छिन्चुमा सोलार बत्ती जडान
उद्योग वाणिज्य संघ–भेरीको नेतृत्वमा भेरीगंगा नगरपालिकाको मुख्य बजार केन्द्र छिन्चुमा पहिलो पटक सडक सोलार बत्ती जडान भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ११ लाख, भेरीगंगा नगरपालिकाको तीन लाख ३८ हजार र उद्योग वाणिज्य संघको तीन लाख ९४ हजार ६ सय ५० गरी कूल १८ लाख ३२ हजार ६ सय ५० रूपैयाँको लागतमा सडक सोलार सडक बत्ती जडान गरिएको हो ।
सडक बत्ती जडान गर्ने जिम्मा पाएको एक्सन एक्टिभ इनर्जी प्रालि काठमाडौंले निर्धारित समयभन्दा अघि नै आफ्नो काम सम्पन्न गरी सडक बत्ती हस्तान्तरण गरेको हो । सडकमा जडान भएको सोलार बत्तीमा दुई सय वाटको सोलार पाता, एक सय एम्पिएरको जेल ब्याट्री र ४० वाटको एलईडी बत्ती जडान गरिएको छ । अँध्यारो भएपछि स्वचालित रूपमा बत्ती बल्ने र उज्यालो भएपछि आफै बन्द हुने सिस्टम जडान गरिएको कम्पनीका मार्केटिङ म्यानेजर जनक खड्काले बताए । जडान भएका सामग्रीहरूको पाँच वर्षको वारेण्टी र सोलार पाताको २० वर्षको वारेन्टी रहेको छ । यसअघि लोडसेडिङ्गको समयमा बजारक्षेत्रमा पसलहरू चोरी हुने घटना भएकोमा रात्रीको समयमा पनि उज्यालोको कारण गस्ती गर्न र त्यस्ता अवाञ्छित क्रियाकलाप रोक्न समेत सहज भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
रात्रीको समयमा आउने सवारी साधन र रात्रीमा बाटो काट्ने पैदल यात्रीलाई समेत समस्या परेकोमा यस आर्थिक वर्षमा उद्योग वाणिज्य संघ भेरीको पहलमा छिन्चु बजारक्षेत्रमा सडक बत्ती जडान गरेको र निकट भविष्यमा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको बजार क्षेत्र र सिम्ता गाउँपालिकाको बजारक्षेत्रमा समेत सौर्य सडक बत्ती जडान गर्ने उद्योग वाणिज्य संघका सचिव सोमराज ढकालले बताए ।
साझा बिसौनी संवाददाता ।