नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेत: सरकारी रकम हिनामिना गरेको आरोपमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया र उपाध्यक्ष जोशी धामीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालीन अध्यक्ष रोकाय र उपाध्यक्ष धामीसहित पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सव ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष शंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध १९ लाख ५० हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार तत्कालीन पालिका अध्यक्ष रोकाया र उपाध्यक्ष धामी विरुद्ध अख्तियारले कायम गरिएको बिगो जनही कायम गरी कैद र सजायँ मागदावी गरेको छ । त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीबिरुद्ध एकमुष्ट बिगो कायम गरिएको छ भने उपभोक्ता समितिमा रहेकालाई मतियारका रूपमा प्रतिवादी बनाएर बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार पालिकाका तत्कालीन प्रमुख रोकायाले आफ्नै निजी जग्गामा ‘थारी कोइलिङ कृषि तथा पशु फर्म’ खोलेर आफैं प्रोपाइटर बनी फर्मको घेराबार गर्न भनी पालिकाबाट आ.व. २०७६/७७ र आ.व. २०७७/७८ मा त्यसको तारबार गर्न भनी सरकारी रकम खर्च गरेका थिए । अनियमितता ढाकछोप गर्न बदनियतपूर्ण रूपमा आफ्नै सहोदर दाजु हंश रोकाया अध्यक्ष, श्रीमती सेतु रोकाया कोषाध्यक्ष र सचिवमा तुलराज रोकायालाई बनाएर योजना सञ्चालन गरी रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
पालिका अध्यक्षको गैरकानुनी निर्णयलाई स्वीकृति गराएर योजना छनौटदेखि सञ्चालन र रकम निकासा दिएका निर्णयमा उपाध्यक्ष धामी र कर्मचारीहरूलाई कसुरदार देखाएर मुद्दा दायर गरिएको हो । पालिका उपाध्यक्षको हैसियतमा धामीले अनुगमन समिति संयोजक कनेर नापी किताव कार्यसम्पन्न प्रतिवेदन बनाएकोमा, विवरण रुजु र स्वीकृति गराएको उल्लेख छ ।
प्रकाशित मितिः २५ असार २०८१, सोमबार ०५:०२
साझा बिसौनी ।