सडक स्तरोन्नति
कर्णाली प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भू–भागमा अवस्थित छन् । भौगोलिक अवस्थाका कारण पनि प्रदेशभर पहिरोजस्ता प्राकृतिक विपद्को खतरा छ । यहाँको अधिकांश जमिन भिरालो हुँदा बर्खामा होस् वा खडेरीमा पहिरो गइरहन्छ । स्थानीय तहले प्राविधिक मापदण्डविपरीत भिरालो जमिनमा निर्माण गरेका सडकहरूमा पहिरो जाने हुँदा अवरुद्ध भइरहन्छन् । छरिएर रहेका बस्तीमा मनपरी सडक बनाइँदा पहिरोको जोखिम उच्च हुने गरेको छ । पछिल्लो केही वर्षयता खनिएका अधिकांक नयाँ सडक कच्चि अवस्थामा छन् । वर्षातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको दुःख नागरिकले वर्षाैंदेखि झेल्दै आएका छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध छन् । पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकमा ठाउँ–ठाउँमा पहिरो खसेको छ । वडा कार्यालयहरूमा पुग्ने सबैजसो सडक ठप्प छन् । प्राविधिकविनै हचुवामा खनिएका सडकमा जहाँतही पहिरो गएको छ । सडकहरू प्रयोगविहीन छन् । नयाँ खनेका सडकमा वर्षाले माटो बगाएपछि सडक कि खोला चिन्नै नसकिने अवस्था रहेको छ । पश्चिम सुर्खेतमै रहेको पञ्चपुरी नगरपालिकामा ट्रयाक खुलेदेखि स्तरोन्नति नभएका सडक बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छन् । यहाँका ग्रामीण सडक हरेक वर्ष बर्खाको समयमा बारम्बार अवरुद्ध भइरहन्छन् । यसैगरी पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाले नयाँ निर्माण गरेका सडक खण्डहरू अवरुद्ध छन् । जथाभाबी सडक खन्दा आसपासका बस्तीहरूमा पहिरोको उच्च जोखिम छ । त्यहाँका सबैजसो सडकमा पहिरो जाने गरेको हो । नयाँ निर्माण गरिएका सडकका कारण पालिकाका तीन वटा बस्ती पहिरोको जोखिममा परेका छन् । हचुवामा निर्माण गरिएका सडकले पहिरोको जोखिम झनै बढेको छ । यी केही प्रतिनिधिमूलक ग्रामीण सडकका उदाहरण हुन् । कर्णाली प्रदेशका बस्ती–बस्तीमा सडक लैजाने होडबाजीका कारण सुविधाभन्दा धेरै विपद् निम्तने गरेको छ । विकासको नाउमा जताततै सडक बनाउने विकृतिले विपत्तिको जोखिम बढेको छ ।
स्थानीय सरकार गठन भएयता गाउँमा सडक पु¥याउने होडबाजी चलेको छ । त्यसरी निर्माण गरिएका धेरैजसो सडकको प्राविधिक पक्षलाई बेवास्ता गरिएको छ । सडकको प्राविधिक अध्ययन हुनुपर्छ, छताछुल्ल सडक खनिएकाले जोखिम बढेको छ । संघीय र प्रदेश सरकारजस्तै पालिकाहरूको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरिएपनि त्यसले सुविधाभन्दा बढी सास्ती हुने गरेको छ । सडक विकासको पूर्वाधार हो । तर पूर्वाधार निर्माणलाई प्राविधिक अध्ययनका आधारमा निर्माण गर्ने र निर्माण गरिएका सडकको निरन्तर सुधार र स्तरोन्नतिमा पनि ध्यान पु¥याउन जरुरी छ ।
प्रकाशित मितिः ३१ असार २०८१, सोमबार ०५:०३
सम्पादकीय ।