क्षेत्रीय अस्पतालद्वारा फार्मेसी सञ्चालन

सुर्खेत, १४ चैत ।
वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफ्नै फार्मेसी सुरु गरेको छ । अस्पताल स्थापना भएको लामो समयपछि अस्पतालले सोमवारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।
क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्माले फार्मेसी सेवाको उद्घाटन गरेका हुन् । यो सेवाको उद्घाटन गर्दै उनले अब सबै खालका बिरामीले औषधि खरिदका लागि बाहिर जानुपर्ने बाध्यता टर्ने विश्वास व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि थप सहज रूपमा सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गरे । बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने र औषधि नपाइने समस्यालाई तत्काल समाधान गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रमा क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारीले मध्यपश्चिमका विभिन्न अस्पतालमा फार्मेसी सेवा सञ्चालन आइसकेको जानकारी दिइन् । उनले २४ घण्टा नै फार्मेसी सेवा सञ्चालन गर्न चुनौती रहेको भन्दै क्षेत्रीय अस्पतालले अब आँट गर्नुपर्ने सुझाव दिइन् । यस्तै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डम्बर खड्काले फार्मेसी सेवा सञ्चालन भएसँगै आफूहरूमा थप जिम्मेवारी थपिएको बताए । उनले अब अस्पतालमा उपचारका लागि आउने बिरामीले औषधि खरिदका लागि बाहिर जानुपर्ने बाध्यता टरेको बताए ।
सुरुवातमा करिब २५ लाख रूपैयाँको लागतमा यो फार्मेसी सेवा सुरु गरिएको हो । तत्कालका लागि बिरामीलाई सहुलियत र सस्तोमा औषधि बिक्री गरिने अस्पतालले जनाएको छ । अब बिरामीहरू औषधि खरिदमा महँगो पर्ने र ठगिने समस्याबाट मुक्त हुने अस्पतालको दाबी छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७३, मंगलवार १५:४२