आधारभूत अस्पताल निर्माणमा ढिलाइ

सुर्खेत: १७ मंसिर २०७७ मा सरकारले देशभरी तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात गरेको थियो । कर्णाली प्रदेशमा ४२ वटा पालिका छनोट भएका थिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी आधारभूत अस्पतालको निर्माण थालिए पनि उक्त योजना कार्यान्वय हुन सकेको छैन । कर्णालीका अधिकांश ठाउँमा भवन बन्न सकेका छैनन् । निर्माण सुरु भएकाको पनि प्रगति कछुवा गतिमा छ । भवन नबन्दा स्वास्थ्यचौकीको स्तरोन्नतिसमेत हुन सकेको छैन ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. २ सालकोटमा निर्माणाधिन १५ शैड्ढयाको अस्पताल निर्माण म्याद सकिँदा समेत सम्पन्न हुनसकेको छैन । अहिलेसम्म ८७ प्रतिशत मात्र काम सकिएको छ । १३ प्रतिशत काम अझै बाँकी छ । म्याद थप गरेर भवन निर्माण कार्य अघि बढाइने नगरप्रमुख लालविर भण्डारीले बताए । उनले भने, ‘थप एक वर्ष म्याद थप गरेर काम सक्ने योजनामा पालिका छ, संघ सरकारले आवश्यक बजेट नदिँदा काममा ढिलाइ भएको हो ।’

भवन निर्माणको अन्तिम चरणको काम भइरहेको उनले बताए । निर्माणको प्रगति ८७ प्रतिशत भएको छ भने ७२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । उक्त भवनको २०७७ मंसिर १५ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका थिए । कूल १८ करोडको लागतमा भवन तयार हुन लागेको हो । हालसम्म १३ करोड ६० लाख बजेट कार्यान्वयन भएको छ । २०७८ असार २२ गते स्वार÷यसोसियट्स÷रञ्जितकार जेभी धनगडीसँग नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ ।

यस्तै दैलेखको नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वाथ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि भवन निर्माण भइरहेको छ । सरकारले देशभरी १५ शैड्ढयाको अस्पताल बनाउने नीति अनुरूप भवन निर्माणको काम भइरहेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा स्वीकृति पाएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा निर्माणको काम सुरु गरिएको हो । तर प्रगति भने न्यून मात्र भएको छ । जग्गा विवादले भवन निर्माणको काममा ढिलाइ भएको गाउँपालिकाका सव–इन्जिनियर तेजकान्त यादवले जानकारी दिए । उनका अनुसार अस्पतालको ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ३५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । भौगोलिक विकता र जग्गा विवादका कारण अस्पतालको भवन निर्माणमा बाँधा पुगेको यादवले बताए ।

अस्पतालको भवन निर्माणको अवधि २०८० कार्तिकमा सकिएको छ । २०८१ अशोजसम्म म्याद थप गरिएको भएपनि निर्माण कार्य निकै सुस्त छ । नौमूलेमा निर्माण भइरहेको १५ शैड्ढयाको अस्पताल बनेपछि गाउँठाउँबाटै जटिल रोगको उपचार नागरिकले पाउने आशा गरिएको थियो । तर निर्माण कार्यमा भएको ढिलाइले स्थानीयमा नैराश्यता छाएको छ । गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले नौ करोड ९० लाखमा ठेक्का सम्झौता भइ काम अघि बढेको जनाए । अहिलेसम्म पाँच करोड, ९१ लाख ९७ हजार बजेट कार्यान्वयन भएको उनको भनाइ छ । जग्गा विवादले समयमा नै काम सुरु नहुँदा भवन निर्माण कार्यमा ढिलाइ भएको हो । उनले भने, ‘करिब डेढ वर्ष काम नै भएन, पछिल्लो एकवर्षदेखि काम भइरहेको छ, अहिले काम धमाधम भइरहेको छ । म्याद थप गर्दै काम गरिरहेका छौँ ।’

नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । तर पूर्वाधार निर्माणमा भएको ढिलाइले सरकारको लक्ष्य पुरा हुन सकेको छैन । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन निर्माणको काम कतिपय पालिकाले सुरुसमेत गरेका छैनन् । उक्त योजना अन्तरगत जिल्लाका स्थानीय तहमा कम्तीमा पाँचदेखि १५ वेडसम्मको अस्पताल निर्माण हुनुपर्ने हो । कर्णालीका केही पालिकामा अस्पताल भवन निर्माण कार्य जारी भएपनि केहीले जग्गा प्राप्ति गरेर मात्र राखेका छन् ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले स्थानीय तहमा १५ शैड्ढयाको अस्पताल निर्माणको योजना बनाएको हो । आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाइ नागरिकको पहुँच स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुईवर्षभित्र तीन सय ९६ तहमै आधारभूत अस्पताल निर्माण गरिसक्ने लक्ष्य थियो ।

प्रकाशित मितिः   ३२ असार २०८१, सोमबार ०५:०५