सन्दर्भ ः वीरेन्द्रनगरको फोहोर व्यवस्थापन नगरपालिका कि ‘नगर’ पालिका ?

दिनेश गौतम
गत बुधवार सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेतको स्थानीय बजार तथा नगरका विभिन्न क्षेत्रहरूमा हरेक शनिवार भइरहेको सरसफाइ कार्यक्रमको समीक्षाका साथसाथै विभिन्न विषयमा छलफल कार्यक्रम राखेको थियो । कार्यक्रममा सुर्खेतस्थित विभिन्न संघ–संस्था र स्कुल कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विगत सत्र हप्तादेखि चल्दै आएको नगर सरसफाइ कार्यक्रमको गति र भविष्य के हुने ? वा कस्तो बनाउने ? भन्ने विषयमा छलफल केन्द्रित थियो । पंक्तिकारलाई पनि त्यस कार्यक्रममा सहभागिताको अवसर मिलेको थियो । कार्यक्रममा व्यक्त भएका विचार, दृष्टिकोण, अनुभव र योजनालाई टिप्पणी गर्ने अभिलाषा यहीँ पूरा हुँदैछ । 
सरसफाइ अरुले गर्ने कि आफैंले ?
सरसफाइ हामीभित्रको आचरणको विषय हो । हाम्रै व्यवहारबाट सृजित घटनाको दोषी हुने हामी आफैं नै हो र यसका हरेक नकारात्मक असरको प्रभावबाट ग्रसित हुने पनि हामी आफैं नै हो । तर त्यस कार्यक्रममा व्यक्त भएका विभिन्न व्यक्तिहरूका विचारका साथसाथै तपाईंको, मेरो र हामी सबैको अनुभवले पनि के भन्छ भने हामी कर्म गर्न तयार छौं तर त्यसको परिणामको प्रवाह गर्न जान्दैनौं । हाम्रै कारण उत्पन्न भएको फोहोरले असर गर्ने पनि हामीलाई नै हो, तर पनि हामीमा त्यो फोहोर मैले गर्नु हुँदैन वा गरे पनि सरसफाइ पनि मैले नै गर्नैपर्छ भन्ने भाव अन्यन्त न्यून छ । हामीमा यस सम्बन्धी चेतना नभएको होइन, सबैलाई थाहा छ फोहोर व्यवस्थापन गरिनुपर्दछ अन्यथा यसले अत्यन्त स्वास्थ्य तथा वातावरणको क्षेत्रमा नकारात्मक असर गर्दछ भन्ने तर त्यो चेतनाले व्यवहारमा कुनै पनि किसिमको परिवर्तन ल्याउन सकेको छैन । सहरको मुख्य बजार क्षेत्रमा अधिकांश व्यापारिक प्रयोजनका निमित्त बनेका घरहरू छन् जसबाट व्यावसायिक क्रियाकलाप सञ्चालन भइरहेका छन् । त्यो सँगै व्यवसायमा संलग्न व्यक्तिले सरसफाइमा मेरो पनि उत्तरदायित्व छ है भनेर सम्झिन सक्नुपर्दछ । 
नगरपालिका कि ‘नगर’ पालिका ?
नगर क्षेत्रको फोहोर उठाउने जिम्मा नगरपालिकाको हो । नगरपालिकाले जति मात्रामा स्थानीय स्रोतबाट आम्दानी आर्जन गर्दछ, त्यसको केही प्रतिशत त त्यस स्रोतको हितको निमित्त खर्च हुनुपर्ने नै हो । नगरपालिकाका प्रनिनिधिका अनुसार अहिले नगरपालिका स्थानीय वीरेन्द्रनगर बजार क्षेत्रको फोहोर उठाउने जिम्मा स्थानीय ग्रिनसिटी सेनिटेशन सेवा नेपाललाई दिएको रहेछ, त्यसले नै फोहोर उठाउँछ । अनि अधिकार सम्पन्न संस्थाले काम गर्न नसकेर त्यो काम अरुमार्फत् गराउन खोजिरहेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष पद्मप्रसाद गौलीले त कार्यक्रममै भने, ‘यो सरासर गलत हो । यसरी बाहिरका मान्छेहरू जम्मा भएर काम गरेर कसरी सफा हुन्छ नगरक्षेत्र ता कि यसका जिम्मा लिएको निकाय आफ्नो जिम्मेवारी अरुलाई दिएर बस्छ भने ?’
नगरपालिकाका तर्फबाट कार्यक्रममा सहभागी प्रतिनिधि भन्दै थिए, ‘हामीले अलि अप्ठ्यारा तथा जटिल किसिमका नालाहरू निर्माण तथा मर्मत गर्ने हो । सरसफाइ तथा नालाको फोहोर उठाउने जिम्मा त सबै ग्रिनसिटीलाई नै दिइएको छ ।’ फेरि यता ग्रिनसिटीका प्रतिनिधि शशी केसीले नगरपालिकाले आफूले गर्नुपर्ने काम नगर्ने, मात्रै ग्रिनसिटीले केही गरेन मात्रै भन्ने गरेको बताए । एक किसिमको आरोप प्रत्यारोपको श्रृंखला चल्यो । अन्तिममा लगभग धेरैको एउटै निश्कर्ष थियो, के नगरपालिका ‘नगर’ पालिका बन्दैछ ? सार्वजनिक निजी साझेदारी (पीपीपी)लाई उदाहरण दिँदै उम्किन सकिएला तर त्यसअनुरूप गरेको कार्य प्रभावकारी भएन भन्ने गुनासो आँउदा आउँदै किन अझैं नगरपालिका अरुलाई जिम्मेवारी दिएको भन्दै आफू पन्छिन खोज्छ ?
शनिवारको दिन, सहभागी हौं एक छिन  नगरपालिकाले त गर्न सकेन । उसका जिम्मेवारी दिएको संस्थाले पनि प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो आइ नै रहेको छ । यसको उपयुक्त समाधान के हुन सक्दछ त ? यसको लागि सर्वप्रथम सकेसम्म हामी फोहोर नै नगरौं । फोहोरलाई तोकिएको स्थानमा नै लगेर फ्याँक्ने गरौं । नगरका विभिन्न स्थानमा फोहोर फ्याक्नको लागि प्रबन्ध गरिएको छ, त्यसमा पनि फोहोर व्यवस्थापनको अभ्यास चालौं । विडम्बना त के रह्यो भने फोहोर फाल्न भनेर बनाइएको स्थलहरूको भित्र भन्दा त्यसको वरिपरी बाहिर धेरै फोहोर फालिएको हुन्छ । बाहिर फोहोर दीर्घकालीन रूपमा असर पु¥याउने त हामीलाई नै हो क्यारे ? फोहोर भइहालेको स्थानमा पनि हरेक शनिवार बिहान सुर्खेत उद्योग वाणिज्य संघको सक्रियतामा नगर सरसफाइ कार्यक्रम सञ्चालन हुन्छ । धेरै जसोको लागि शनिवारको दिन बिदाको दिन हुन्छ । तसर्थ केही समयको लागि भए पनि त्यस सरसफाइ कार्यक्रममा सहभागी बनौं न । यो पनि हाम्रो आफ््नै लागि त हो नि ।
बाग्मती सफाइ हुनसक्छ, सुर्खेत बजार सक्दैन ?
नेपाल सरकारका निवर्तमान मुख्य सचिव लिलामणि पौड्यालको विशेष सक्रियता र अन्य अभियन्ताहरूको अभियानमा निकै दुर्गन्धित रहेको बाग्मती नदी धेरै हदसम्म सफाइ भएको छ । बाग्मतीको पानीलाई पौडी खेल्न सक्ने सम्मको सफा बनाउन उनीहरू सफल भएका छन् । सुर्खेतमा पनि उद्योग वाणिज्य संघको सक्रियतामा सुरु भएको नगर सरसफाइ अभियानको सह्राना गर्नैपर्छ । तर यो धेरै लामो समयसम्म रहिरहन जटिल छ । यो निश्चित समयसम्म अभियानको रूपमा रहने र त्यसपछि सम्बन्धित निकायले नै यसको जिम्मेवारी लिनुपर्ने जरुरी छ । नगरपालिकाका प्रतिनिधि यही प्रक्रिया लम्बाउने किसिमको आशय प्रकट गर्दछन् । काम गर्नै नपरोस् वा आवश्यकता भन्दा कम काम गर्न परोस् भन्ने त अधिकांश सरकारी कार्यालयको मनसाय नै हुन्छ । देखे भोगेकै कुरा हो । 
जसरी पनि नगरपालिका 
फोहोर व्यवस्थापनको अख्तियारी पाएको नगरपालिका नै फोहोर व्यवस्थापनको अन्तिम जिम्मेवारी लिन तयार हुनुपर्दछ । जुनसुकै हालतमा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिनेका साथै यस अभियानका लागेको संस्था, व्यक्ति तथा निकायहरूलाई प्रवद्र्धन गर्न सक्नुपर्दछ । आफूले गर्न नसकेको काम अरुलाई दिने र दिएको निकायबाट पनि प्रभावकारी रूपमा काम नभइरहेको गुनासो आइरहँदा त्यसतर्फ मौन रहनु नगरपालिका र सरसफाइको जिम्मेवारी लिएका व्यक्तिहरूको ठूलो दोष । उक्त कार्यक्रममा प्राध्यापक संघ, मप विश्वविद्यालयका सभापति अमरबहादुर रोकायले भने जस्तै फोहोरलाई मोहोरमा रूपान्तरण गर्न प्रयास तत्कालै सुरु हुनु पर्दछ । नगरपालिकाले योजना बनाएरै यसतर्फ आफ्ना गतिशील पाइलाहरू चाल्न सक्नुपर्दछ । जिम्मेवारी पाएको निकाय नै आफ्नो कामप्रति जवाफदेही र जिम्मेवार नभए अरु को हुने ?
प्रकाशित मितिः   १८ माघ २०७२, सोमबार १०:२७