गाउँगाउँमा सडक, सडकैपिच्छे पहिरो

सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध छन् । वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–गोला, वडा नं. ३ को हुलाकी डाँडादेखि सिमलगैरा, सालडाँडादेखि चौभानचौर, वडा नं. ५ को मायाताल–रेक्चा, वडा नं. ६ को साल्म–कोइरालाबास र वडा नं. १० को घाटगाउँदेखि बिजौरा सडक अवरुद्ध बनेको बनेका हुन् ।

पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकमा ठाउँ–ठाउँमा पहिरो खसेको छ । वडा कार्यालयहरूमा पुग्ने सबैजसो सडक ठप्प छन् । प्राविधिकविनै हचुवामा खनिएका सडकमा जहाँतही पहिरो गएको छ । सडकहरू प्रयोगविहीन छन् । गाउँपालिकाका अध्यक्ष खड्क विक भन्छन्, ‘अहिले गाउँपालिकाको केन्द्रसम्म मात्रै मुस्किलले सवारीसाधन आइपुग्छन् । ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा निकै सास्ती हुनेगरेको छ ।’ नयाँ खनेका सडकमा वर्षाले माटो बगाएपछि सडक कि खोला चिन्नै नसकिने अवस्था रहेको उनले बताए ।

यहाँका नागरिकले बर्सेनिरूपमा सडक सास्ती खेपिरहनुपरेको छ । वर्षातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको दुःख नागरिकले वर्षाैंदेखि झेल्दै आएका छन् । राजमार्गकै सडक निर्माणमा ढिलाइ हुँदा पश्चिमका नागरिकलाई सास्ती भएको हो । पालिका अध्यक्ष विकले गाउँपालिकादेखि सदरमुकाम पुग्नेबेलासम्म नागरिकले सास्ती खेप्ने गरेको बताए । सडक हिलाम्मे भएकाले नागरिकलाई वीरेन्द्रनगर आउजाउमा झनै समस्या भएको उनको भनाइ छ ।

पश्चिम सुर्खेतमै रहेको पञ्चपुरी नगरपालिकाका प्रत्येक वडामा सडक पुुगेको छ । तर ती सडकमा केही महिना मात्रै गाडि चल्छन् । ट्रयाक खुलेदेखि स्तरोन्नति नभएका सडक बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छन् । यहाँका ग्रामीण सडक हरेक वर्ष बर्खाको समयमा बारम्बार अवरुद्ध भइरहन्छन् । अघिल्लो कार्यकालका जनप्रतिनिधिबीच वडामा कसले पहिले सडक पु¥याउने भन्ने प्रतिस्पर्धा चल्यो । वातावरणीय प्रभाव मूल्यांकन र प्राविधिक स्टमेटविना धमाधम सडक खनिए । नगरपालिकाको वडा नंं. ५, ९, १० र ११ बाढी पहिरोको उच्च जोखिमा छन् । नगरपालिकाभर २०७१ को बाढीले ४२ जनाको मृत्यु भएको थियो भने धेरै नागरिक घरविहीन बनेका छन् । अहिले नगरपालिकाका विभिन्न वडामा बाटोहरू अवरुद्ध हुने र नगरपालिकाले पहिरो पन्छाएर सुचारु गर्ने गरेको छ । लेकाली भेगमा सडक खनिएकाले पहिरोको जोखिम बढेको नगरप्रमुख लालविर भण्डारीले बताए ।

यसैगरी पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाले नयाँ निर्माण गरेका सडक खण्डहरू अवरुद्ध छन् । जथाभाबी सडक खन्दा आसपासका बस्तीहरूमा पहिरोको उच्च जोखिम छ । त्यहाँका सबैजसो सडकमा पहिरो जाने गरेको हो । नयाँ निर्माण गरिएका सडकका कारण पालिकाका तीन वटा बस्ती पहिरोको जोखिममा परेका छन् । नगरपालिकाको वडा नं. २ को बराह, खर्चा र साजे र वडा नं. ८ को चिङ्गाड खोला किनारका आरनटुँडा मंगले कोलखोलाका बस्ती पहिरोको जोखिममा रहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार हचुवामा निर्माण गरिएका सडकले पहिरोको जोखिम झनै बढेको छ । प्राविधिक पक्षको ख्यालै नगरी सडक निर्माण गर्दा वडा नम्बर २ र ८ मा पहिरोको जोखिम बढेको उनले जनाए ।

यी केही प्रतिनिधिमूलक ग्रामीण सडकका उदाहरण हुन् । कर्णाली प्रदेशका बस्ती–बस्तीमा सडक लैजाने होडबाजीका कारण सुविधाभन्दा धेरै विपद् निम्तने गरेको छ । विकासको नाउमा जताततै सडक बनाउने विकृतिले विपत्तिको जोखिम बढेको सडक पूर्वाधार क्षेत्रका जानकारहरू बताउँछन् । लामो समयदेखि सडक पूर्वाधारका क्षेत्रमा काम गर्दै आएका इन्जिनियर हरि केसीले स्थानीय सरकार गठन भएयता गाउँमा सडक पु¥याउने होडबाजी चलेको बताए । उनका अनुसार त्यसरी निर्माण गरिएका धेरैजसो सडकको प्राविधिक पक्षलाई बेवास्ता गरिएको छ । केसीले भने, ‘बस्तीको बीचमा सडक खन्नु भएन, छुट्टै स्थानमा सडकको प्राविधिक अध्ययन हुनुपर्छ, छताछुल्ल सडक खनिएकाले जोखिम बढेको छ ।’ संघीय र प्रदेश सरकारजस्तै पालिकाहरूको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरिएपनि त्यसले सुविधाभन्दा बढी सास्ती हुने गरेको छ ।

प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भू–भागमा अवस्थित छन् । भौगोलिक अवस्थाका कारण पनि प्रदेशभर पहिरोजस्ता प्राकृतिक विपद्को खतरा छ । यहाँको अधिकांश जमिन भिरालो हुँदा बर्खामा होस् वा खडेरीमा पहिरो गइरहन्छ । स्थानीय तहले प्राविधिक मापदण्डविपरीत भिरालो जमिनमा निर्माण गरेका सडकहरूमा पहिरो जाने हुँदा अवरुद्ध भइरहन्छन् । छरिएर रहेका बस्तीमा मनपरी सडक बनाइँदा पहिरोको जोखिम उच्च हुने गरेको प्राविधिकहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोबाट कर्णालीमा ठूलो मानवीय क्षति हुनेगरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७, आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको हालसम्म ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।

 

प्रकाशित मितिः   ३१ असार २०८१, आईतवार ०९:४६