खस्कियो कर्णालीमा एसईई नतिजा: आधाभन्दा बढी विद्यार्थी ‘अनुत्तीर्ण’
सुर्खेत: राष्ट्रिय परीक्षा बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीका आधारमा सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कर्णालीका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । विगत सात वर्षदेखि प्रचलनमा रहेको व्यवस्थालाई परिवर्तन गरेर यस वर्षदेखि नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली लागू गरिएको थियो । ग्रेडिङ प्रणालीका आधारमा नतिजा प्रकाशन हुँदा प्रदेशभर आधाभन्दा बढी ५९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशबाट एसईई दिएका ३५ हजार चार सय ४६ विद्यार्थीमध्ये १४ हजार ६ सय ५४ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार २० हजार सात सय ७९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । यो वर्ष प्रदेशभरबाट ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।
जाजरकोटमा ५५ प्रतिशत उत्तीर्ण
जाजरकोटबाट चार हजार पाँच सय ७२ परीक्षार्थीले एसईई दिएकोमा दुई हजार पाँच सय २९ उत्तीर्ण भएका छन् । दुई हजार ४३ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा ५५ दशमलव ३४ रहेको शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटकी प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
सुर्खेतमा ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतीजामा सुर्खेतका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । जिल्लाभर ३३ दशमलव ७४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।
सुर्खेतबाट सात हजार नौ सय ७९ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ६ सय ९२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । जिल्लाका पाँच हजार दुई सय ८७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।
दैलेखमा न्यून विद्यार्थी मात्र उत्तीर्ण
दैलेख जिल्लाबाट पनि न्यून विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस वर्ष जिल्लाबाट चार हजार नौ सय १५ जनाले एसईईको परीक्षा दिएकोमा आठ सय २८ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
यस्तै, चार हजार ८७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रतन विष्टले बताए । उनका अनुसार जिल्लामा १५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।
- सल्यानमा ५० प्रतिशत उत्तीर्ण
सल्यानको परीक्षाफल पनि राम्रो देखिएको छैन । यो वर्ष चार हजार पाँच सय २९ विद्यार्थीले एसईईको परीक्षा दिएकोमा दुई हजार तीन सय तीन जना विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लालबहादुर घर्तीमगरले यस वर्ष ५० दशमलव ८७ प्रतिशत उत्तीर्ण भएको बताए । जिल्लाभरका दुई हजार दुई सय २६ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।
- हुम्लामा ४६ प्रतिशत उत्तीर्ण
हुम्ला जिल्लाबाट ४६ दशमलव १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक हजार एक सय ६९ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा पाँच सय ४० विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका ६ सय २९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको निमित्त शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश आलेमगरले बताए ।
- रूकुमपश्चिममा ६४ प्रतिशत उत्तीर्ण
रूकुमपश्चिम जिल्लाबाट यो वर्ष तीन हजार पाँच सय ६० जनाले एसईई परीक्षा दिएका थिए । जसमध्ये दुई हजार दुई सय २३ जना उत्तीर्ण भएका छन् । जिल्लाका ६४ दशमलव सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा पुनमगरले बताए । उनका अनुसार एक हजार दुई सय ७७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।
- कालीकोटमा ३७ प्रतिशत उत्तीर्ण
कालीकोटबाट एसईई मा ३७ दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट यस वर्ष तीन हजार ६ सय १५ जनाले एसईई परीक्षा दिएकोमा एक हजार तीन सय ६६ विद्यार्थी उत्तीर्ण भए । दुई हजार दुई सय ४९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको निमित्त शिक्षा विकास तथा समन्वय इकाई प्रमुख प्रकाशचन्द्र धितालले बताए । उनका अनुसार ६२ दशमलव २१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
- मुगुमा ४४ प्रतिशत उत्तीर्ण
मुगु जिल्लाबाट ४४ प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खड्क भियालका अनुसार एक हजार ३० जनाले एसईई परीक्षा दिएका थिए । त्यसमध्ये चार सय ५४ जना मात्र उत्तीर्ण भएका छन् । पाँच सय ७६ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।
एक विद्यार्थीले मात्र ल्याए ४ जीपीए
कर्णाली प्रदेशबाट एकमात्रै विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । बिहीवार सार्वजनिक भएको नतिजा अनुसार सुर्खेतस्थित भ्याली मेरिडियन एकेडेमी बोर्डिङका छात्र दिनेश शर्माले ४ जीपीए प्राप्त गरेका हुन् । उनी कर्णालीबाट ४ जीपीए प्राप्त गर्ने एक्ला विद्यार्थी हुन् । शिक्षा विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशका सामुदायीक विद्यालयमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य छ ।
खस्किदो शैक्षिक गुणस्तर
कर्णाली नतिजामा कमजोर देखिएको छ । यहाँका थोरै विद्यार्थीले मात्रै उच्च ग्रेड ल्याएका छन् । अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि पर्याप्त विषयगत शिक्षक छैनन् । त्यसको असर एसईईको पछिल्लो नतिजा पनि परेको छ । जनशक्ति, भौतिक संरचना र शैक्षिक सामग्रीको अभावले गुणस्तर सुध्रिन नसकेको जानकारहरू बताउँछन् । सुर्खेत बहुमुखी क्याम्पस प्रमुख माधवप्रसाद खनालले यस पटकको एसईईमा कर्णालीको नतिजा कमजोर हुनुमा थुप्रै कारण रहेको बताए । समयमै पाठ्यपुस्तक उपलब्ध नहुनु, विषयगत शिक्षक नहुँनुजस्ता कारणले नतिजामा असर गरेको खनालले जनाए । ‘माध्यमिक तहमा शिक्षण सिकाइ, परीक्षा प्रणाली र परीक्षण गर्ने विधिको समेत तालमेल भएको पाइँदैन,’ उनले भने, ‘हामीले विद्यार्थीलाई आधारभूत रूपमै प्रभावकारी ज्ञान दिन सकिरहेका छैनौँ । जसले गर्दा शैक्षिक गुणस्तर बढ्न सकेको छैन ।’
खनालले शिक्षा क्षेत्र राज्यको बेवास्ताको मारमा परेको भन्दै स्थानीय सरकारले विद्यालय शिक्षालाई आवश्यक व्यवस्थापन नगरेको जनाए । संघीयतापछि माध्यमिक तहसम्मका विद्यालय हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ । तर, स्थानीय सरकारको प्राथमिकतामा शैक्षिक संस्थाहरूको विकास पर्न नसकेको सरोकारवालाहरू बताउँछन् । विकासका अन्य पूर्वाधारमा ठूलो लगानी गरिरहेका स्थानीय तहले शिक्षामा भने न्यून बजेट विनियोजन गर्दै आएका छन् । आवश्यक शिक्षा नीति बनाउनेदेखि स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्नेसम्मको अधिकार क्षेत्र भएका स्थानीय सरकारले यसमा कमै चासो दिएको देखिन्छ ।
एसईई नतिजा मात्र नभइ विभिन्न अध्ययनहरूले समेत अन्य प्रदेशको तुलनामा कर्णालीको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि कमजोर रहेको देखाएका छन् । सरकारले यहाँको सार्वजनिक शिक्षामा आवश्यक लगानी नगर्दा पनि गुणस्तर वृद्धि हुन नसकेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कर्णाली प्रदेश संयोजक भूपेन्द्र कँडेल बताउँछन् । कर्णालीका कतिपय विद्यालयमा अहिले पनि समयमै पाठ्यपुस्तक पुग्दैनन् । विषयगत शिक्षक र पाठ्यपुस्तक नै नहुँदा शैक्षिक गुणस्तरमा असर परिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘विद्यार्थीले पढाउने शिक्षक र पढ्ने सामग्री नै नपाएपछि गुणस्तर सुधार हुने सम्भावना नै रहेन ।’ निजी विद्यालयमा शिक्षक र भौतिक पूर्वाधारको राम्रो प्रबन्ध भएपनि सामुदायिक विद्यालयमा अत्यावश्यक क्षेत्रमा समेत लगानी नहुँदा गुणस्तर वृद्धिमा चुनौती रहेको उनले बताए ।
प्रकाशित मितिः १६ असार २०८१, शनिबार ०५:०५
रजनी याेगी ।