मेयरमा दहालको उम्मेदवारी

सुर्खेत, १४ चैत ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको चर्चा चलिरहेका बेला वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदका लागि एक जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शिक्षण पेसाबाट अवकास लिएर राजनीतिमा आएका गेहेन्द्रप्रसाद दहालले स्वतन्त्र रूपमा वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन् । रफत सञ्चार क्लबले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा दहालले नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र रूपमा वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै दहालले कुनै व्यक्ति र पार्टीलाई नभइ
सिंगो समाजलाई जिताउनको लागि आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको बताए । उनले भने, ‘मैले नगरबासीहरूलाई मैनबत्तीको उज्यालो छर्नको लागि मेयर पदमा उम्मेदवारीको घोषणा गरेको हो ।’ उनले पद र पैसाको लोभ नभइ नगर निर्माणका लागि आफू स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेको बताए । उनले अन्य पार्टीका नेताहरू चाकडी गर्न नचाहेर आफू स्वतन्त्र रूपमा उम्मेदवारमा उठ्ने निर्णय लिएको बताए । उनले अन्य पार्टी भन्दा आफूले पृथक काम गरेर देखाउने समेत दाबी गरे । दहालले आफू मेयर भएपछि पाँच वर्षसम्म सरकारले दिने कुनै पनि सेवा सुविधा नलिएरै जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।