ज्येष्ठ नागरिकलाई सास्ती
सरकारले आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । स्थानीय तहहरूले सोहीअनुसार सूचना जारी गरेका छन् । जसका कारण अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा परिचयपत्र बनाउनेहरूको भिड लाग्ने गरेको छ । प्रशासनबाट नियमित रूपमा गरिने नागरिकता प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, विभिन्न प्रयोजनका सिफारिसको कामसँगै ज्येष्ठ नागरिकहरू थपिएका छन् । सेवाग्राहीको संख्या बढेसँगै चर्को घाममा घण्टौँ लाइनमा बस्नुपर्ने भएपछि ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको छ । भिड बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ७ बजे नै सेवा दिन सुरु गरेको छ । यद्यपि, ज्येष्ठ नागरिकको सास्ती कम भएको छैन । उनीहरूलाई मध्यान्हको चर्को घाममा पनि पालो पर्खिएर बस्नुपर्ने बाध्यता छ ।
सामाजिक सुरक्षा भत्ता पाउनका लागि पुरानो नागरिकताका अक्षरहरू नबुझिने तथा प्रशासनको प्राविधिक प्रर्णालीले नलिने हुँदा नयाँ प्रतिलिपि बनाउनुपर्ने र नयाँ बनाएको प्रतिलिपिबाट मात्रै परिचयपत्रका लागि विवरण भर्न मिल्ने तथा विवरण संकलन गर्न र परिचयपत्र लिन पनि स्वयम् व्यक्ति आफै आउनुपर्ने हुनाले वृद्धवृद्धा तथा अशक्त नागरिकले दुःख पाउनुपरेको हो । बिहान ६ बजेदेखि सेवा सुरु हुनेभएपछि नागरिकहरू एकाबिहानैदेखि प्रशासन कार्यालयमा पुगिसकेका हुन्छन् । त्यति गर्दा पनि लामो समय पालो कुर्नुपर्छ । ज्येष्ठ नारिकहरूलाई एकातिर शारिरिक अशक्तताले पिरोलेको देखिन्छ भने अर्कोतर्फ चर्को गर्मीमा दिनभर पालो कुर्नुपर्दा थप सास्ती हुने गरेको छ । ज्येष्ठ नागरिकलाई प्रदान गरिने सेवालाई सहज बनाउनुपर्ने हो । त्यसतर्फ भने प्रशासनको ध्यान पुगेको छैन । न बस्नका लागि पर्याप्त र व्यवस्थित ठाउँ नै छ । कैयन् सेवाग्राही भुइँमा बसिरहेका र सुतिरहेका भेटिन्छन् ।
प्रशासन कार्यालयले भने राष्ट्रिय परिचपत्रको सेवा सहज बनाउने प्रयास गरिरहेको जनाएको छ । सकेसम्म एकै दिनमा सेवा दिने गरी सहजीकरण गरेको दावी गरेको छ । त्यसका लागि प्रशासन कार्यालयमा दुई वटा ‘स्टेशन’ थपेर चारवटा पु¥याएको र पश्चिम सुर्खेतको इलाका प्रशासन कार्यालय बाबियाचौर, पूर्वी सुर्खेतको मेहलकुना इलाका प्रशासनबाट सेवा दिइरहेको छ । अहिले दैनिक तीन सय बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि मात्रै आइरहेका छन् । परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभागले दुई जना थप कर्मचारी जिल्लामा पठाएको छ । यद्यपि, सेवा अझै ज्येष्ठ नागरिकमैत्री हुन सकेको छैन । राष्ट्रिय परिचयपत्र होस् या अन्य कुनै पनि राज्यले प्रदान गर्ने सेवा ज्येष्ठ नागरिकका लागि सहज र सुलभ हुनु जरुरी छ । घण्टौं लाइन लागेर वा पालो कुरेर सेवा लिनुपर्ने अवस्थालाई अन्त्य गर्दै झण्झट र सास्तीविना सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व पनि हो ।
प्रकाशित मितिः १३ असार २०८१, बिहीबार ०५:०३
सम्पादकीय ।