म्यादी प्रहरी बन्नेको घुइँचो

तीन हजार आवेदन पर्ने अनुमान, महिलाको संख्या उत्साहपूर्ण


सुर्खेत, १६ चैत ।
दिउँसो १२ बजेको चर्को गर्मी । हातमा कागजपत्र समातेर उनी भीड छिचोल्दै थिइन् । पुरुषहरूको भीड छिचोलेर अगाडि जाँदै गर्दा उनको शरीर पसिनाले भिजिसकेको थियो । लामो प्रयासपछि उनले आफ्नो आवेदन दर्ता गरिन् । भीडबाट बाहिर निस्कँदा उनको मुहारमा खुशी झल्किन्थ्यो । मानौं उनले कुनै ठूलो सफलता नै हात पारिन् ।
म्यादी प्रहरीका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रामघाटबाट आएकी पवित्रा रोकायले भनिन्, ‘म स्नातक अध्ययन गर्दैछु, म रहरले यहाँ आएकी होइन । बल्लतल्ल देशमा चुनाव हुँदैछ, चुनावलाई शान्तिपूर्ण बनाउन पनि म आफै म्यादीमा भर्ना हुने निर्णय गरें ।’ अहिले पनि गाउँमा महिलाहरू कमजोर हुन्छन् भन्ने सोच रहेको भन्दै उनले उक्त सोचाइलाई चिर्न आफूले म्यादीमा भर्ना भएर सुरक्षा दिने सुनाइन् । ‘हामीलाई कमजोर भन्छन्, तर अब छनौट भएर चुनावमा पुरुष सरह नै खट्नेछौं’ उनले थपिन्, ‘महिला कमजोर छैनन्, जिम्मेवारी पाएपछि चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्न भरपर्दो सुरक्षा दिनेछौं ।’
सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उक्त चुनावलाई लक्षित गर्दै सरकारले दुई महिनाका लागि म्यादी प्रहरीको भर्ना खोलेको छ । सुर्खेतमा म्यादी प्रहरीमा पुरुषसँगै महिलाहरूको पनि आकर्षण बढेको हो । म्यादी बन्ने दौडमा ग्रामीण क्षेत्रबाट समेत महिलाहरू आवेदन दिन सदरमुकाम वीरेन्द्रनगर आएका छन् । आवेदन दिनेमा अधिकांश किशोरीहरू छन् भने विवाहित तथा क्याम्पसमा पढ्दै गरेका महिलाहरूले पनि आवेदन दिएको प्रहरीले जनाएको छ । खाली समयको सदुपयोग हुने, अनुभवको लागि मात्र र यही प्रमाणका आधारमा भविष्यमा प्रहरीमा भर्ना हुँदा सहज हने भन्दै आवेदन दिनेको लर्को नै लागेको छ । आवेदन दिनेको संख्या ठूलो भएपछि प्रहरीलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको हो ।
वीरेन्द्रनगरकी टीका सुनारले भनिन्, ‘महिलालाई त घरको कामदार मात्र ठान्छन्, हामी पनि प्रहरी भएर सुरक्षा दिन सक्छौं । पहिला छनौटमा पर्नुप¥यो, त्यसपछि चुनावलाई शान्तिपूर्ण बनाउन हामी डटेर लाग्नेछौं ।’ उनले वर्षौंपछि देशमा स्थानीय चुनाव हुन लागेको भन्दै घरमा खाली बसेर समय खेर फाल्नुभन्दा म्यादीमा भर्ना भएर सुरक्षा दिने बताइन् । ‘महिला लडाकु हुँदैनन्, चुनावमा झडप भयो भने के गर्छौ ? भनेर तर्साउँछन्’ उनले थपिन्, ‘अवसर पाएपछि हामीले पनि गर्न सक्छौं, असम्भव केही पनि छैन । अब म्यादी भएर चुनावमा खट्ने मेरो अठोट हो, त्यसपछि यो समाजले विश्वास गर्ला नि ।’ उनीसँगै उनका अन्य साथीहरूले पनि आवेदन दिएका छन् । बेरोजगारीका कारण पनि म्यादीमा आवेदन दिनेहरूको भीड लागेको हो । अधिकांश युवायुवतीहरूले रोजगारी नहुँदा आफूहरू दुई महिनाका लागि भए पनि खर्च जोहो गर्न आवेदन दिएको बताए ।
सुर्खेतमा बुधवारसम्म करिब दुई हजारले आवेदन दिएका छन् । यो संख्या बढेर तीन हजारसम्म पुग्ने प्रहरीले अनुमान गरेको छ । जसमध्ये महिलाहरूको संख्या पनि उत्साहपूर्ण रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले महिलाहरूले पनि उत्साहका साथ आवेदन दिएको बताए । उनका अनुसार बुधवारसम्म तीन सय महिलाले आवेदन दिएका छन् । अन्तिम दिनसम्म यो संख्या पनि बढ्ने उनको भनाइ छ । उनले भने, ‘हामीले अपेक्षा नै गरेका थिएनौं, दुई महिनाको जागिरका लागि पनि थाम्नै नसक्ने भीड छ । महिलाहरूको पनि उस्तै आकर्षण देखिन्छ, यो सबै बेरोजगारीले गर्दा हुनसक्छ ।’ प्रहरीका अनुसार युवायुवतीहरू बढी आकर्षित भएका छन् । यस्तै कतिपय बच्चा साथमा भएका महिलाहरूले पनि म्यादीमा आवेदन दिएका छन् । यसले पनि बेरोजगारी मुख्य कारक भएको पुष्टी गरेको प्रहरीको भनाइ छ ।
म्यादीमा आवेदन दिने अन्तिम समय आज (बिहीवार) सम्म रहेको छ । म्यादी प्रहरीका लागि पुरुषसँगै महिलाहरूको पनि दौडधुप देखेर सुरक्षाकर्मीहरू समेत दङ्ग परेका छन् । जागिर चुनावका लागि मात्र लक्षित भएको र अप्रिय घटना हुँदा ज्यान नै असुरक्षित
हुनसक्ने अवस्थामा पनि महिलाहरूको आकर्षण र अठोटले आफूहरूमा थप उत्साह थपेको आवेदन संकलनमा जुटेका सुरक्षाकर्मी बताउँछन् । अपेक्षा गरेभन्दा बढी महिलाहरूको आवेदन परेपछि प्रहरीले छनौटमा पनि सोही अनुपातमा पर्ने जनाएको छ । म्यादीमा भर्ना हुन भन्दै गाउँबाट अधिकांश युवाहरू ऋण तानेर आएका छन् । यस्तै अधिकांशले आफ्नो पढाइलाई पनि थाँती राखेका छन् ।

प्रकाशित मितिः   १७ चैत्र २०७३, बिहीबार ११:०९