परम्परागत खेतीले उत्पादन वर्षेनी घट्दै

जाजरकोट, १७ माघ । (साबिस)
नायकवाडा गाविस–७ स्थित जनकबहादुर शाहीको जमिनमा सात वर्षपहिले उत्पादन हुने अन्न अहिले करिब ३० प्रतिशतले घटेको छ ।  पहिले घर नजिकै सोतर, स्याउला र घाँस प्रशस्त पाइने गरिन्थ्यो । एकै बसाइमा गएर ल्याउन सकिने यी वस्तु अहिले वनजङ्गल गएर ल्याउन दिनभरि लाग्छ । 
वन मासिँदै जाँदा यस्तो समस्या आएको शाहीको भनाइ छ । पहिले जस्तो खेतबारीमा मल प्रयोग गर्न र पशुचौपाया पाल्न नसक्ने भएपछि उत्पादन गिरावट आएको उनी बताउँछन् । खेतबारीमा रासायनिक मल प्रयोग गर्दा जमिन डल्लाडल्ला परी निकै सास्ती व्यहोर्नुपरेको किसानले बताएका छन् । शाही जस्तै सक्ला–१ का दूधबहादुर खत्रीका अनुभवमा पहिले मौसम अनुसारको पानी पथ्र्याे, अहिले पानी पर्दैन । खोलामा १० वर्षअघि पानीको मात्रा जति थियो अहिले ह्वात्तै घटेको छ । 
जमिनमा चिस्यान पर्दै गएको छ । आफूले लगाएको अन्नबालीमा नयाँ नयाँ रोग देखापर्दै गएको खत्रीको भनाइ छ । परम्परागत तरिकाले गरिने खेतीका कारण वर्षेनी आफ्नो जमिनमा लगाएको अन्नबालीले दुःख मात्र दिएको उनी बताउँछन् । दसौं वर्षदेखि किसानले एकै खालको बीऊ प्रयोग गरिरहेका छन् । नयाँ बीऊ खोज गर्ने बानीको विकास भएको छैन । खेती बाली बिग्रिएमा कृषि कार्यालयमा गएर सल्लाह–सुझाव लिनाको ठाउँमा धामीको शरणमा गएर अन्न बाली सपारिदिन किसानले आग्रह गर्ने गरेको खगेनकोट–६ का हरिबहादुर खत्री बताउँछन् । मौसम अनुसारको खेती, कृषि प्राविधिकसँग सल्लाहको कमी र आफ्नो खेतबारीको माटो जाँच नगर्दा बर्सेनि खाद्यान्न उत्पादन घट्दै गएको सरोकार भएकाहरू बताउँछन् ।
खेतबारीमा मेहेनत गरी अन्न बाली फलाउनुभन्दा आफ्नो जमिन बाँझै राखी परमुखी भएका कारण थप समस्या आएको पाइन्छ । पढेलेखेका मानिसले कुटो, कोदालो गरेमा बेइज्जत हुन्छ भन्ने गलत धारणाका कारण वर्षेनी यहाँका जमिन बाँझै रहँदै आएको अगुवा किसान बताउन थालेका छन् । आफ्नो जमिन अर्कालाई लगाउन दिएर अधियाँ खाने चलन यहाँका ४० प्रतिशत किसानमा बढेको छ । बीस वर्षअघि गाउँमा खेती गरिरहेको जमिन अहिले खेती नगर्दा आधा घटेको बुढापाका बताउँछन् । गाउँमा बस्न छाडेर सहरबजार, सदरमुकाममा बसाइँ सर्ने र परमुखी बन्ने सङ्ख्या अत्यधिक बढेको छ ।
किसानलाई सरोकार भएका निकायले बेला बेलामा बीऊ बिजनको विषयमा अन्तक्र्रिया तथा सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम गर्दा आधुनिक खेती प्रणाली लाग्न थप बल पुग्ने देखिन्छ ।
प्रकाशित मितिः   १८ माघ २०७२, सोमबार ११:३९