राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती

प्रशासनमा सेवाग्राहीको चाप, दिनभर लाइन लाग्नुपर्ने बाध्यता

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ की ८७ वर्षीय मनसरा थापा सोमवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रतिक्षालयमा भेटिइन् । राष्ट्रिय परिचयपत्र बनाउनका लागि उनी बिहान ६ बजे नै छोरीलाई साथमा लिएर प्रशासन कार्यालय पुगेकी थिइन् । कार्यालयमा सेवाग्राहीको भिड हुँदा पालो नपाइने डरले एकाबिहानै कार्यालय पुगेपनि उनी पुग्नुअघि नै अन्य सेवाग्राही समेत जम्मा भइसकेका थिए । उनले दिनभर कुर्नुप¥यो ।

मनसराले अहिलेसम्म नेपाली नागरिकताको प्रमाणपत्र देखाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी थिइन् । तर पछिल्लो समय सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उनले सोमवार दिनभर जिल्ला प्रशासन कार्यालय परिसरमा बिताइन् । राम्रोसँग हिँड्डूल गर्न समेत नसक्ने अवस्थामा पुगेकी मनसरालाई प्रशासनमा पुगेर दिनभर पालो कुर्नु पनि कम सास्तीपूर्ण थिएन । उनकी छोरी परिचयपत्रका लागि लाइनमा बसेकी थिइन्, मनसरा भने प्रतिक्षालयको फलामे बेञ्चमा ढल्किएर कुरिरहेकी थिइन् । ‘अहिलेसम्म नागरिकताबाटै सबै काम भएको थियो, जीवनको यो समयमा राष्ट्रिय परिचयपत्र चाहियो भनेर सरकारले बुढापाकालाई दुःख दियो,’ उनले गुनासो गरिन्, ‘टाठाबाठा र आफ्ना मान्छे हुनेले भित्रभित्रै काम सक्दा रहेछन् । अरू बुढापाका लाइन बस्नु पर्दो रहेछ ।’

राष्ट्रिय परिचयपत्र बनाउनकै लागि जिल्ला प्रशासन कार्यालय पुगेका वीरेन्द्रनगर नगरपालिका–११ का ७० वर्षीय सहवीर बुढा फारमका लागि छोरालाई लाइनमा राखेर आफू भुइँमा बसिरहेका थिए । उनले पनि सरकारले बुढापाकालाई नचाहिँदो दुःख दिएको गुनासो गरेका छन् । ‘बिहानै ७ बजे आएर पालो कुरेको, २ बजिसक्यो अझै पालो आएको छैन,’ बुढाले प्रश्न गरे, ‘यस्तो टन्टलापुर घाम र गर्मीमा बुढापाकालाई यसरी दुःख दिएर सरकारले के गर्न खोजेको हो ?’ ज्येष्ठ नागरिकलाई छुट्टै लाइनको व्यवस्था गर्नुपर्ने उनको माग छ । सहज सेवा पाउनुपर्ने ठाउँमा झन् सास्ती पाइरहेको जनाए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ की लालमाया सिंहले पनि सरकारी निकायले ज्येष्ठ नागरिकहरूलाई चर्को गर्मीमा सास्ती दिएको बताइन् । ‘सरकारले घरआँगनमा सिंहदरबार पु¥याएको यही हो ? सबै काम स्थानीय तहमै हुन्छ भनेपछि राष्ट्रिय परिचयपत्र बनाउन किन जिल्ला प्रशासनमा पठाएको ?’ प्रश्न गर्दै उनले भनिन्, ‘राज्यले ज्येष्ठ नागरिकहरूलाई सहजरूपमा सेवा पाउने वातावरण बनाउनुपर्छ । यसरी दुःख दिनु हुँदैन ।’ ज्येष्ठ नागरिकको सम्मान र सुविधाका लागि दिइएको सामाजिक सुरक्षाभत्ताकै लागि सास्ती भोग्नुपरेको भन्दै गुनासो व्यक्त गरिन् ।

सरकारले आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । स्थानीय तहहरूले सोहीअनुसार सूचना जारी गरेका छन् । जसका कारण अहिले प्रशासनमा परिचयपत्र बनाउनेहरूको भिड लाग्ने गरेको छ । प्रशासनबाट नियमित रूपमा गरिने नागरिकता प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, विभिन्न प्रयोजनका सिफारिसको कामसँगै ज्येष्ठ नागरिकहरू थपिएका छन् । सेवाग्राहीको संख्या बढेसँगै चर्को घाममा घण्टौँ लाइनमा बस्नुपर्ने भएपछि ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको छ । भिड बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ७ बजे नै सेवा दिन सुरु गरेको छ । यद्यपि, ज्येष्ठ नागरिकको सास्ती कम भएको छैन । उनीहरूलाई मध्यान्हको चर्को घाममा पनि पालो पर्खिएर बस्नुपर्ने बाध्यता छ ।

सामाजिक सुरक्षा भत्ता पाउनका लागि पुरानो नागरिकताका अक्षरहरू नबुझिने तथा प्रशासनको प्राविधिक प्रर्णालीले नलिने हुँदा नयाँ प्रतिलिपि बनाउनुपर्ने र नयाँ बनाएको प्रतिलिपिबाट मात्रै परिचयपत्रका लागि विवरण भर्न मिल्ने तथा विवरण संकलन गर्न र परिचयपत्र लिन पनि स्वयम् व्यक्ति आफै आउनुपर्ने हुनाले वृद्धवृद्धा तथा अशक्त नागरिकले दुःख पाउनुपरेको हो ।

प्रशासन कार्यालयले भने राष्ट्रिय परिचपत्रको सेवा सहज बनाउने प्रयास गरिरहेको जनाएको छ । ‘सेवाग्राही थपिएपछि भिड बढेको छ । हामीले छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूबाट बिहान ७ बजेदेखि नै काम गरेका छौँ,’ सूचना अधिकारी सूर्यबहादुर थापा भन्छन्, ‘सकेसम्म एकै दिनमा सेवा दिने गरी सहजीकरण गरेका छौँ ।’ थापाले छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयमा दुई वटा ‘स्टेशन’ थपेर चारवटा पु¥याएको र पश्चिम सुर्खेतको इलाका प्रशासन कार्यालय बाबियाचौर, पूर्वी सुर्खेतको मेहलकुना इलाका प्रशासनबाट सेवा दिइरहेको जानकारी दिए ।

सूचना अधिकारी थापाका अनुसार अहिले दैनिक तीन सय बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि मात्रै आइरहेको जनाए । परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभागले दुई जना थप कर्मचारी जिल्लामा पठाएको छ ।

 

प्रकाशित मितिः   १२ असार २०८१, मंगलवार १०:००