शैक्षिक पूर्वाधार निर्माणमा प्रगति

सुर्खेत: कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ अन्तर्गत भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा भवन निर्माण थालिएको थियो । अघिल्ला आर्थिक वर्षहरूमा बजेट फ्रिज हुने गरेको थियो भने धेरैजसो विद्यालय भवन अधुरै हुने गरेका थिए । चालु आर्थिक वर्षमा समयमै काम सम्पन्न भएको हो ।

यो वर्ष दैलेखमा चार कोठे भवन निर्माणका लागि ११ स्थानीय तहमा ११ वटै विद्यालय छनोटमा परेका थिए । जसमध्ये दश वटा विद्यालय भवन निर्माणको काम सम्पन्न भएको सामाजिक विकास कार्यालय दैलेखका प्रमुख महेशकेशर खनालले बताए । उनका अनुसार दैलेखको भैरवी गाउँपालिमा छनोटमा परेको विद्यालयको भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । गत मंसिरमा सम्झौता गरेर काम सुरु गरिएको उनले जानकारी दिए । ‘विशेष गरेर भदौमा विद्यालय छनोट भइ काम सुरु हुनुपर्ने हो, ढिलाइ हुँदा मंसिरमा सुरु भयो, अघिल्ला वर्षहरूभन्दा यो पटक समयमै काम सम्पन्न भयो’ खनालले भने । अघिल्ला वर्षहरूमा विद्यालय छनोटमा ढिलाइ हुँदा बजेट फ्रिज हुने र कार्यान्वयन नहुने गरेको उनले जनाए । यो वर्ष जिल्लामा पाँच करोड ५० लाख बजेट गएको थियो ।

यस्तै सल्यान जिल्लामा ११ वटा पालिका ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ अन्तर्गत भवन निर्माणका लागि छनोट भएका थिए । जसमध्ये दश वटा पालिकाको भवन निर्माणको काम सकिएको र एउटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको सामाजिक विकास कार्यालय सल्यानले जनाएको छ । यो वर्ष समयमै काम सुरु गरिएको र भवन निर्माणको काम समयमै सम्पन्न भएको कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले बताए ।

जाजरकोटका सात पालिकामा समयमै विद्यालय भवन निर्माण सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा समयमै विद्यालय छनोट भएर काम सुरु गरिएको सामाजिक विकास कार्यालय जाजरकोटले जनाएको छ । वैशाखमा नै भवन निर्माणको काम सकिएको कार्यालय प्रमुख यज्ञश्वर खत्रीले बताए । उनका अनुसार असोजबाट सम्झौता गरेर भवन निर्माणको काम थालिएको थियो । यो वर्ष सात पालिकामा गरी तीन करोड ५० लाख बजेट जिल्लामा गएको थियो ।

मुगुका चार वटै पालिकामा चार वटा विद्यालय भवन निर्माण भएका छन् । मंसिरमा सम्झौता गरेर भवन निर्माणको काम थालिएको सामाजिक विकास कार्यालय मुगुले जनाएको छ । यो वर्ष चार पालिकामा गरी ५०/५० हजारका दरले दुई करोड बजेट जिल्लामा गएको कार्यालयका सूचना अधिकारी चन्द्रलाल चपाईंले बताए ।

आठ वटा स्थानीय तह रहेको जुम्लामा यो वर्ष चार वटा पालिका मात्र छनोट भएका थिए । चार वटै पालिकामा भवन निर्माणको काम सकिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले बताए । आठ वटै पालिकामा विद्यालय भवन आवश्यक भएपनि छनोट नभएको उनले जनाए । चार पालिकामा यो वर्ष दुई करोड बजेट गएको थियो ।

रूकुमपश्चिममा ६ पालिकामा ६ वटा चार कोठे भवन निर्माण सम्पन्न भएका छन् । गत मंसिर १५ मा सम्झौता गरी काम अघि बढाएको सामाजिक विकास कार्यालय रूकुमपश्चिमले जनाएको छ । यो वर्ष प्रत्येक भवन निर्माणका लागि ५० हजारका दरले तीन करोड बजेट गएको कार्यालय प्रमुख धनन्जय आचार्यले बताए । कालीकोटका नौ वटै पालिकामा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । भवन निर्माणका लागि चार करोड ५० लाख बजेट कार्यान्वयन गरिएको सामाजिक विकास कार्यालय कालीकोटका प्रमुख पूर्णप्रसाद उपाध्यायले जनाए । उनका अनुसार मंसिरमा सम्झौता गरी भवन निर्माणको काम सुरु गरिएको थियो ।

डोल्पामा आठ स्थानीय तहमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठमध्ये दुई वटा पालिकामा काम सम्पन्न भएका छ भने अन्य स्थानीय तहमा काम अन्तिम चरणमा पुगेको सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख धनबहादुर शाहीले जानकारी दिए ।

यो वर्ष सुर्खेतका नौ स्थानीय तहमा नौ वटा विद्यालय छनोट भएका थिए । जसमध्ये सात वटा पालिकाले मात्र भवन निर्माण सम्पन्न गरेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकाले विद्यालय भवन निर्माण नगरेको निर्देशनालयका निमित्त निर्देशम दिपा हमालले बताइन् । उनका अनुसार सुर्खेतका नौ वटै पालिका छनोट भएका थिए, दुई पालिकाले जग्गा प्राप्ति लगायतका कारणले भवन निर्माण गरेनन् ।

 

शैक्षिक पूर्वाधार कार्यक्रम प्रभावकारी

कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयको पूर्वाधार निर्माण तथा सुधारमा उल्लेख्य प्रगति देखिएको दाबी प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको छ ।

स्थानीय पालिकामा विद्यालयका भवन धमाधम निर्माण भएका छन्, हरेक स्थानीय तहमा एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सुरु गरेको हो । चालु आर्थिक वर्षमा कर्णालीका ७९ स्थानीय तहलाई ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । गत वर्षभन्दा बजेट थप गरेर कार्यक्रम कार्यान्वयन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अघिल्ला वर्षमा प्रत्येक पालिकालाई तोकिएको विद्यालयमा पूर्वाधार निर्माण गर्न ४० लाखका दरले बजेट दिने गरिएको थियो । यो वर्ष बजेट बढाएर ५० लाख बनाइएको छ । विद्यालयले प्राप्त बजेटबाट साविकको शिक्षा विभागले तोकेको भवन डिजाइन मापदण्डमा रहेर पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मापदण्ड तोक्ने र स्वीकृति दिने गरेको छ ।

 

प्रकाशित मितिः   २५ असार २०८१, सोमबार ०५:०५