क्षेत्रीय छनौट प्रतियोगिता

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ माघ । 
सुर्खेत क्षेत्र नं. २ को क्षेत्र क्षेत्रीय खेलकुद छनौट प्रतियोगिता अन्तर्गत आइतवारदेखि वीरेन्द्रनगरमा विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगरको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा भलिबल, कपर्दी, सटफुट, थ्रो, दौड लगायतका खेलहरू भएका छन् । आइतवारको कार्यक्रम जिल्ला खेलकुद विकास समिति सुर्खेतका सदस्य एवम् खेल संयोजक धर्मराज ढुंगानाको सभापतित्व एवम् जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक शान्ता केसीले प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न पनि सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।