‘उनले विहे गर्न नमान्दा १५ दिन रोएँ’
श्रीमान् श्रीमती भनेका एक रथका दुई पांग्रा हुन् । एउटा रथ चलाउनलाई दुई पांग्राको बराबरी भूमिका र महŒव हुन्छ । त्यस्तै जीवन चलाउनको लागि पनि श्रीमान् श्रीमतीको साथ र सहयोग उत्तिकै हुन्छ । जीवन एक्लै चलाउँछु भन्नेहरू पनि अन्तिममा जीवनसाथीको खोजीमा नै हुन्छन् । यस्तै प्रवाशकुमार शाक्यले पनि आफ्नो जीवनमा धेरै केटीलाई हेरे तर, मनमा भने अरु कसैलाई बसाले । स्कुलमा पढ्दा पारेको लभलाई कसैको एकै नजरको हेराइमा पराइ दियो ।
प्रवाश २०५६ सालमा सवारी चालक लाइसेन्स बनाउनको लागि नेपालगन्ज गएका थिए । उनी नेपालगन्जमा आफ्नो माइला बुबाको घरमा बसेका थिए । उनका माइलाबुबाले छोरो जवान भयो अब विहे गर्दिनु पर्छ भन्ने कुरा उठाए । साथमा उनको माइलाबुबाको साथी पनि थिए । तीनै साथीले नेपालगन्जको खजुरामा एउटा केटी छ हेर्न जाने हो त ? भनेर हाँसो मजाकमा नै सोध । प्रवाशले भने मजाककै शैलीमा भने, ‘के हुन्छ र जाउँ न त हेर्न ।’ दुवैको हासो मजाकमा नै उनीहरू साँच्चिकै केटी हेर्न खजुरा गए ।
प्रवाश सुर्खेतबाट लाइसेन्स बनाउन नेपालगन्ज पुगे पनि जिन्दगीकै लाइसेन्स बनाउन गए जस्तै भयो । उनी आफ्ना अंकल र अंकलका साथीसँग केटी हेर्न गए । उनी हेर्न गएको केटी अरु कोही नभएर सुशीला थिइन् । सुशीलाले त्यतिबेला खजुराबाट शिशु स्याहार कक्षालाई पढाउन राँझा पुग्थिन् । त्यो दिन उनी बिरामी भएर घरमै बसेकी थिइन् । आफूलाई हेर्न आएको कुरा थाहा पाएपछि सुशीलाले प्रवाशलाई चिहाएर हेर्दै थिइन् प्रवाशले उनलाई देखिहाले । गोरी सुशीलालाई देख्ने बित्तिकै प्रवाशले मन पराए । उनको जीवनमा स्कुलमा पढ्दा अरु केटीहरू पनि थिए । तर, उनले सुशीला जस्तो सुशील, मेहेनती अझ भन्दा राम्री केटी अरु कसैलाई देखेनन् । पहिलो नजरमा नै सुशीलालाई शाक्यले दिलमा सजाइसकेका थिए । ख्याल–ख्यालैमा केटी हेर्न गएका शाक्यको दिलमा सुशीलाले बास बसिसकेकी थिइन् ।
केटी हेरेर घर फर्किएपछि उनले अंकलसँग केटी मन प¥यो माग्न जाऔं भने । सुशीलाको हात माग्न त गए तर, सुशीलाको घरपरिवारले छोरी नदिने भन्दिए । शाक्य विरक्तिएर घर फर्किए । उनको मनले मानेन । उनको दिलमा सुशीला नै थिइन् । शाक्यले भने, ‘ख्याल–ख्यालमा केटी हेर्न गएको साँच्चिकै माया बसेछ, सपनामा समेत उनलाई देख्न थालें ।’ उनले त्यसपछि थाहा पाए रूप हेरेर, बोल्दैमा र कसैसँग नजिक हुँदैमा माया हुँदैन । माया भनेको त अनुभूति गर्ने चिज रै’छ । उनी भन्छन्, ‘मैले स्कुलमा पढ्दा धेरै केटीसँग लभ पारें तर, सुशीला देखेको पहिलो नजरमा नै दिलमा बसिन् ।’ कसैलाई म माया गर्छु भन्दैमा माया भइहाल्ने नहुने रै’छ, माया त भित्री हृदयदेखि नै आफै हुने कुरा रै’छ ।
सुशीलालाई उनका माइती नदिने भनेपछि शाक्यले १५ दिनसम्म राम्रोसँग खाना नै नखाएर रोएरै दिन बिताए । उनको त्यो बिजोग देखेर घरपरिवारले फेरि माग्न जाने कुरा गरे तर, केटी पक्षले आफू श्रेष्ठ ठूलो जाति र शाक्य भनेको सुन बनाउने काम गर्ने सानो जाति भन्दै छोरी नदिने निर्णय गरेपछि शाक्यले अब केटी भगाएरै भए पनि ल्याउनुपर्छ भन्दै नेपालगन्ज गए ।
शाक्यको साथमा गणेश कार्की पनि थिए । घरबाट छोरी नदिने भने पनि सुशीला पढाउन जाने बाटोमा भेट्ने सहमति भयो । कुरा गर्दै थिए सुशीलाको अण्टी पर्नेले सुशीलालाई पिटिन् । त्यसपछि भने शाक्यलाई सुशीलालाई फकाउन झन सजिलो भयो । त्यहाँ एक किसिमको कोलाहल नै मच्चियो । सुशीला भने शाक्यसँग बिहे गर्न मानेकी थिइनन् । किनकी उनको सानी बहिनीलाई कक्षा १० सम्म आफूले जागिर गरेर भए पनि बोर्डिङ्गमा पढाउने उनको ठूलो सपना थियो । सुशीलाले बहिनीलाई पढाउनकै लागि खजुराबाट राँझासम्म साइकलमा पढाउन आउँथिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई बोर्डिङ्गमा पढाउने सपना सुशीलाले देखेकी थिइन् । उनले देखेको त्यो सपना पूरा हुन पाएन । गाउँमा सबैले थाहा पाए अब बिहे गर्नुपर्छ भन्दै प्रवाश र गणेशले उनलाई जबरजस्ती मोटरसाइकलमा बसालेर सुर्खेत ल्याए ।
सुरुमा त सुशीलाले प्रवाशलाई मन पराएकी थिइनन् । तर उनको मायाले जित्यो । सुशीलाले बिहे गर्न नमान्दा उनी रोएर मरिदिन्छु भन्थे । सुशीला भन्छिन्, ‘मैले बिहे गर्दिन भन्दा मरिदिन्छ भन्नुहुन्थ्यो, मलाई औधी माया गर्नुहुन्थ्यो ।’ सुशीलालाई लाग्यो कि आफ्नो लागि कसैको ज्यान गयो भने त्यसको जिम्मेवारी म हुन्छु त्यसैले पनि उनी प्रवाशसँग बिहे गरेर आइन् । उनीहरूले २०५६ साल चैत २८ गते भागी विवाह गरे ।
पिता जीवनकुमार शाक्य र माता रमादेवी शाक्यको कोखबाट २०३४ सालमा नेपालगन्जमा जन्मिएका प्रवाशको बाल्यकाल सुखद्सँगै बित्यो । बाल्यकालमा अलि बढी नै चकचके स्वभावका उनले कक्षा दुईसम्म नेपालगन्जमा नै पढे । शाक्य आफ्ना बुबाको जागिरको शिलशिलामा सुर्खेत आए । कक्षा पाँचमा पढ्दादेखि नै उनले व्यापार र पत्रकारिताका बारेमा बुझेका थिए । उनको पत्रिकाको पसल थियो । अनि बुबाले पत्रकारिता गर्ने भएकाले समाचार कसरी लेख्ने भन्ने कुराको सामान्य ज्ञान उनले पाइसकेका थिए । बाल्यकालदेखि नै पत्रकार बन्ने र व्यापारी बन्ने उनको सपना उनले भविष्यमा पूरा पनि गरे । सात वर्ष पत्रकारिता गरेका शाक्यले अहिले आफ्नै द् त्रिरत्न डटकमडटएनपी अनलाइन सञ्चालन गरिरहेका छन् । साथै अहिले उनी सामाजिक क्षेत्रमा पनि लागेका छन् । अहिले उनी टोल विकास समिति लाटीकोइलीको अध्यक्ष र वडा नम्बर ९ को भवन निर्माण समितिको अध्यक्षको रूपमा काम गरिरहेका छन् । त्यति मात्र होइन उनी अहिले सुर्खेत जिल्लामा नै सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्तिको रूपमा परिचित पनि छन् ।
…
माइतीको अनुमति विना भागेर विवाह गरेर आएकी सुशीलालाई सुरु–सुरुका दिनमा नरमाइलो लाग्यो । उनी विवाह गरेर आइसके पनि उनका माइतीले छोरी आफ्नो लागि मरी भन्दै छाक समेत छोडे । जन्मदिने आमा बुबाको पनि आफै सपना हुन्छन् आफ्ना सन्तानले सुख पाउन भन्ने । अझ छोरी राम्रो र सुख पाउने घरमा विवाह गरिदिने सपना हरेक बाबुआमाको हुन्छ त्यस्तै सपना सुशीलाका बुबाआमाले पनि देखेका थिए । सन्तानले जस्तोसुकै गल्ती गरे पनि बाबुआमाको मन हो धेरै समय आफ्ना सन्तानसँग रिसाएर बस्न सक्दैनन् । सुशीलाका बुबाआमाले पनि एक वर्षमा नै बोलाएर टिका फुकाइ दिए ।
पिता गणेशबहादुर श्रेष्ठ र माता मनमाया श्रेष्ठको कोखबाट २०३५ सालमा नेपालगन्ज खजुरामा जन्मिएकी सुशीलाको बाल्यकाल पनि राम्रोसँग नै बित्यो । सामान्य घरपरिवारमा जन्मिएकी सुशीलाले कक्षा एक देखि १० सम्म आदर्श मावि खजुराबाट गरिन् । खेती किसानी भएकाले घरको काममा उनी अलि बढी नै ध्यान दिने गर्थिन् । घरमा बुबाको अगाडि कहिल्यै ठाडो शिर बनाएर नबोलेकी सुशीला बिहेपछि घरमा आउँदा छुट्टै संसारमा आए जस्तै लागेको थियो । शाक्यको घरमा सबै जना बाबुआमासँग खुलेर बोलेको देख्दा सुशीलालाई अचम्म लाग्ने गथ्र्यो । उनले भनिन्, ‘हाम्रो माइतीमा कडा संस्कार थियो, बुबाको अगाडि खुलेर हाँस्न पनि पाउँदैनथ्यौं तर बिहेपछि घरमा नन्दहरू सबै खुलेर कुरा गर्दा अचम्म लागेको थियो ।’ उनलाई आफ्नो नन्द आमाको काखमा बसेको देख्दा पनि अचम्म लाग्ने गथ्र्यो । किनकी उनले जान्ने भएदेखि आमाको काख कस्तो हुन्छ अनुभूति गर्न पाएकी थिइनन् । सबै जना खुलेर कुरा गर्ने भएकाले पनि बिहेपछि घरमा सबैसँग नजिक हुन सुशीलालाई गाह्रो भएन । सहज रूपमा उनले घरपरिवारको मन जित्न सफल भइन् । अहिले सुशीलाले ब्यूटीपार्लर सँगसँगै किराना पसल पनि गरेकी छिन् ।
घरव्यवहार सञ्चालनका क्रममा सामान्य झगडा प्रवाश र सुशीलाबीच पनि हुन्छन् । तर झगडाले कहिल्यै ठूलो रूप नलिएको उनीहरू बताउँछन् । भन्छन्, ‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो हो ।’ जहाँ माया हुन्छ, त्यहाँ झगडा पनि हुन्छ । झगडा पर्दा प्रवाश अलि बढी रिसाउँछन्, सुशीला मायाले फकाउँछिन् । ‘रिसाएको बेला खाना समेत नखाइ बसिदिनुहुन्छ’ सुशीलाले भनिन्, ‘मैले नै फकाउनुपर्छ ।’ जब रिस मेटिन्छ, एकअर्काको प्रशंसा गर्न पनि बिर्सदैनन् । सधैं आफ्नो ख्याल गर्ने र मायाले स्याहार गर्ने सुशीलाको बानी प्रवाशलाई औधी मनपर्छ । ‘कहिले काहीं बढी किचकिच गर्ने बानी भने हटाइ दिएको भए हुन्थ्यो जस्तो लाग्छ’ प्रवाशले भने । सुशीलालाई यस्तो विश्वास छ कि प्रवाशले आफूलाई भन्दा बढी सुशीलालाई माया गर्छन् । त्यही बानी नै सुशीलालाई औधी मनपर्छ । प्रवाशले घरको काम गर्दा अलि बढी अल्छी गर्ने बानी भने हटाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ सुशीलालाई ।
यो जोडी एकअर्काेको जन्मदिन र विवाह गरेको दिनको सम्झनामा उपहार साटासाट गर्न पनि बिर्सदैंनन् । एक अर्काेको जन्मदिन राती १२ बजे उठेर एकअर्काेलाई शुभकामना पनि दिने गरेको उनीहरू बताउँछन् । शाक्यलाई सुशीलाले आफूलाई सम्बोधनमा ‘तपाईं’ भन्दा अप्ठ्यारो लाग्ने गर्छ । पराइ बनाएर भनेको जस्तो लाग्ने गर्छ । त्यसैले सुशीलाले शाक्यलाई तिमी भन्ने गर्छिन् । जीवनसाथी भएपछि दुवैमा बराबरी सम्मान हुनुपर्ने उनीहरूको मान्यता छ । उनीहरूका अनुसार दाम्पत्य जीवनलाई सफल र दिगोपना दिनको लागि एकअर्काेमा विश्वास हुन जरुरी हुन्छ । एकअर्काेबीचमा कुरा नलुकाइ खुलस्त भन्न सकेको खण्डमा सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ ।
यो जोडीको जीवनको सबैभन्दा बिर्सनै नसक्ने तितो क्षण भनेको प्रवाशको दुर्घटना हुँदाको क्षण हो । २०७१ कात्तिक २९ गते सानो बिउरेनीमा मोटरसाइकल दुर्घटना हुँदा र टाउकोको अप्रेशन गर्नु पर्दाको क्षण जीवन कै सबैभन्दा तितो क्षण हो । उनीहरू भन्छन्, ‘हाम्रो जीवनकै सबैभन्दा बिर्सनै नसक्ने नराम्रो क्षण भनेको त्यही दुर्घटना हो ।’ शाक्य दुर्घटना हुँदा सुशीलाले गरेको माया र स्याहारले शाक्यलाई अझै पनि उनकै मायाले बचाएको जस्तै लाग्छ । दुर्घटना पीडादायी भए पनि त्यही घटनाले उनीहरूबीचको प्रेमलाई अझ प्रगाढ बनाउन मद्दत पुग्यो ।
साझा बिसौनी संवाददाता ।