वीरेन्द्रनगरको बजेट तीन अर्ब बढी

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरेको छ । सोमवार नगर उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षको लागि तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । जसअन्तर्गत चालुतर्फ कूल बजेटको ४८ दशमलव ९३ प्रतिशत अर्थात् एक अर्ब ७५ करोड ७३ लाख ६८ हजार नौ सय ९९ रूपैयाँ र पुँजीगततर्फ ५१ दशमलव सात प्रतिशत अर्थात् एक अर्ब ८३ करोड ४५ लाख रकम विनियोजन गरिएको छ ।

नगरसभामा बजेट पेस गर्दै उपप्रमुख खनालले कृषि विकास कार्यक्रम तर्फ ५६ लाख ५० हजार रकम विनियोजन गरिएको जनाए । त्यसैगरी पशुपन्छी विकास कार्यक्रमतर्फ ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ ६१ लाख ५० हजार, जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पतालतर्फ चार करोड पाँच लाख ५८ हजार रकम विनियोजन गरिएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गतर्फ एक करोड १६ लाख ३० हजार रकम विनियोजन गरेको छ । नगरपालिकाले शिक्षा, युवा तथा खेलकुदतर्फ सात करोड ९० लाख ६७ हजार रकम छुट्याएको छ । वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन तर्फ दुई करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनतर्फ दुई करोड १७ लाख ४५ हजार, नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार रकम विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।

कृषि पशु, खानेपानी, सुशासन तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, झोलुङ्गे पुलजस्ता कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान एक अर्ब ६९ करोड २८ लाख ५१ हजार रहेको जनाइएको छ । चालु आर्थिक वर्षमा २२ करोड आन्तरिक आम्दानी गरेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा कर प्रणालीमा सुधार गरी ३६ करोड ८३ लाख चार हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

 

नीति तथा कार्यक्रम

वीरेन्द्रनगर नगरपालिकाले आफै नगर बस सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । सुर्खेतमा रहेका निजी यातायात व्यवसायीले पटक –पटक उपत्यकामा नगर बस सञ्चालन गरेपनि दिगो नभएपछि नगरपालिका आफैले सञ्चालन गर्ने भएको हो । आगामी आर्थिक वर्ष २०८१–०८२ मा नगरपालिकाको आन्तरिक व्यवस्थापनमा सर्वसुलभ र सुलभ रूपमा वीरेन्द्रनगरले नगर यातायात सञ्चालन गर्ने नीति तथा कार्यक्रम राखेको छ ।

वीरेन्द्रनगरको १५औँ नगर सभामा सभाअध्यक्ष रहेकी नगरप्रमुख मोहनमाया ढकालले राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएकाले आगामी तीन वर्षमा कार्यसम्पन्न गरी खानेपानी व्यवस्थापन गर्न तीव्रताका साथ कार्य अघि बढाइने बताइन् । उनले नगर क्षेत्रमा तत्काल खानेपानीको वैकल्पिक माध्यम, मुल सुधार, पानी वितरण प्रक्रियामा सुधार र डिप बोरिङ व्यवस्थापन गरिने जनाइन् । राजधानी केन्द्रित पूर्वाधार विकास आयोजना लागू, मुख्य बजार पार्किङ व्यवस्थापन गर्न घण्टाघर पार्क निर्माण र घण्टाघर पश्चिम खुल्ला पार्क निर्माण घण्टाघर दक्षिण पार्क निर्माण आगामी वर्षबाट कार्य प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिने नीतिमा समावेश गरिएको छ ।

यस्तै नगरपालिकाका मुख्य सडकहरूको फुटपाथ अतिक्रमण हटाई व्यवस्थित फुटपाथ निर्माण गरिने र हालको सिटि बसपार्क पश्चिममा रहेको घेराबार गरेको खुल्ला ठाउँलाई पार्किङ निर्माण गरी बसपार्क विस्तार गरिने जनाइएको छ ।

पर्यटकीय क्षेत्रहरू घण्टाघर, बुलबुले,काक्रेविहार,देउती बज्यै, गढी, जर्बुटा र रानीघाटलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन पूर्वाधार विकासका कार्यक्रम अघि बढाइने छ । वीरेन्द्रनगरले नगरभित्र सवारी चाप भएका सडकहरूको ट्राफिक म्यापिङ गरी ट्राफिक संकेतहरू राख्ने नीति लिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधार निर्माण गरिनेछ ।

प्रकाशित मितिः   ११ असार २०८१, मंगलवार १०:०२