पर्यटकीय गन्तव्य बन्दै गिडीदह
जुम्ला: जुम्लाको तातोपानी गाउँपालिकामा अवस्थित गिडीदहलाई पर्यटकीय गन्तव्यकोरूपमा विकास गर्न थालिएको छ । पछिल्लो दुईवर्षभित्रमा तालको क्षेत्रफल नापजाँचदेखि पदमार्ग र धर्मशाला निर्माणलगायतका काम गरिएको छ ।
गुमनाम रहेको गिडीदहमामा २०७९ साल असोज ६ गते गिडीदह सम्मेलन भएको थियो । त्यस लगतै प्रवद्र्धनमा जुटेको तातोपानी गाउँपालिका र ४ नम्बर वडाको सक्रियतामा तालको क्षेत्रफलसमेत सार्वजनिक भइसकेको छ । गिडीदहमा पहिलो पटक ८४ जनासहित टोली पुगेर गिडीदह सम्मेलन गरिएको थियो । सम्मेलनपछि दुई वर्षभित्र गिडीदहमा थुप्रै प्रगति भएका छन् । तातोपानी गाउँपालिका वडा नम्बर ४ ले शनिवार पत्रकार सम्मेलन गर्दै गिडीदहमा दुई वर्षे प्रगति सार्वजनिक गरेको छ ।
तालको नाँपजाँच
कर्णालीकै तेस्रो गहिरो ताल गिडीदहको नाँपजाँच भइ क्षेत्रफल सार्वजनिक भइसकेको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति र तातोपानी गाउँपालिकाकोको सहयोगमा काठमाडौं विश्वविद्यालयले नाँपजाँच गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रतिवेदन अनुसार गिडीदहको लम्बाई एक हजार पाँच सय १० मिटर तथा चौडाई तीन सय १० मिटर र गहिराई ४२ दशमलव आठ मिटर रहेको छ ।
पदमार्ग/धर्मशाला निर्माण
पर्यटकलाई आवतजावतमा सहजताका लागि आर्थिक वर्ष २०८०/०८१ मा गिडीदह धर्मशालादेखि पाटनसम्म पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ । तातोपानी गाउँपालिकाको सात लाख २५ हजार बजेटमा पदमार्ग निर्माण भएको तातोपानी–४ का वडा अध्यक्ष अमर रोकायाले बताए । पदमार्गका साथै अस्थायी प्रकृतिका काठेपुलसमेत निर्माण भएपछि पर्यटकलाई आवतजावतमा सहज भएको उनले जानकारी दिए । गिडीदहको धर्मशालादेखि पाटन सम्म उपभोक्ता समितिमार्फत् पदमार्ग निर्माण भएको हो ।
यस्तै गिडीदह ताल छेउमा धर्मशाला, खानेपानी र शौचालय निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको १५ लाख बजेटमा व्यवस्थित धर्मशाला निर्माण भएको हो । यसबाहेक १८ वटा स्थानमा सुचना पार्टीहरूसमेत राखिएका छन् ।
गिडीदहलाई पर्यटकीय गन्तव्य बनाउने योजनाअनुसार सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताए । तातोपानी–४ गिडीखोलाको भलखोला, फुलचाउल्या हँुदै लामाचौरसम्म सडक निर्माणका लागि २० किलोमिटर दुरिको सडक डीपीआर गरिएको अध्यक्ष चौंलागाईले जनाए । उक्त सडकका लागि वातावरणीय प्रभाव मुल्यांकन भइसकेर कर्णाली प्रदेश सरकारबाट स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए ।
प्रकाशित मितिः ३१ असार २०८१, आईतवार ०५:०२
साझा बिसौनी ।