अब ‘स्मार्ट सिटी’ बन्दै वीरेन्द्रनगर

सीसी क्यामेराबाट निगरानी, सोलारले झिलिमिली, चारलेन सडक बन्दै

सुर्खेत, १५ चैत ।
प्रादेशिक राजधानीको चर्चासँगै सुर्खेतको वीरेन्द्रनगरले (स्मार्ट सिटी) को लक्ष्य पछ्याउँदै गएको छ । प्रमुख राजनीतिक दलहरूले प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरलाई बनाउने प्रतिबद्धता जनाएसँग यहाँको भौतिक तथा प्राविधिक विकासले गति लिन थालेको हो । स्मार्ट सिटीको रूपमा विकास गर्न वीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग समेत जोड्न थालिएको छ ।
स्मार्ट सिटीका लागि सहरका क्रियाकलाप तथा गतिविधिहरूलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ । जस अन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो । यस्तै नगर क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ । सवारी आवागमनलाई सहज बनाउन वीरेन्द्रनगरमा चारलेन सडक निर्माणको कार्यले पनि तीव्रता पाएको छ । यस्तै स्मार्ट सिटीका लागि आवश्यक पर्ने अन्य आधारभूत पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । प्रदेश नम्बर ६ को राजधानी हुने सम्भावना बढेसँगै वीरेन्द्रनगरलाई आधुनिक सहरको रूपमा विस्तार गर्न लागिएको हो ।
वीरेन्द्रनगरमा यसअघि नै सोलार बत्ती जडान गरिएको छ । लोडसेडिङ्गको समयमा पनि वीरेन्द्रनगर बजार झिलिमिली हुने गरेको छ । यस्तै आपराधिक क्रियाकलापमुक्त बनाउँदै सुरक्षित सहरको रूपमा स्थापित गर्न भन्दै वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानीमा राखिएको छ । नगरभरी नै सीसी क्यामेरा जडान गरिएको छ । मध्यपश्चिमका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्माले मंगलवार एक समारोहकाबीच सीसी क्यामेराको उद्घाटन गरेका हुन् । सीसी क्यामेरा जडान भएपछि वीरेन्द्रनगरमा हुने आपराधिक क्रियाकलापमा कमी आउने अपेक्षा गरिएको छ । यस्तै नगरमा सवारी चाप बढ्दै गएको र आवत–जावतमा समस्या भएपछि चारलेन सडक निर्माणको काम चलिरहेको छ । अब नगरको सरसफाइ अभियानलाई पनि व्यवस्थित बनाउने अठोट नगरपालिकाले गरेको छ ।


वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यले भने, ‘वीरेन्द्रनगर भोलिको राजधानी हो, अब अहिलेबाटै यसको विकासका लागि योजना बनाउनुपर्छ । राजधानी हुने स्थानलाई स्मार्ट सिटीको रूपमा विकास गर्दैछौं, यसले भविष्यमा सहज हुनेछ ।’ उनले अब वीरेन्द्रनगर सुरक्षित, उज्यालो, हरियाली, स्वच्छ र सडक खुल्ला भएको सहर हुने बताए । यसका लागि आफूहरूले आवश्यक काम सम्पन्न गरेको र केही योजनाहरू कार्यान्वयनको चरणमा रहेको जनाए । ‘हामीले सीसी क्यामेरा र सोलार जडान गरेका छौं, अब वीरेन्द्रनगरमा अपराध न्यूनीकरण हुनेछ’ उनले थपे, ‘सडक फराकिलो बनाउने काम भइरहेको छ, प्रविधियुक्त नगर बनाउँदै वीरेन्द्रनगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्दैछौं ।’ अहिले विकास भएको पूर्वाधारले पनि वीरेन्द्रनगरलाई प्रदेशको राजधानी बनाउने आधार तय गरेको उनको भनाइ छ ।
सुर्खेत उद्योग वाणिज्य संघको पहलमा नगरमा सीसी क्यामेरा जडान गरिएको हो । संघका अध्यक्ष प्रकाश अधिकारीले स्मार्ट सिटीको लक्ष्य भेटाउनकै लागि आफूहरूले पनि साथ दिएको बताए । उनले भने, ‘नगर सुरक्षित भएमा लगानी आकर्षण हुन्छ, व्यवसाय गर्न पनि सहज हुन्छ । अब वीरेन्द्रनगरमा व्यवसाय गर्न कसैले त्रसित हुनुपर्ने अवस्था छैन, नागरिकले पनि सुरक्षित महसुस गर्नेछन् ।’ उनले नगरमा जडान भएका सोलार र सीसी क्यामेराको निरन्तरता र अनुगमनमा ध्यान दिनुपर्ने बताए । नगरमा ४१ वटा क्यामेरा जडान गर्ने लक्ष्य भए पनि हालसम्म ३१ स्थानमा सीसी क्यामेरा जडान भइसकेका छन् । नगरका हरेक कुनामा क्यामेरा जडान गर्ने तयारी छ । बाँकी क्यामेरा चारलेन सडक निर्माणको काम सम्पन्न भएपछि जडान हुने अधिकारीले जानकारी दिए । मध्यपश्चिमका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्माले सीसी क्यामेरा र सोलार बत्ती जडानसँगै वीरेन्द्रनगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न अन्य पूर्वाधार विकासको काम थालिने बताए । उनले यसका लागि आफूले सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले वीरेन्द्रनगर अब सुरक्षित सहर बनेको बताए । उनले भने, ‘चोरी र डकैती घट्ने छन्, सवारी दुर्घटना र अपराधहरू क्यामेराले कैद गर्नेछ । यसले अपराधीलाई कारबाही गर्न सहज हुनेछ, अब नागरिकले वीरेन्द्रनगरमा ढुक्कसँग बस्न पाउने भए ।’ सोलार बत्तीका कारण रातको समयमा पनि वीरेन्द्रनगर बजार झिलिमिली हुने भएकाले अपराधमा कमी आउने उनको भनाइ छ । सीसी क्यामेराबाट आफूहरूले २४ घण्टा नै नगर क्षेत्रको निगरानी गर्ने प्रहरी उपरीक्षक मोहन आचार्यले बताए । यसका लागि जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल कक्षमा २ जना तालिम प्राप्त प्रहरी खटाइएको उनले जनाए । प्रादेशिक राजधानीको लागि आधारहरू तयार गर्नका लागि आफूहरूले पनि सक्दो सहयोग गर्ने जिल्लाका राजनीतिक दलहरूले प्रातिबद्धता जनाएका छन् । वीरेन्द्रनगरलाई स्मार्ट सिटीको रूपमा विस्तार गर्ने अभियान थालिएपछि यहाँका नागरिक समेत हर्षित बनेका छन् ।

प्रकाशित मितिः   १६ चैत्र २०७३, बुधबार १४:३५