स्थापना दिवसमा प्रभातफेरी

सुर्खेत, १६ चैत । (साबिस)
नेपाल पत्रकार महासंघ सुर्खेतले वुधवार वीरेन्द्रनगरमा प्रभातफेरी तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । महासंघको ६२ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय मंगलगढीचौकबाट निकालिएको प्रभातफेरी पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा पत्रकारहरूले महासंघले पत्रकारको पेसागत सुरक्षा र सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा महासंघ सुर्खेतका पूर्व अध्यक्ष मोतीलाल पौडेल र दुर्गा थापाले अब महासंघले श्रमजीवि पत्रकारहरूको पक्षमा काम गर्नुपर्ने बताए । यस्तै सल्लाहकार कलेन्द्र सेजुवालले स्थानीय निकायको निर्वाचनमा पत्रकारहरू संवेदनशील भएर लाग्न सुझाव दिए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टीका विष्ट, प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापा र प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कँडेल लगायतले आफ्ना भनाइ राखेका थिए । महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   १७ चैत्र २०७३, बिहीबार ११:०७