फेरिएको गठबन्धन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वास गुमाएका छन् । शुक्रवार उनले आफूमाथि विश्वास छ भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रचण्ड स्वतः पदमुक्त भएका छन् । प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत परेको छ भने विपक्षमा एक सय ९४ मत प¥यो । शुक्रवार दुई सय ५८ सांसद उपस्थित थिए । एक मत कतै पनि परेन । प्रचण्डको प्रस्तावको पक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले मतदान गरेका थिए भने विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले मतदान गरेका थिए ।

प्रचण्ड सरकार १९ महिनामा ढलेको छ । उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका उनी एमालेकै कारण सत्ताविमुख भएका हुन् । आफ्नो तेस्रो कार्यकालमा झन्डै डेढ वर्ष सरकारमा रहँदा प्रचण्डले पाँचौँ पटक विश्वासको मत जाँचेका हुन् । अघिल्ला चार पटकका मतदानमा उनीप्रतिको विश्वासको मत निरन्तर खस्कँदो अवस्थामा थियो । पहिलो पटक २०७९ सालको पुस २६ मा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाबाट विश्वासको मत प्राप्त गरे । दोस्रो पटक २०७९ सालको चैत ६ मा संसद्मा दुई सय ६२ सांसद सहभागी मतदानमा एक सय ७२ जनाबाट विश्वासको मत पाएका उनले तेस्रो पटक २०८० फागुन ३० मा दुई सय ६८ सांसद सहभागी मतदानमा एक सय ५७ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए । चौथो पटक २०८१ जेठ ७ मा एक सय ५८ सांसद सहभागी मतदानमा एक सय ५७ जनाबाट विश्वासको मत प्राप्त पाएका उनी पाँचौ पटक भने असफल भएका छन् । यद्यपि, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेको सरकारले काम गर्ने छ ।

प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । जसअनुसार नेपाली कांग्रेससहितको समर्थनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् । फेरिएको गठबन्धनबाट देशले नयाँ सरकार पाउँदैछ ।

प्रकाशित मितिः   ३१ असार २०८१, आईतवार ०५:०३