अस्पताललाई बेवास्ता

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारेको थियो । अहिले संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताल निर्माण भइरहेको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शैय्याको अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शैय्या हुँदै ५० शैय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना अलपत्र परेको हो । आगामी आर्थिक वर्षमा बजेट कटौती भएसँगै अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा बजेट काटिएपछि अस्पताल स्तरोन्नतिको काम अन्योलमा परेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकारले आफ्नो मातहतमा राख्नेगरी अस्पताल स्तरोन्नतिको योजना अघि सारेको थियो । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा बजेट नै कटौती गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेर अस्पताल स्तरोन्नतिको कार्य अघि बढाइएको थियो । उक्त आर्थिक वर्ष अस्पताल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन भएन । बजेटको स्रोत सुनिश्चित नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा समेत बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको छैन । पञ्चपुरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत तयार पारिसकेको छ । अघिल्ला आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन हुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । दुई आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुन सकेको थिएन, आउँदो वर्ष बजेट नै कटौती भयो । चालु आर्थिक वर्षमा ५० शैय्याको अस्पताल स्तरोन्नतिको प्रक्रिया सुरु भएको थियो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्य अनुसार अस्पताल स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरिएको भएपनि स्रोत सुनिश्चितता हुन नसक्दा ५० शैय्याको अस्पताल स्तरोन्नतिको कार्य अघि बढ्न सकेको थिएन ।

नगरपालिकाले निर्माण गरेको डीपीआर अनुसार ५४ करोडको लागत अनुमान रहेको छ । प्रदेश सरकारले न्यून बजेट विनियोजन गर्ने र बजेट नै कटौती गरेसँगै अस्पताल स्तरोन्नतिको योजना असफल बनेको हो । न्यून बजेट विनियोजन गर्दै आइरहेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट नै कटौती गरेपछि योजना अघि बढाउन समस्या भएको नगरपालिकाले जनाएको छ । पश्चिमका नागरिकको आवश्यकतासँग जोडिएको विषय भएकाले अस्पताल स्तरोन्नतिको योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राख्न जरुरी छ ।

प्रकाशित मितिः   १९ असार २०८१, मंगलवार ०५:०३