोगिताको आयोजना गर्ने भएको हो । अर्को वर्ष हुने प्रतियोगिता सफल बनाउन विद्यालयले अहिलेदेखि नै तयारी सुरु गरिसकेको छ ।
सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ६० किलोमिटरको दूरीमा पर्ने जनता माविमा अहिले राष्ट्रपति रनिङ्गशील्ड सञ्चालनका लागि आवश्यक खेल मैदान निर्माणको काम भइरहेको छ । जसको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार यादवले जानकारी दिए । रानीवास जस्तो विकट ठाउँमा प्रतियोगिता सञ्चालन हुन सक्दैन भन्ने आरोप गलत सावित गर्नेगरी विद्यालय अहिलेदेखि नै तयारीमा जुटेको हो । प्रतियोगिता आउँदो
वर्षको माघ÷फागुनतिर आयोजना हुने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । समितिका अध्यक्ष चन्द्रकुमार गिरीले हरेक वर्ष फरक–फरक निर्वाचन क्षेत्रमा प्रतियोगिता आयोजना गर्ने केन्द्रको निर्देशन अनुसार आउँदो वर्ष क्षेत्र नम्बर १ को रानीवासमा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनका अनुसार समितिको प्राविधिक टीमले रानीवास पुगेर प्रतियोगिता सञ्चालन गर्न सकिने वा नसकिने बारे त्यहाँको अवस्था बुझेर आइसकेको छ । स्थगलत अध्ययन गर्दा जनता माविले राष्ट्रपति रनिङ्गशील्ड आयोजना गर्न र सफल बनाउन सक्ने आधार पर्याप्त रहेको अध्यक्ष गिरीले बताए ।
मैदान निर्माणका लागि शान्ति मन्त्रालयबाट एक लाख ६६ हजार र युवा तथा खेलकुद मन्त्रालयबाट तीन लाख रूपैयाँ बजेट विनियोजन भएको विद्यालयका प्रधानाध्यापक यादवले जानकारी दिए । चिंगाड क्षेत्रको कला, संस्कृति र भाषालाई थप ऊजागर गर्नका लागि पनि विद्यालयले राष्ट्रपति रनिङ्गशील्ड आयोजना गर्न लागेको उनले बताए । जिल्लाका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र जिल्लाको विकासमा सरोकार राख्ने व्यक्तिहरूलाई रानीवास पु¥याउँदा त्यस क्षेत्रको विकासमा समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको यादवको भनाइ छ । विद्यालयसम्म पुग्ने सडक निर्माणको काम पनि भइरहेको र पाहुनाहरूलाई खान र बस्नको लागि विद्यालयले नै होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको स्थानीय आयोजक तथा भलिबलका रेफ्री अमर चन्दले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।